जहदा, (मोरङ) । घर नजिकै थियो बलराम सिंहको लहलहाउँदो धानखेत । बिहान उठेर जब उनी खेततिर आँखा डुलाउँथे, पहेँलपुर बनेर पाकेको धानको वासना हरर आँगनसम्मै आइपुग्थ्यो । त्यो वासनाले उनको मनलाई पनि आनन्दित पाथ्र्यो । नपारोस् पनि किन ! वर्षभरीको श्रम र पसिना अन्न बनेर घरमा भित्रिन ठिक्क थियो ।
मोरङ जहदा गाउँपालिका–४ का बासिन्दा उनका लागि गएको बुधबार बिहानको राति अकल्पनीय दुःख लिएर आयो । जब लोहन्द्रा खोलाको बेमौसमी बाढी उनको रहरलाग्दो धानखेतमा पस्यो, एकैछिनमा लेदोसहितको त्यो बाढीले धानबारीलाई बगर जस्तो बनाइदियो । ‘अघिल्लो साँझसम्म धानबारी ठिकै थियो,’ उनले भने ‘बिहान हेर्दा त धानबारीमा त बर्खाको जस्तो बाढी पसेछ । पाकेको धानका बाला धेरै पुरिएको स्थितिमा थिए ।’
यसपटकको बेमौसमी वर्षा र त्यसले ल्याएको बाढी खेतमा पसेपछि धानको पकेट क्षेत्र मानिने जहदाका धेरै किसानले एकैमुठी धान पनि भित्र्याउन नपाउने अवस्था आएको छ । बलरामले एक बिघामा धान र साढे २ बिघा क्षेत्रफलमा तरकारी खेती लगाएका थिए । धान पाक्न तयार थियो तरकारीका विरुवा हुर्किने क्रममा थिए । ‘बाढीले एकैछिनमा सबै सखाप पार्यो’ उनले सुनाए ।
बलराम एक्ला किसान होइनन्, जसलाई यो बेमौसमी बाढीले रुवाएको छ । प्रदेश १ को ५० हजार हेक्टरभन्दा बढी जमिनमा लगाइएको धानबालीमा पछिल्लो बाढीले कुनै न कुनै रुपमा असर गरेको छ । सरकारी दाबी अनुसार यो बाढीले करिब ८ प्रतिशत उत्पादन घट्ने देखिएको छ । तर, किसानका लागि यो सरकारी दाबी यति हावादारी लाग्छ कि उनीहरुका लागि सर्वस्व गएको छ । बाढीले छोपेको धानबारीबाट किसान थोरै भए पनि धान निकाल्न अनेक उपाय लगाइरहेका छन् । तर, पाँजामै उम्रिन थालिसकेका कारण बँचेको धान पनि जोगिने अवस्था छैन ।
‘गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान थियो’, बलरामले भने,’ तर लगातार परेको वर्षासँग आएको बाढीले सालभर खाने खेती सखाप बनायो ।’ यहाँका कृषककोे मुख्य आम्दानीको स्रोत धानखेती र तरकारी हो । एकै रातमा आएको बाढीले पाकेको धान र भर्खर लगाएको तरकारी बाली स्वाहा हुँदा उनीहरुको मन भत्भती भएको छ । थपे ‘श्रम त खेर गयो नै परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो, राहत पाउने आशा पनि छैन ।’
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा किसानलाई परेको र्मामा मल्हमपट्टी लगाउने बताएका थिए । तर, अहिलेसम्म सरकारी निकायको कुनै टोली किसान भेट्न आइपुगेको छैन । धान र तरकारीबाट आउने मुनाफासहित २० लाखभन्दा बढी क्षति भएको उनको भनाइ छ ।
जहदा ४ का ६३ वर्षिय लाल बहादुर सिंहले पनि डेढ बिघामा कान्छी मन्सुली धान लगाएका थिए । त्यसमध्ये ७ कठ्ठामा लगाएको करिब ४२ मन उत्पादन हुने धान लोहन्द्रा खोलामा आएको बाढीले बगाएर लगेको उनले सुनाए । ‘दसैं अगाडि धान पाकेपछि खेताला लगाएर काटेका थियौ । त्यसपछि चाडपर्व लाग्यो,’ उनले भने, ‘दसैं सकिएपछि धान उठाउने तयारी गर्दैगर्दा बाढीले धान बगाएर लगेको छ ।’
एक महिना अगाडि एक बिघामा लगाएको तरकारी खेतीमा बाढी पस्दा १५ लाख भन्दा बढीको तरकारी नष्ट गरिदिएको उनले बताए । ‘एक बिघा क्षेत्रफलमा गोलभेडा, काउली, पर्वल लगाएको थिएँ,’ उनले भने, अहिले लेदोले तरकारीका विरुवाहरू पुरिदिएको छ ।’ पानी मात्र पसेको भए तरकारीमा धेरै असर गर्ने थिएन । तर, लेदो पसेपछि सबै विरुवा नष्ट भएको छ ।
जोगिएको धान पनि भिजेर उम्रन थालेपछि खाद्यान्न संकट हुने भन्दै चिन्ता लागेको जहदा २ का कृषक दिनेश्वर साहले बताए । उनले लगाएको ६ बिघा धानखेतीमा पनि सिंघिया खोलाको बाढी पसेर क्षति गरेको छ । उनले घरमा यस वर्ष एक दाना पनि अन्न भित्र्याउन नपाइएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताए । उनको चिन्ता छ ‘खेती गरेर जिविका चलाउने हामी अब के खाएर बाँच्ने होला, अनि घर खर्च कसरी चलाउने ?’
जहदा गाउँपालिका भित्र ६ हजार बिघामा धान खेती हुने गरेको छ । करिब ४ हजार बिघामा किसानले लगाएको धानबालीमा नोक्सानी भएको जहदा गाउँपालिकाले जनाएको छ । किसानको वास्तविक लगत लिने कार्य भइरहेको गाउँपालिकाका कृषि प्राविधिक सौरभ राजपुतले जानकारी दिए ।