छठ, लौका अनि व्यापार

आज बजारमा लौका महँङ्गो भएको छ । रु ५० देखि ७० सम्ममा पाईने लौकाहरुको मूल्य २०० देखि २५० तोकिएको पाईयो ।

आजदेखि विधिवत रुपमा छठको शुरुआत भएको छ । आज पहिलो दिन ब्रतालुले नुहाएर शुद्ध सकाहारी भोजन मात्र सेवन गरेर ब्रतको शुरुआत गरेकाले आजको दिनलाई ‘नहाई–खाई’ पनि भन्ने गरिन्छ । हिंजोदेखि नै अरबा–अरवाईन खाएका ब्रतालुहरुको आजको खानामा लौका अर्थात सजमैन (कदु) अनिवार्य हुनुपर्छ भन्ने मान्यता रहेको छ । यहीँ मान्यताका कारण आज बजारमा लौका महँङ्गो भएको छ । रु ५० देखि ७० सम्ममा पाईने लौकाहरुको मूल्य २०० देखि २५० तोकिएको पाईयो ।

हुनत चाडपर्वमा महँङ्गो हुने प्रचलन नयाँ होईन । तरकारी महँङ्गो हँुदा कृषकलाई सहयोग नै हुन्छ भन्ने सोचाई धेरैलाई लाग्न सक्छ । तर वास्तविकता त्यसो रहेनछ । बजारमा २०० कटी सक्दा पनि कृषकले लौका प्रति गोटा १५ देखि ३० रुपैयाँ मात्र पाएको रहेछन् भन्दा अचम्म लाग्ला । तर यथार्थ यहि रहेछ । कृषकले घरमा १५ देखि ३० मा बेचेको लौका गाउँकै व्यपारीहरु (स्थानीय भाषामा पैकारहरु) ले शहरका थोक तरकारी व्यापारीलाई ५० देखि १०० सम्ममा बेचेको र सो पुनः खुद्रा तरकारी व्यपारीले १२५ सम्ममा खरिद गरे पछि आम उपभोक्ताले २०० भन्दाबढी मूल्य तिर्नुपर्ने भएको छ ।

यो ३–४ तहको व्यापारले उपभोक्ता र कृषक दुवै मारमा परेको स्पष्ट छ । कृषकबाट उपभोक्ताले सोझै खरिद गर्ने उपाय थियो, ‘स्थानीय हाट’ । तर पछिल्लो चरणमा हाट (हटिया)मा पनि स्थानीय व्यापारी (पैकार)हरुकै बोलबाला हुन थालेका छन् । हरेक कुरामा व्यापारीकरण, अनियन्त्रित मुनाफा र अव्यवस्थित बजारीकरणले उपभोक्तामा ठगी बढ्दै गएको हामी सबैले पक्कै महसुस गरेका छौ । तर यसलाई व्यवस्थापन गर्न राज्यको निकायहरु मौन रहेका छन् । व्यापारीहरु स्वयम् पनि पेसालाई मर्यादित बनाउनु भन्दा पनि संगठित रुपमा लुटतन्त्रमा लागेको देखिन्छ । सम्बन्धित पक्षहरु, उपभोक्ता र कृषकहरु यसको विरुद्धमा सचेत हुनु आवश्यक छ । कृषकले सोझै आफ्नो उत्पादन बजारमा बेच्न पाउने वातावरण बनाउन आवश्यक छ । यसले विभिन्न तहका व्यापारका नाममा भएको लुटलाई नियन्त्रण गर्दै कृषिको प्रवद्र्धन हुनेमा दुई मत न होला ।

सोमबार, २२ कार्तिक, २०७८, बिहानको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर