कानेपोखरी (मोरङ) । २०५९ कात्तिक ६ गते बिहीबार कागतिहारको दिन थियो । घरमा जेठी छोरी दाजुभाइलाई भाइटीका लगाइदिन माइत आइपुगेकी थिइन् । आँगनमा ढकमक्क सयपत्री टिप्ने र भाइहरुका लागि माला बुन्ने योजना दिदीको थियो ।
बाबुआमा रामबहादुर धिमाल र डल्लीमाया धिमाल जेठो छोरा सुनिल घर फर्कने बाटो हेर्दैथिए । सधैं घर फर्किँदा केही न केही मिठोमसिनो बोकेर आउने छोरोबारे त्यसदिन चार बजेतिर धिमाल दम्पतीले नराम्रो खबर सुने ।
‘चार जति बजेको थियो होला,’, रामबहादुरले बुधबार कानेपोखरी–४ खोरियाबस्तीको घरमा पुराना दिन सम्झिए ‘सेनाले सुनिललाई पक्रिएको खबर आयो ।’ छोरालाई सेनाले दोभाना बजारबाट नियन्त्रणमा लिएको खबर धिमाल परिवारका लागि विष्मयकारी थियो । त्यसअघि पटक–पटक घरमा आएर सेनाले खोज्दा पक्राउ पर्नबाट सुनिल जोगिएका थिए । तर, त्यसदिन उनी जोगिएनन् , सेनाको पञ्जामा परिहाले ।
सेनाकोमा गएर भनसुन गर्ने आँट परिवारका कसैमा थिएन । ‘उसलाई माओवादी जनयुद्धमा लागेको भनेर सेनाले खोजीरहेको थियो,’ रामबहादुरले भने ‘अब जे पनि हुन्छ जस्तो लाग्यो ।’ नभन्दै त्यसको केही घण्टामै अर्को हल्ला चल्यो, सुनिललाई सेनाले गोली हानेर मार्यो । यो खबरले धिमाल परिवारमा रुवाबासी चल्यो । आमा डल्लीमाया मुर्छित बनिन् । तर, हो होइन, भनेर सेनालाई सोध्ने हिम्मत उनीहरुले गरेनन् । सेनासम्म पुग्ने माध्यम पनि भएन ।

‘छोरा आउला कि भनेर १९ वर्षसम्म बाटो हेर्यौं,’ आमा डल्लीमायाले भनिन् ‘तर, आउने छाँट भएन ।’ यसपटक कात्तिक ६ मा छोरो बेपत्ता भएको १९ वर्ष पूरा भयो, धिमाल परिवारले सुनिलको मृत्युसंस्कार पनि पूरा गरे ।
सुनिलका आमाबाबुले १९ बर्षपछि उनको काजकिरिया सकेका छन् ।‘बाँचेको भए अहिलेसम्ममा घर आउँथ्यो होला नि,’ यसो भनिरहँदा बुबा रामबहादुर भक्कानिए । गह आँशुले डम्म भरिए । अवरुद्ध गलामा उनले थपे ‘त्यसैले अब माया मारेर अन्तिम कर्म गर्यौं ।’ बुधबार दिउँसो उनको घर पुग्दा अन्तिम काम सकेर परिवार सुस्ताइरहेको थियो ।

परिवारका जेठा छोरा सुनिल २०५६ सालदेखि माओवादीको पूर्णकालीन सदस्य बनेका थिए । त्यही निहुँमा घरमा बारम्बार सेना आउँथ्यो । परिवारका सदस्यलाई थर्काइराखेर जान्थ्यो । तैपनि सुनिल बेला बेला घरमा आइरहन्थे । खेतीपातीमा पनि सघाउँथे । धेरै बोल्दैनथे ।
माओवादीमा लागेकै कारण तत्कालीन शाही सेनाले पक्राउ गरेर लगेको थियो । अहिलेसम्म सेना वा राज्यले सुनिलको अवस्थाबारे कुनै जानकारी दिएको छैन । धेरैले सुनिललाई मोरङकै चिसाङ खोलाको जङ्गलमा लगेर सेनाले गोली हानेको सुनाएका थिए । उनीहरुले हत्या गरेर लास गाडीमा हालेर बेपत्ता बनाएको देखेको बताउदै आएको सुनिलका कान्छा काका धनबहादुर धिमालले सुनाए ।
‘जनयुद्धमा लागेकै कारण सेनाले मारेको हल्ला चलेपनि बेपत्ता भएको छोरो फर्केर आउलाकी भनेर १९ बर्षसम्म बाटो हेर्यौ तर फर्केर नआएपछि उसको आत्मा नभड्कियोस् भनेर समाजको सल्लाह अनुसार गुरुपुरोहित ( ओझा) पढाएर धर्मसंस्कार अनुसार काजकिरिया गरिदिएका हौं’, ६७ वर्षे बाबु रामबहादुरले भने ।
धिमाल पुरोहित खसेन्द्र धिमालका अनुसार बेपत्ता व्यक्तिको १२ वर्षसम्म पत्तो नलागे विधिवत काजकिरिया गर्नुपर्ने परम्परा छ । तर, बुढा भैसकेका आमाबाबुको मनमा चोट नपुगोस् भनेर हतारमा काजकिरिया नगरी १९ वर्ष कुरेको उनले बताए ।
धिमाल दम्पतिका तीन छोरामध्ये सुनिल जेठा हुन् । गाउँमा ७ कक्षा पढेर विद्यालय छाडेका उनी २४ वर्षको उमेरमा माओवादी बनेका थिए । सुनिलका माइला भाइ लिलाबहादुर घरमै खेतीपाती गरेर जीविका चलाउँछन् भने कान्छा अमरबहादुर मलेसियामा छन् ।
वेपत्ता परिवारका लागि भनेर सरकारले पटक–पटक गरेर १० लाख रुपैयाँ दियो । धेरै रकम छोरा खोज्दैमा सकियो । शहिद परिवारलाई मासिक भत्ता दिने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेको सुनेको भएपनि अहिलेसम्म रकम नपाएको धिमाल परिवारको गुनासो छ । ‘सरकारले हामीजस्ता शहिद परिवारलाई दिन्छु भनेको निर्वाह भत्ता दिनप¥यो,’ रामबहादुरले भने ‘हाम्रो बुढेसकालका लागि राहत हुनेथियो ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।