मेरो अनुभूतिः स्व.ऋषिमोहन रेग्मीसँग

 दिव्यराज पोखरेल

पृष्ठभूमिः

जन्म, जीवन र जगत अपरिमेय छ । भौतिक संसारको नाशवान परिदृष्यमा सृष्टिकर्ता र तिनको भूमिकाले संसार परिचालित रहँदा सांसारीक अवयवहरु खगोलीय रुपमा विचरण रहन्छन् । मानव यीनै सांसारीक अवयवहरुको अत्युत्तम दृष्टान्त हो । यस सृष्टिमा आएका ज्यादै थोरै मात्र जिवांशले धरामा आफ्नो भूमिका स्थापना गर्ने र भविष्यको मार्गदर्शन गर्ने क्षमता राख्दछन त्यस मध्येमा एक होनहार व्यक्तित्व हुन् स्व. ऋषिमोहन रेग्मी । माता जानुकादेवी र पिता रामभक्त रेग्मीका पाँचौं छोराका रुपमा खोटाङ जिल्लाको मार्सेमा जन्म भई कर्मक्षेत्र मोरङ जिल्लाको विराटनगर बनाउनु भएका स्व.ऋषिमोहन रेग्मीसँगको सामिप्यतालाई मैले वि.स. २०५५ सालदेखि आत्मसात गर्दै २०७७ सालमा उहाँको मार्गदर्शन, माया र अपनत्वलाई गुमाउनु प¥यो । यी जीवनका दुई दशक मेरो कर्म पिताका रुपमा रहेका स्व. रेग्मीले जीवन जीउने शैली, व्यवहारिकता, उद्यमशीलता एवं भावी गन्तव्यका क्षेत्रमा दिशावोधका लागि मसँग बिताएका प्रत्येक पल बहुमूल्य र अतुलनीय रहे ।

२०५५ अषाढपछि उहासँगको सानिध्यतामा आफ्ना कार्य कुशलतामा निखार ल्याउन, कुनैपनि विषयवस्तुलाई विश्लेषण गर्न, सामाजिक परिवेशलाई वस्तुनिष्ठ बनाउन प्रत्येक विषयका सकारात्मक एवम् नकारात्मक पक्षको विश्लेषण कसरी गर्ने ? देखिएका नकारात्मक पक्षलाई सकारात्मक क्षेत्रमा परिवर्तन कसरी गर्न सकिन्छ भन्ने दृष्टान्त सहितको मार्गदर्शन उहाँबाट पाएँ । जीवनका विभिन्न पक्षलाई हेर्ने मेरो कर्मचारीगत मनोशैलीबाट एकोहोरिएको सोचाइलाई बहुआयामिक पक्षबाट अगाडि बढाउन, पारिवारिक एवम् सामाजिक दायित्वको विष्लेषणलाई बृहत्तर सोंच सहितको निर्णयमा परिणत गर्न, प्रत्येक पल र समयको महत्वको बारेमा आत्मवोध गर्न स्व. रेग्मीबाट प्राप्त मार्गदर्शन मेरा जीवनका अन्तिम समयसम्मको लागि शिक्षाका रुपमा रहने विषय पर्दछन् ।

एक अभिभावकले निर्वाह गर्नु पर्ने दायित्व, आफूमा आश्रित परिवारका सदस्यहरुको भविष्यको आँकलनलाई समेत दृष्टिवोध गर्न सक्ने अदभूत क्षमता राख्ने मेरा परम् आदरणीय जायापिताको भौतिक देह र प्रत्यक्ष ज्ञान हामी माझ नरहे पनि उहाँको आर्शिवाद, माया, ममता अझै रहेको अनूभुति मेरा प्रत्येक पल र भोगाइमा गरिरहेको हुन्छु ।

यस स्मृति तयार गर्दाका क्रममा मेरा उद्यमशील अभिभावक गुमाउनु परेको पीडाभित्र कयौं रात रोएर, कति अनुच्छेदलाई अश्रासुबाट घोएर अनि लेख्दै गर्दा भावना र पिडालाई दवाएर कलम अगाडि बढेको छ । माया, करुणा, दयाबाट परिवारका सदस्यहरुलाई समेटेर दीन दुःखीहरुको सेवामा आफूलाई समाहित गर्दै सामान्य किसान परिवारबाट हुर्केर उद्यमशील एवम् नवीन सोचलाई आत्मासाथ गर्दै औद्योगिक नगरिमा व्यवसायिक जगतमा एक स्तरको आधिपत्यता कायम गर्न सफल मेरा अभिभावक स्व. ऋषिमोहन रेग्मीलाई परिवारभित्र मात्र राखि हेरिएमा उहाँको उद्यमशील एवं सामाजिक व्यक्तित्वप्रति न्याय गर्न नसकेको अनुभूत हुन्छ ।

दया, कर्म र नवीन सोच एवं संघर्षशील व्यवहारका धनी स्व. ऋषिमोहन विचारधारामा वामपन्थी आन्दोलनबाट अभिप्रेरित भई अघि बढ्नु भएको थियो । परिवार, समाज र मुलुकका लागि सँधै उन्नयन समन्यायिक एवं विकसित सोच राख्ने राष्ट्रप्रेमि रेग्मीसँगको सानिध्यताबाट उहाँको व्यक्तित्वलाई मैले ३ (तीन) वटा आयामिक दृष्टिले हेर्ने द्दृष्टता गरेको छु ।

१.अभिभावकको रुपमा

स्व. ऋषिमोहन रेग्मी मेरा लागि कर्मपिता बन्दै गरेको क्षणमा परिवारका नयाँ सदस्यका रुपमा उहाँले मलाई अवलम्वन गर्दै गर्दा अन्य सदस्यहरुको तुलनामा विशेष महत्व दिई अभिभावकत्व प्रदान गर्नुभयो । चार छोरी र एक छोरा सहित सात सदस्यीय पारिवारिक संरचना भित्रको चौघेरामा ऋषिमोहन रेग्मी बन्द हुन नसक्ने वृहत सोचको खानीको रुपमा मैले पाएको थिएँ ।

आफ्नो परिवारभित्र मात्र नभई दाजुभाइ, आफन्त, नातागोता कुलकुटुम्व, साथीभाइ, दीनदुःखीलाई समेत अभिभावकत्व प्रदान गर्दा उहाँले निश्वार्थ भावले सहयोग, सल्लाह तथा मार्गदर्शन समेत दिने कार्य गर्नुहुन्थ्यो । २०५५ सालमा परिवारको सदस्यको रुपमा म प्रवेश गर्दा उहाँले हेरिरहनु भएको, महशुस गर्नु भएको, व्यहोरिरहनु भएको सांसारिक क्षितिजलाई परिचय गराउँदा परिपक्क, विष्लेषणयुक्त दीर्घकालीन असर र प्रभावलाई समेत सरल रुपमा आत्मसात गर्न अभिप्रेरित गराउनु हुन्थ्यो । विषयवस्तुलाई सहज रुपमा बुझाउँदै संसारसँग परिचय गराउँदा विवाह पछिको पहिलो घटनाबाट यसरी घनिष्टना सुरु भएको थियो । ‘ससुराली घरमा आएको नव विवाहित ज्वाईलाई आफ्ना साथीभाइसँग घनिष्ट गराउन हरेक स्थान र व्यक्ति जो उहाँका संन्निकट थिए, सबैसँग परिचय गराउँदै लैजाने क्रममा मेरो नातामा दोहोरो नाताका दाइ र सानाबुबा ससुरा स्व.लोमसप्रसाद भण्डारीसँग व्यवसायिक कारोबारेमा जानकारी दिनुभयो । जुन जानकारी मेरो कर्मचारी मानसिकता जसले त्यो बेलामा रु. २८००। (मासिक तलव भत्ता ३००।– गरी तिनहजार एकसय रुपैयाँले गुजारा गरिरहेको व्यक्तिको सोचभन्दा अलि परको थियो ।’

नेपाल सरकारको अधिकृतका रुपमा कार्यरत म उहाँको अभिभावकत्वको शैलीबाट यसरी प्रभावित भएकी उहाँले ससुराली तर्फ अधिकांश सालीहरुको घर व्यवहारको व्यवस्थापन गर्न दिनु भएको योगदान र उहाँका साला र मेरा मामा ससुरा नगेन्द्र प्र. पोखरेललाई छोरा सरह आफैसँग राखि उद्यमी बनाउनु भएको थियो भने अर्का साला स्व. चुडामणि पोखरेल उहाँको सालोभन्दा पनि साथीका रुपमा हुनुहुन्थ्यो । स्व. चुडामणि र मेरा ससुरा बुबा बीचको वार्तालापमा एक पटक भारतको दिल्लीमा उपचारका क्रममा गएका बखत उहाँले ए ! चुडा, हामी भोलि फर्कदै छौं, तँलाई यहाँबाट केही लैजान इच्छा छ भन्दा छैन भन्ने जवाफ पाएपछि पनि हैन, बुहारी छोरीलाई केहि त लगिदे’, भन्दै तेस्रो पुस्तामा ममता वितरण गर्ने आत्मिय क्षमता र सहृदयी भावना मेरो ससुराबुबामा थियो । परिवारका सदस्यको सँधैभरी भलो र उन्नति होस् भन्ने उहाँले दाजुभाइ, भतिजाभतिजी भित्रको ठूलो सञ्जाल भित्र परिवारमा कमजोर सदस्यलाई निकटबाट नियाल्नुहुन्थ्यो । कृषिमा आवद्ध रहेका उहाँका माइला दाजु स्व.भुपराज रेग्मी र उहाँको परिवारका सदस्यहरुलाई सँधैभरी प्रोत्साहित गरिरहनु भएको हुन्थ्यो । यसैगरी अभिभावकत्व प्रदान गर्दै गर्दा भान्जाभान्जीका उन्नतिप्रति सँधै चासो राखि उनीहरुको प्रगतिबाट गौरवान्वित हुँदै थप उन्नतिका लागि प्रेरक व्यक्तित्वको रुपमा रहनुहुन्थ्यो ।

स्व. रेग्मीले परिवारका सदस्यलाई अभिभावकत्व प्रदान गर्दा दबाव भन्दा प्रोत्साहन र हौसलाबाट प्रेरित गरी सहभागितामूलक विधि लिनुहुन्थ्यो । मैले २०५६ सालमा उहासँग क्याराभान सिनेमा जय नेपाल हलमा स–परिवार गएर हेरेका थियांै । उहाँले हिमाली क्षेत्रको बासिन्दाको सँस्कृति उपर आफूले जानेको विषय र फिल्ममा उतारेको पटकथालाई सरलरुपमा सबै परिवारका सदस्यहरुलाई बुझाउनु भएको थियो ।

म आफू मेरी श्रीमती र उहाँको उपचारको शिलसिलामा उहासँग मेरो धेरै पटक भारतको विभिन्न शहरहरुमा सह–यात्रामा हिडेको थिएा । बिरामीलाई मानसिक दबाब नहोस् र उनीहरुको उपचारसँगसँगै सो क्षेत्रको भौगोलिक, साँस्कृतिक, आध्यात्मिक ज्ञानसमेत लिउन् भन्ने सोच उहाँमा रहन्थ्यो । २०६३ सालमा मेरी श्रीमतीको उपचारको सिलसिलामा भारतको हरियाणामा उपचारको लागि रहँदा चिकित्सकले २÷३ दिन परीक्षण रिपोर्टका लागि पर्खन दिएको समयमा उहाँले भारतीय साँस्कृतिक कार्यक्रममा सहभागी गराउँदै आफू नगरा बजाउँदै हामीलाई समेत बिरामीबाट सिर्जित पीडाबाट मनोरञ्जन केन्द्रित बनाउनु भएको घटना मेरो मानस्पटलमा अझै ताजै छ ।

