विध्वंशको दाग छोपेर गिनिज बुकको राग

 मणि दाहाल

अराजनीतिक तथा अपत्यारिलो प्रचार शैली अहिलेको मूल समस्या हो । साथै माथिकाले जे गर्दा र जे बोल्दा पनि ताली बजाउने लम्पट शैली आजको महारोग हो । त्यति मात्र हैन, तथ्यबिहिन ठुटे बहस र त्यसकै आधारमा धारण बनाउने प्रवृति समग्र विकासको चरणकै बाधक हो । नेपाली राजनीतिमा अनेकौं यस्ता विषाक्त प्रबृत्तिहरु झाँगिएका छन् । जसले हाम्रो राजनीतिलाई कहिलै लक्ष्यमा पुग्न दिएन । समृद्धि र सुशासन बन्त्रक बन्यो । पथभ्रष्टता लक्ष्य बन्यो ।

हाम्रो राजनीति अत्यान्तै संक्रमणपूर्ण अवस्थामा छ । संक्रमणमा घसाएर देशमा लुटको साम्राज्य खडा गर्ने लक्ष्यका साथमा एउटा तप्का राजनीतिक दलभित्र सक्रिय छ । दुःखका साथ भन्नुपर्छ एमालेको आवरणमा सो तप्काको नेतृत्व कमरेड केपी ओलीले गर्नुभएको छ । अहिले उहाँ सत्ताबाहिर हुनुुहुन्छ । सत्ता बर्हिगमनको पीडामा असन्तुलित तवरमा बर्बराउनु उहाँको दैनिकी देखिन्छ । झुट, षडयन्त्र र उटपट्टयाङ प्रिय उहाँले एमालेलाई चटकी क्लबमा रुपान्तरण गर्नुभएको छ । तर, अचम्मको कुरा यति हुँदा पनि त्यहाँका लम्पटहरु ताली मात्र बजाउछन् ।

७७ फगुन २३ गतेको अदालती ‘कु’मार्फत नेकपाको एकता भंग गरियो । श्रमजीवी तथा मेहनतकस जनताले त्यसलाई इतिहासकै कालो दिनको रुपमा दर्ज गरे । अग्रगमनका पक्षपातीहरु रोए । तर, एमाले भजनमण्डली कक्टेल्सको उन्मादमा रमाए । देशभर दिपावलीको उर्दी जारि गरियो । तर, एक जनाले पनि पार्टी विभाजनको उन्माद बेठिक भन्ने हिम्मत गरेनन् । दासहरुले मालिकको आदेशलाई शिरोधार्य गरेकै पारामा आदेश तामेली गरे ।

ओलले संबिधानकै घाँटी निमोठेर आवधिक सदनलाई दुई पटकसम्म बिघटन गरि मुलुकलाई घोर प्रतिगमनको दिशातर्फ मोड्ने दुश्प्रयास गरे । मुलुकभर प्रतिगमनको बिरुद्धमा आन्दोलनको ज्वार सृजना भयो । तर, एमालेको गुटग्रस्त झुण्डले ओलीको कदम ठिक नलागेपनि बेठिक भन्ने हिम्म गरेन । कथित बौद्धिक भनाउँदाहरु स्वार्थको बाँसुरी बजाउँदै ओलको भजनमा सरिक भए । नीति, नियम, सिद्धान्त, बिधि, बिधान र नैतिकता भन्ने सबै पोलेर खाए । नेकपाको अदालती विभाजनपछि २०७७ फागुन २८ गते ओली क्याबिनेटका सय जना गुटपरस्त भेला गरेर हजार टिके मनोनयन गरेर एमालेलाई बिधिपूर्बक बिभाजन गरे । कम्यूनिष्ट आन्दोलनको बिध्वँस जस्तो घोर अपराधिक काम गरिरहँदा पनि एमाले नकाबधारी भजन मण्डलीले बेठिक भनेन । बरु फेरि ताली पिटे र दिपावली गरे ।

यतिखेर ओलीलाई गिनिज बुकमा नाम लेखाउने रहर जागेको छ । यो उनको रहरलाई बेठिक भन्न मिल्दैन । किनकि संसारकै रानीतिज्ञहरुले गर्न नसकेका राष्ट्रघाती र जनघाती जस्ता अनेकौ बिध्वँसकारी काममा बिश्व किर्तिमान कायम गरेका छन् । उनले आफै अध्यक्ष भएको नेकपाको एकता टिकाउन सकेनन् । एमालेलाई राष्ट्रका अनेकौं अवान्छित तत्वहरुको संरक्षण गृहमा परिणत गरे । उनी प्रधानमन्त्री भएको कालखण्डमा देश लुटको स्वर्ग बन्यो । बिधि बिधानको परिपालन र सुशासन भन्ने कुरो कागजी घोडामा रुपान्तरित भयो । नेपालीहरुको टाउकोमा प्रतिब्यक्ति ५७ हजार बिदेशी ऋण थपे । उनका यस्ता अनगिन्ति अपराधका फेरिहस्तले बिश्व रेकर्ड कायम गरेको छ । यिनै सवालमा उनको नाम गिनिज बुकमा लेखिएछ भने अचम्म नमान्दा हुन्छ । ओलले रायमाझी पथको घुम्टोमा भष्मासुर अवतार गरि एमालेलाई सिद्धान्तच्यूत गराए ।

त्यहाँभित्रका सिद्धान्तनिष्ट इमान्दार तप्काले उनको बिचलित मानसिकतालाई सुधार गर्न हर प्रयास ग¥यो । तर, ओली र उनको कम्पनीको बिकृत मानसिकतामा सुधारका लक्षण देखा परेनन् । यस्तो विसम परिवेशमा श्रमजीबी जनताको आन्दोलबाट प्राप्त उपलब्धिको रक्षा र एकीकृत बाम आन्दोलनको पुनःर्गठन राष्टिय आवश्यकता बन्यो । एमालेभित्रको ठूलो तप्काले बिद्रोहको मशाल बाल्यो । सोहि बिद्रोही मशाल नेकपा (एकीकृत समाजवादी) बन्यो ।

मैले माथिका प्रसंगहरु किन जोड्न खोजेको हो भने यतिखेर नेकपा समाजवादी कम्यूनिष्ट आन्दोलन पुनर्गठनको तुफानी अभियानमा छ । यसक्रममा एमालेको अराजनीतिक भजन समूहले अनेकौं भ्रमजालहरु फैल्याईरहेको छ । एमाले नै दर्शन र सूर्य चिन्ह मार्गदर्शक सिद्धान्त उक्त समूहको रटान भएको छ । राष्ट्र लुटेको धनले नेकपा एसको संगठन भत्काउनु उसको मुख्य लक्ष्य भएको छ । यस्ता अराजनीतिक तथा सिद्धान्तहिन प्रचारशैलिको भ्रममा कोहि पनि पर्नुहुदैन । साथै नीतिगत बिद्रोहको बारेमा जनचेताना जगाउन जाँगरहरु चलाउनु जरुरत छ ।

ढिलो चाँडो जे होस्, बाम शक्तिहरुबीचको बृहत्तर एकता राष्ट्रको आवश्यकता हो । यसमा कसैले भ्रम पाल्न जरुरी छैन । बिचार मिल्दा एकता र नमिल्दा संयुक्त चुनाबी मोर्चा तयार गरेर प्रतिगमनकारी शक्तिलाई परास्त गर्नुपर्छ । अधिकतम् रुपमा जनजीबीकाको पक्षमा काम काम गरेर निरासामा गुम्सिएका जनतालाई आशाका किरण जगाउन सक्नुपर्छ । आजको प्रमुख राजनीतिक कार्यभारको रुपमा रहेको समृद्धि र भरपर्दो रुपको समाजवादी मार्ग पहिचानको त्यतिकै जरुरत छ । यसो गर्न नसकी साना मसिना कुरामा अल्झिएर रहने हो भने हामीलाई इतिहासले माफ गर्ने छैन ।

समाजबादी यात्रामा सहमत पक्षहरुको बिचको हात्तेमालो अर्को आबाश्यकता हो । बामशतिmहरु समाजवादका आधार स्तम्भहरु हुन् । तर, उनीहरुको प्रयासले मात्र समाजवादको गन्तब्यमा पुग्न सकिदैन । यसको लागि अग्रगमनकारी शक्तिहरुसँगको गठजोड त्यतिकै आवश्यकता छ । नेकपा एसले उल्लेखित सबै पक्षहरुको बिचमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु जरुरत छ ।

नेकपा एसको बारेमा दृढतापूर्वक लागिरहँदा ओली एण्ड कम्पनीबाट सरुवा भई आएका केहि गलत प्रबृतिहरुको बिरुद्धमा कठोर रुपमा प्रस्तुत हुुनु कार्यकर्ताको अर्को महत्वपूर्ण दायित्व हो । पार्टी निर्माणको प्रारम्भीक चरणमै ओली प्रबृतिका छिटाहरु देखा पर्न थालेका छन् । पार्टी केन्द्रीय कमिटीको निर्माणमा उक्त छिटाहरुले घर गरेका गुनासाहरु देखा पर्न थालेका छन् । नीति निर्माणमा रहेका नेतृत्वको गोजीका नाम र नेताका गृहणीहरुको प्राथामिकतालाई ठिक मान्न कदापी सकिदैन । गणेशहरु काखमा रमाउने र कुमारहरु जहिलै सुमेरुको कष्ट मात्र सामना गरिरहने कुरा प्राकृतिक न्यायसंगत हुन सक्दैन । त्यसकारण गलत पक्षहरुको बारेमा दृढताका साथ खबरदारी गर्दै पार्टीको पक्षमा जनमत सृजनामा सबै लाग्नुपर्छ । यसो गरिरहँदा नेकपा एसलाई नयाँ बोत्तलमा पुरानो रक्सी भर्न कदापी दिनुहुदैन । यति मात्र गर्न सकियो भने पार्टीको गतिलाई संसारका कुनै पनि शक्तिले कमजोर बनाउन सक्नेछैन ।

मङ्गलबार, ०९ कार्तिक, २०७८

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर