श्रीमन्त भट्टराई
शनिबारको दिन । सविना कार्कीको रेडियो कार्यक्रममा पहिलोपटक दसैं गीत सुनें । ‘दसैंं आयो… ।’ उदित नारायण झा, दीपा झालगायतको स्वरमा सुसज्जित मुगलान चलचित्रको गीत सुन्दा भैंसीले अर्काको बाली खाइदिएको पत्तै भएनछ । धन्न कसैले देखेनन् ।
‘कोदो फुल्यो बारीमा (लरिलै), धानको बाला झुल्यो खेतैमा
कत्ति राम्री देखिन्छौं (बरिलै), जमरा र रातो टिकैमा ।
दाइको घडी हातैमा (लरिलै), ढाका टोपी ढल्क्यो शीरैमा
तिमीलाई नी सुहाउँछ (बरिलै), जमरा र रातो टिकैमा ।’
‘दसैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत्त पापी बरु छुट्टै बसौंला ।’ कक्षामा मिसले सिकाएको यो दसैं गीतभन्दा निकै मिठो थियो ‘दशैं आयो’को भाका । झुलेको धानको बाला काटियो, निधारको रातो टिका पनि मेटियो । गीतको स्वादले छाडेन । दसैं सकिएपछि पनि गुन्गुनाइरहन्थें, पछिसम्म । लोकनाथ सापकोटाको शब्दले असाध्यै मन छोएको थियो ।
‘फुल्दछन् खुशी जमरा भरी, निधारमा अक्षता हाँस्दछन्
मुग्लान जाने आफन्तलाई, घर आउ भनी डाक्दछन्
ती पल्ला घरे लाहुरे दाईले परदेशको कोसेली बाँड्दैछन्
लाहुरेनी भाउजु मुसुमुसु गर्दै, भित्र र बाहिर गर्दैछन् ।’
समाजमा कोदो फुलेको कथा, धानको बाला झुलेको कथासँगै आफन्त मुगलान जाँदाको पीडा अनि फर्किएर आएपछि खुशीका अनुभूतिहरु गीतमा सरल भावमा समेटिएको छ । आज पनि यो गीतको त्यति नै चर्चा छ, जुन विगतमा हुन्थ्यो । हरेक दसैंमा यो गीत गाउँ शहरमा गुञ्जिन्थ्यो । आज पनि गुञ्जिन्छ ।
लगत्तै तिहार आयो । ‘तिहारै आयो, लौ झिलिमिली, सुन हजुर भैलिनी आयौं आँगन ।’ यो गीतमा अर्कै मजा थियो । शैलीमा क्या मिठास, भाव बुझ्नु आवश्यक थिएन । बस्, तिहारको रमाइलो न थियो । गाई तिहारको दिन । हरियो गोबरले लिपेको आँगनमा । गुन्यु चोलीमा सजिएका चेलीहरु । पाउजु बजाउँदै नाँच्दाको दृश्य । अनि, छेवैमा सयपत्री र मखमली फूलको सुगन्ध । ओहो !
‘मेरो हजुर नजाउ लाहुर, नेपालमा पाइन्छ जागिर…।’ त्यहाँ पुगेपछि मगरनी माइली दिदी ओड्नेको सप्कोले मुख छोपेर कुना पस्नुभयो । लालटिनको उज्यालोले देखिहालें । श्रीमान विदेश गएर उतै बित्नुभएको थियो । एउटा काखको छोरो हुर्काउँदै संघर्ष गर्दै हुनुन्थ्यो माइतमै बसेर । श्रीमानलाई कतिपटक भन्नुभयो होला नेपालमा नंग्रा खियाउन ।
वर्ष बित्यो । म कक्षा ४ बाट ५ मा पुगें । असार साउनको धान रोप्ने चटारो सकियो । भदौरे झरीको गोडमेल अनि असोजको दसैं । अर्को गीत बज्न थाल्यो रेडियोमा । कुल पोखरेलको पप फ्लेवरको गीतमा फरक जोश थियो ।
‘अस्ति दाईको चिठी आथ्यो
सानीलाई पनि स्कूल हाल्नु भन्नुभाथ्यो
फेरि दाईको चिठी आथ्यो
अर्कोपालि त पक्कै आउँछु भन्नुभाथ्यो ।’
विदेशमा हुँदाको पीडा, सानीलाई स्कूल हाल्नुपर्ने आवश्यकता र यथार्थ अनि अर्कोपटक दसैंमा पक्कै आउने बाचा गीतले सरल शैलीमा व्याख्या गरेको थियो ।
‘यसैपाली दसैंमा, ठूलो दाई आउने रे
बाबालाई रेडियो, आमालाई सारी, भाईलाई घडी
अनि मलाई जिनको पाइन्ट ल्याउने रे ।’
गीत संगीत मनोरञ्जनका प्रमुख साधन हुन् । नवरसका विभिन्न भाव, स्वरुप र शैलीको प्रयोग गीतमा हुन्छ । माया प्रेम, हाँसो आँशु, खुशी, रोदन, मिलन बिछोड, उर्जा र सन्देश गीत भित्र पाइन्छ । शब्दलाई गीतको आकारमा ल्याउन प्राण भर्ने काम संगीत र स्वरको माध्यमबाट गरिन्छ । गीतको भाव, लय र संगीतले चसक्क मुटु छुन्छ । समाज बोल्ने र संस्कृति झल्काउने काम गीतसंगीतकै माध्यमबाट गरिन्छ । समाज बोलेका अधिकांश गीतहरु कालजयी हुन्छन् । कहिल्यै नबिर्सने । त्यस्तै अर्को गीत थियो, योगश्वर अमात्यको ।
‘दसैं नै हो कि यो मेरो दशा, फर्कि आएको
वर्ष नै पिच्छे किन यो मेरो, टाउको खाएको ।’
वर्षौंदेखिको एकसरो फरिया र चोली लगाएको गुनासो सुनाउँदै रामेकी आमाले आफ्नो श्रीमानलाई नयाँ सारी मागेको कथा । ‘लाइस् बुढी सारी । पैसा न सैसा, टिकि ट्याँस् ट्याँस् !’ अभाव, आक्रोश र पीडा मिसिएको त्यो जवाफ ! समाजमा बहुसंख्यकको कथा बोल्थ्यो क्यारे उक्त गीतले हिजो पनि त्यति नै चर्चित रहेछ । अनि आज पनि छ । त्यो समय, सुन्दा खुब रमाइलो लाग्थ्यो । अनि आज, कताकता यथार्थ कोट्याइदिन्छ त्यही गीतले ।
हरेक आमाहरुलाई रुवाउने यो अर्को गीत दसैंमै बज्थ्यो । मन भक्कानिन्थ्यो । दलानमा बसेर आमाहरु रुनुहुन्थ्यो ।
‘नमुछे आमा दहीमा टीका, नछरे जमरा
दैवले पर्दा उठायो आमा, आउँदिन फर्केर’
फौजबाट फर्किन नपाएको पीडा समेटिएको गीत पनि बज्थ्यो दसैंमा । कर्मथलोबाट घर आउन नपाएका पनि रुन्थे, घरमा हुनेहरु पनि रुन्थे ।
‘किन आउँछ दसैं तिहार, किन बिदा बार
फौजीलाई कुन हो दसैं, कुन हो चाड तिहार ।’
राष्ट्रको सेवा गर्न अनि परिवार पाल्न फौजमा गएकाहरुको परिवार लक्षित यो गीतले साँच्चिकै भक्कानो फुटाउँथ्यो ।
‘भक्कानो यो मनमा उठ्छ
प्यारी सम्झियो भने,
चौकिदारी गर्न देशको
राष्ट्रसेवक बनें,
साथीसंगी घरपरिवार नमान्नु है हार
फौजीलाई कुन हो दसैं
कुन हो चाड तिहार ।’
दसैंकै बीचमा रेडियो गणतन्त्रमा ‘लाल झुपडीका मान्छेहरु’, ‘युवा भनेको शक्ति हो’, ‘अरुण तरेर’ लगायत गानाहरु बज्थे । समाज बदल्न भुमिका खेल्ने ती गीतहरु लुकिलुकी सानो स्वरमा सुनिन्थ्यो । विभेद्, अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार विरुद्धका गीतहरु खुबै मन पर्थे । गायक जेबी टुहुरेको ‘आमा दिदी बहिनी हो…’ बोलको गीत अर्को कालजयी लाग्थ्यो । पुरुषको दासको रुपमा आमा दिदी बहिनीहरुलाई प्रयोग गर्ने प्रचलनको विरुद्ध एउटा सशक्त हतियार थियो उक्त गीत । ताल रोमान्चक थियो । शब्द र भावको गाम्भीर्यता अत्यन्त धेरै । यो गीतको शब्द सुन्दा अनि समाजमा महिलामाथि हुने अन्याय, अत्याचार र विभेद् हेर्दा दसैं पर्वमा गरिने नारीको पुजा र सम्मान त देखाउन मात्र रहेछ भन्ने लाग्थ्यो । व्यवहारमा घरघरका आमाहरुको अनि दिदीहरुको आफ्नै कथाव्यथा !
‘आकाशको कालो बाँदल तिम्रै शीर माथि, सधैं मड्राउँँछ
असिना र बर्खे झरी तिम्रै भाग्य माथि, निसानी लगाउँछ
बैशाखको घाम तिम्रै पुर्पुरोमा लाग्छ, खुन बग्छ पानी बनेर ।’
‘तिमीजस्तै दिदी बहिनी, रकेटमा उडिसके, आफ्नो शक्ति चिनिसके
तिमी भने मझेरीमा, चुन्मुनाउँछौ दंग परी, जीवनभरी कैदी बनेर ।’
आजभोली दसैंमा पुष्पन प्रधानले गाएको ‘पैसा होइन, पासो छ परदेशमा’ बोलको गीत कुना काप्चामा सुनिन्छ । हेमन्त रानाले गाएको ‘४० कटे’सी रमाउँला’ धेरैको मुखमा झुण्डियो । त्यो कथाको पूर्ण अध्याय अझै सकिएको छैन । उता, दैनिक दर्जनौं सपनाहरु बाकसमा थुनिएर फर्किन्छन् । परदेश, पैसा र पासोको सम्बन्ध नेपालीले बुझे त ? घटस्थापनादेखि फुलपातीसम्म पनि विदेशिनु परेको कथा अनि पीडा । लर्को लामै छ एयरपोर्टमा । ४० कटेपछि रमाउने प्रसंगको पीडा भावलाई कसरी व्याख्या गर्ने ? त्यो पनि मैले सकिनँ । तर, पनि गीतले समाज बोल्छ, मलाई त्यति थाहा छ ।
शिशिर योगी ‘गाउँमा कोही छैनन्’ भन्दै गीतमै चिन्ता व्यक्त गर्छन् । देशमा नयाँ मानिस खोजेको परिकल्पना गर्छन् । उनी गाउँछन्, ‘यो देशमा म एउटा, मानिस खोजिरहेछु ।’ मानिस भेटेको जानकारी उनले सार्वजनिक गरेजस्तो अहिलेसम्म लागेको छैन । शिशिर योगीका शब्दहरुलाई आजभोलि भिटेनले गाउने गीतले कति न्याय दिन्छन् ? मलाई थाहा छैन ! समेट्नुपर्छ वा पर्दैन ? त्यो पनि बुझेको छैन ।
‘पिढीँमा बसेर मेरै बाटो हेरेर, मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ भन्दै विरह भावमा गाइएको आमा छोराको कथा आज पनि मिठो स्वरमा गुञ्जिन्छ । साग र सिस्नो खाएर आनन्द मनले बस्ने देवकोटाको परिकल्पना खै को–को गर्छन् । तर, हरेक दसैंमा यी कथाहरु दोहोरिन्छन् । पीडा दिन्छन् मनमा । फेरि जान्छन् । अनि, फेरि आउँछन् । अनि विष्णु माझी फेरि गाउँदैछिन् ।
‘हिउँद गयो, बर्खा गयो, बितिजाला वैंश
चाहिँदैन भो सुनचाँदी, चाहिँदैन भो पैसा
ए परदेशी, आउ है गाउँमा
दसैं तिहार आइसक्यो, झल्को लाइसक्यो ।’