२. उद्यमीको रुपमा

सामान्य कृषक परिवारबाट शुरु भएको स्व. रेग्मीले जीविकोपार्जनको माध्यम सरकारी जागिरबाट विस्तारै व्यवसाय तिर रुपान्तरण गर्दै जानु भएको थियो । नेपाल सरकारको सहायक स्तरको जागिरमा आवद्ध भएपनि माक्र्सवादी दर्शनबाट अभिप्रेरित स्व.रेग्मीले कार्यालयभित्र सदाचारिता कायम गर्न कार्यालय परिवारलाई पनि दबाव दिने सक्ने अदभूद् क्षमता उहाँमा थियो । आफूभन्दा माथिकाप्रति स–सम्मान रुपमा आफ्ना भनाइ र तर्क राखि कार्यालयको छविप्रति सँधै चनाखो हुँदाहुँदै उहाँले २०३९ सालमा विराटनगरबाट सर्लाही सरुवा भएपछि विराटनगरमा उहाँले शुरुगर्नु भएको व्यवसायहरु इँट्टाभट्टा, फर्निचर र स.मिलहरुको व्यवस्थापनमा कठिनाइ हुने भएबाट सरकारी सेवाबाट राजीनामा दिई व्यवसायिक कर्ममा एकचित्त लाग्नुभयो ।

पञ्चायती बन्द शासनकालमा पनि लाइसेन्स प्रणाली) उहाँले मलेसियाबाट काठ आयात गरी नेपाली वनजन्य व्यवसायबाट वन क्षेत्रको न्यून क्षति गर्नुपर्छ भन्ने मान्यता स्थापना गर्नु भएको थियो । विस्तारै नेपालको आर्थिक प्रणालीमा खुलापन आउँदै गरेको अवस्थामा पछि आएर कार्पेट इन्डष्ट्रिजमा लाग्नु भएको थियो । यसैगरी व्यवसायलाई विविधीकरण गर्न २०४८ सालमा पेट्रोलियम पदार्थको कारोवार सञ्चालन गर्नु भएको थियो । २०५६ सालमा कृषि उद्यमको रुपमा कोल्ड स्टोरेज खोली स–साना कृषकहरुलाई सहभागी गराई कृषिमा आवद्ध गराउन प्रोत्साहित गर्नुभयो भने यसैगरी बहुमुखी सोचका व्यवसायिक व्यक्तित्व स्व.रेग्मीले आफूले सञ्चालन गरेको इँट्टाभट्टाको जमिनलाई वनमा रुपान्तरण गरी विराटनगर शहर नजिकै रिसोर्ट बनाउने अवधारणा सहित कार्य अघि बढाउनु भएको थियो । जहाँ अहिले पनि स्थानीयबासीहरु विराटनगरबाट निकट दूरीमा वनभोजको लागि जाने गरेका छन् । यसैगरी उहाँले निर्माण सामग्रीको व्यवसायमा हेभी उपकरणहरुको व्यवसाय र स–साना कृषकहरुलाई सहयोग हुने गरी बीऊ उत्पादन कार्य समेत गर्ने गरी कार्य अघि बढाउनुभयो ।

व्यवसायिक भएका नाताले प्रत्येक घण्टा मेरो लागि महत्वपूर्ण हुन् किनकी म उद्यमी हुँ र मैले एक घण्टा पनि निश्काम बिताएँ भने मैले कारोबारमा केही न केही घाटा व्यहोर्नु पर्छ भन्ने मान्यता राख्नु हुने उहाँले भारतमा उपचाररत रहँदा पनि नेपाली उत्पादनको बजार प्रवद्र्धन गर्न र विविधीकरण गर्नका लागि नयाँ दिल्लीको कृषि मण्डी बजारमा समेत वुझ्नु भएको थियो । त्यस्तै गरी नातामा ज्वाँइ रहेका पं. प्रियशरण लम्साल जो नेपाली मन्दिर जनकपुरीका पण्डित थिए । उहाँको परिवारलाई प्रत्येक भ्रमणमा व्यवसायिक कार्यका लागि उत्साहित गर्नुहुन्थ्यो । इँट्टाभट्टाबाट सुरु गर्नु भएको उहाँको व्यवसाय विस्तारै २०३६ साल तिर काष्ट व्यवसायीका रुपमा स्थापित हुँदै एक प्रकारको आधिपत्यता कायम गर्न सक्षम भएको देखिन्छ ।

३. समाजसेवीको रुपमा

स्व. ऋषिमोहन रेग्मीले आफूलाई कर्मशील बनाउँदा बनाउँदै र उद्यमीका रुपमा स्थापित हुँदा सामाजिक कार्यमा समेत संलग्न गराउनु भएको थियो । सामाजिक सेवामूलक संस्थाहरु, विद्यालय स्थापना, प्राविधिक शिक्षालय (मनमोहन पोलिटेक्निक इन्ष्टिच्यूट) जस्ता संस्थाको स्थापनार्थ जग्गा दाताको रुपमा रहनु भएको थियो भने विराटनगरस्थित अस्पताल चोकमा रहेको क. पुष्पलालको सालिक स्थापना समेत उहाँले गर्नु भएको थियो । यसैगरी मदन भण्डारी कलेज (उर्लावारी)मा केही विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्थाबाट असहाय गरीब र जेहेन्दार विद्यार्थीलाई पढ्ने वातावरण सिर्जना गर्नु भएको थियो ।

रेग्मी सेवा समाज, खोटाङ सामाजिक सेवा मञ्च जस्ता सामाजिक संस्थाहरुसँग उहाँको आवद्धताले यी संस्थाहरुको संस्थागत विकासले फड्को मारेको थियो । सो मात्र नभई विभिन्न धार्मिक संस्थाहरुलाई समय समयमा उहाँले विभिन्न दान दिई सामाजिक कार्य गर्नु भएको थियो । मुलतः उद्यमबाट प्राप्त उपलव्धीलाई जनसेवामा परिचालन गर्नुपर्छ भन्ने उहाँको ध्येय नै रहन्थ्यो । अझ बामपन्थी पृष्ठभूमिका रेग्मी आर्थिक अवस्था कमजोर रहेका मजदुर वर्गप्रति अत्यन्त सहृदयी रुपमा प्रस्तुत हुने स्वभाव थियो । सामाजिक सेवाप्रति आवद्ध रहने क्रममा टोल विकास संस्था स्थापना गरी समाजमा सामूहिक स्वामित्वमा विकास कार्य अघि बढाउन नेतृत्व लिने क्षमता उहाँमा थियो ।

विराटनगर–१९ मा श्री पञ्चकन्या आधारभूत विद्यालयको संस्थापक भई उक्त विद्यालयलाई आवश्यक भौतिक लगायतका सामग्रीको बन्दोबस्तीमा योगदान गर्नु भएको थियो । जसबाट उहाँ शिक्षाप्रेमी सामाजिक व्यक्तित्वको रुपमा परिचित हुनु भएको थियो । यसरी स्व.रेग्मीलाई दुई दशकको सामिप्यतामा रहेर मैले अनुभूत गरेका विषयलाई लिपीवद्ध गर्ने क्रममा धेरै विषयहरु छुटेका छन् जसका लागि क्षमाप्रार्थी छु ।

मङ्गलबार, १६ कार्तिक, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर