दसैंमा पनि रमाउने गैरहिन्दू

सार्वजनिक विमर्शले साँस्कृतिक उत्सवहरुलाई झनै दरिलो पार्दै लैजान्छ । यसको उदाहरण दसैं आफै हो, जसले समाजका सबैलाई एकपटक एकैठाउँ र एकै बान्कीमा एकाकार गराउन प्रत्यक्ष–अप्रत्यक्ष भूमिका गरिरहेको छ ।

विराटनगरका वसिम आलम हरेक शुक्रबार नमाज पढ्न मस्जिद जान्छन् । मुस्लिम समुदायका हरेक साँस्कृतिक परम्पराप्रति उनको गहिरो चासो र लगाव छ । तर, वसिमको अर्को विशेषता पनि छ । उनी मुस्लिम समुदायका त्यस्ता सदस्य हुन्, जसले हिन्दुहरुका अधिकांश चाडपर्व पनि उत्तिकै चासो र लगावसहित मनाइरहेका हुन्छन् ।

तिहार होस् या रक्षाबन्धन, चेलीबेटीहरुबाट टिका र रक्षाबन्धन ग्रहण गरिरहेका हुन्छन् । दसैंमा रातो टिका निधारमा टलक्क टल्काएर जमरा पनि सिउरिरहेका हुन्छन् । नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूका केन्द्रीय सहअध्यक्षसमेत रहेका आलमले राजनीतिमा आएपछि मात्रै गैरमुस्लिम चाडहरुमा चासो दिएका भने होइनन् । ‘मैले बाल्यकालदेखि नै दसैंतिहार मनाउँदै आएको हुँ,’ उनी भन्छन् ‘मलाई नेपालका हरेक चाडपर्वहरु आफ्नै लाग्छन् । सबै चाडप्रति उत्तिकै लगाव छ ।’

कुनैपनि धर्म संस्कृतिले अन्य समुदायको धर्म संस्कृतिलाई निषेध नगर्ने उनको मत छ । ‘म नमाज पनि पढ्छु तर हरेक चाडपर्वलाई सम्मानका साथ ग्रहण गर्छु’ उनले भने, ‘धर्मको व्यापार गर्नेहरुले कट्टरपन्थी कुरा गर्छन्, कुनैपनि धर्मले निषेध गर्नु भन्दैन । एकले अर्काको चाडपर्वलाई सम्मानका साथ स्वीकारे यसले समाजमा सकारात्मक सदेश दिन्छ ।’

अन्य समुदायकाले इदलाई स्वीकार गर्छन भने अन्य समुदायको चाड पर्वलाई स्वीकार्न धार्मिक परम्पराले नरोक्ने उनको बुझाइ छ । ‘हाम्रोे मुस्लिम समुदायको इद पर्वको दिन अन्य समुदायका साथीहरुले शुभकामना दिने आफूहरुसँगै प्रसाद ग्रहण गर्ने गर्नुहुन्छ यसले गर्दा थप एकता र आत्मीयता बढाउँछ ।’

दसैं कसको चाड ? यो बहस चलेको धेरै भयो । सार्वजनिक विमर्शले साँस्कृतिक उत्सवहरुलाई झनै दरिलो पार्दै लैजान्छ । यसको उदाहरण दसैं आफै हो, जसले समाजका सबैलाई एकपटक एकैठाउँ र एकै बान्कीमा एकाकार गराउन प्रत्यक्ष–अप्रत्यक्ष भूमिका गरिरहेको छ । यतिबेला शरद ऋतुको मनमोहक मौसममा दसैंको रौनक सुरु भइसकेको छ । घर–आँगन सफाइदेखि घरका भित्ताहरु रंगाइएको छ । शहरमा काम विशेषले रहेकाहरुको गाउँ फर्कने लर्को छ ।

दसैं असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठको साथ मनाइन्छ । घटस्थापनामा जमरा राखी नवमीसम्म पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका र जमरा ग्रहण गरि मनाइन्छ दसैं । धार्मिक सामाजिक साथै पारिवारिक जमघटको रुपमा मनाइने दसैँमा कतिपय धर्म र समुदायले टिका लगाउँदैनन् । तर, दसैंका अन्य सबै ‘रसम’ भने पूरा गर्छन् ।

विराटनगर अमर टोलकी ८६ वर्षीया धनमाया लिम्बू दसैंको टिका लगाउँदिनन् । पारिवारिक जमघट गरेपनि दसैँमा टिका ग्रहण गर्ने परम्परा नरहेको उनी बताउँछिन् । ताप्लेजुङको सिनाममा जन्मेकी उनी गाउँमा छँदा दसैँ मेला जाने, धान नाच्ने, पालम गाउने ख्याली गाएर रमाइलो गर्ने गरेको उनले सुनाइन् । पुर्खाहरुले सुनाएको धार्मिक मिथक अनुसार दसैँको टिकाको दिन रातो टिका लगाउने परम्परा नरहेको उनले बताइन् । ‘हामी रातो टिका लगाउँदैनौ, हाम्रो बाउबाजेले भने अनुसार हामी आदिवासीलाई हराएर हाम्रै रगतले विजय मनाइएको भन्ने छ त्यसैले हामी टिका लगाउँदैनौँ । तर, लगाउनेले सेतो टिका लगाउँछन्’, उनले भनिन्, हामी दसैँको दिन मेलापात जाने, वल्लो, पल्लो गाउँको दाजुभाई, दिदीबहिनी मिलेर धान नाच्ने, पालम, ख्याली गाउदै रमाइलो गथ्र्यौ ।’

विराटनगर– ११ का भूषण लिम्बू दसैँलाई भ्रातृत्व र एकताको पर्व मान्छन् । विभिन्न कारणले परिवारबाट छुटेकाहरुले एकै ठाँउमा भेला भएर एकआपसमा खुशी साट्ने भएकाले पनि दसैंैँ मिलापको पर्व रहेको उनको बुझाइ छ । लिम्बू समुदायमा रातो टिका लगाउनु हुन्न भन्ने भनाइ रहे पनि उनीहरुको परिवारले दसैंैँको टिकाको दिन रातो टिका जमरा लगाएर मनाउँदै आएको उनको भनाई छ ।

नेपालको संस्कृति अनेकतामा एकता कायम गर्ने ढंगको रहेकाले यसको विशेष महत्व हुने प्राध्यापक चन्द्र उपाध्यााय बताउँछन् । ‘इद, छठ पर्व, चासोक तङनामको त्यतिकै महत्व छ, जति दसैैँको छ,’ उनले भने, ‘समुदाय विषेशले मनाउने पर्वमा समावेशी सहभागिता हुनुपर्छ । यसले एकताको सन्देश दिन्छ ।’ उनले पर्वलाई एकअर्कामा खुसी साट्ने माध्यमका रुपमा लिए सबै समुदायको पर्वमा सुखद् र खुशी मिल्ने तर त्यहाँभित्र असमानताको अनुभूति दिलाउने खालको व्यवहार भए खल्लो हुने बताए ।

शुक्रबार, २९ असोज, २०७८, दिउँसोको १२:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर