नेता बन्ने प्रयासमा धर्मेन्द्र ऋषिदेव : जसले एसएलसी दिएपछि मात्रै आमाबुबा चिने

‘दलितहरुको ठाउँमा पहाडको दलित मात्रै हुने होइन । तराइमा बसोबास गर्ने ऋषिदेव पनि राज्यका माथिल्लो तहमा पुग्नु पर्यो । बाँतर, डुम, चमार पनि नेतृत्वमा जानु पर्यो’, उनी भन्छन् ।

विराटनगर । सोचमा विभेद, व्यवहारमा विभेद, कदम–कदममा विभेद, विभेदकारीहरूको नजर–नजरमा विभेद र असहयोगका बीच नेतृत्वमा उदाउँदै गरेको एक युवाको नाम हो धर्मेन्द्र ऋषिदेव । मोरङको बुढीगंगा–२, थानपर्ति टोलका धर्मेन्द्र ऋषिदेव अहिले २५ वर्षका भए । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बिए चौथो वर्षमा अध्ययनरत छन् ।

‘माटोको किङ’ समुदायमा जन्मे हुर्केका धर्मेन्द्रको कथा व्यथा पनि लामै छ । उनी ५ वर्षको हुँदा उनका बुबा आमाले उनलाई मावलमा छोडेर वेपत्ता भए । बाबु आमासँगको विछोडको कारण बताउन नचाहने उनी बाबुआमालाई भने एसएलसी दिएपछि मात्रै चिन्न पाएको बताउँछन् । त्यसयता अहिले पनि धर्मदेव मावलको हजुरबा नेपाली ऋषिदेव र हजुरआमा कास्मतीदेवी ऋषिदेवको साथमा रहँदै आएका छन् । उनका हजुरबा नेपाली ०५६ सालका जनप्रनिधि पनि हुन् । ऋषिदेव समुदायका बालबच्चा स्कुल जाने पढ्ने खासै हुँदैन थियो । आमाबुबा बिहीन उनले झन्नै त्यो अवसरबाट वञ्चित भएका थिए । तर, ६ वर्षको उमेरमा उनले घरमै नेपाली अक्षर पढ्न जान्न थालिसकेका थिए ।

‘त्यसबेला पत्रिका पढ्न आउँथ्यो । पत्रिका पढ्दै गरेको देखेपछि हजुरबुबाको मालिक (दिव्यराज घिमिरे)ले ५ सय रुपैयाँ दिएर ‘यो केटो पढ्ने खालको रहेछ स्कुल लगेर भर्ना गर्दे’ भनेर हजुरबालाई निर्देशन दिए,’ धर्मेन्द्रले आफ्नो पठनपाठन सुरु भएको कथा विस्तार गरे, ‘त्यसपछि हजुरबाले सोही पैसाले डे«स र किताब किनेर नरग्राम माविमा भर्ना गरिदिनुभयो ।’ त्यही समयदेखि धर्मेन्द्रको जीवनले कोल्टे फेर्यो । तर, विद्यालयमा शिक्षकबाटै उनलाई विभेद हुन्थ्यो । राम्रो पढ्ने विद्यार्थीको परिचय बनाएको भएपनि अनौपचारिक प्रतिस्पर्धाहरुमा उनलाई वञ्चित गरिन्थ्यो ।

‘तीन कक्षामा रोल नम्बर ३ थियो र एसएलसीसम्म उत्कृष्ट १० मा परिरहें । स्कुल पढुन्जेल खेलकुद, क्वीज कन्टेस्टहरू कुनै पनि अनौपचारिक कार्यक्रममा सहभागी हुने अवसरबाट मलाई वञ्चित गरियो,’ उनले भने, ‘तर मैले अहिलेसम्म कुनै कक्षामा फेल हुनु परेन, मेहनतको फल देखियो, अहिले मलाई अवसरबाट वञ्चित गराउनेहरुले नै आशाको नजरले हेर्न थालेका छन् ।’

उनी ८ वर्षदेखि नै खेतमा आली लगाउने काम गर्थे । ‘अहिले पनि खेतमा काम गर्छु,’ उनी भन्छन्, ‘अहिलेसम्म मेरो जीवनको धेरै समय खेतमै बितेको छ । हजुरबा हजुरामाले ठेक्का गरेको ठाउँमा सघाउने काम गर्छु, अहिले पनि आम्दानीको स्रोत खेतिपाती नै हो ।’ उनले स्कुल पढ्दा ब्याग बोकेनन, एउटै डे«स वर्षौं लगाए, खाजा खाएनन्, पढाइसक्ने वित्तिकै घर जाने र काम गर्ने काम गरे । ‘मैले ब्याग कहिल्यै बोकिन, डे«स पनि एउटैले एक वर्ष पुरा गरें । खाजा पनि खाइँन,’ उनी सुनाउँछन्, ‘म धेरैजसो पढाइमै व्यस्त भएँ, कक्षामा अहिलेसम्म फेल भएको छैन ।’ नरग्राम मावि बुढीगंगाबाट उनले ०७१ सालको एसएलसीमा ५६ दशलमव ५७ प्रतिशत रिजल्ट ल्याएका थिए । सोही स्कुलबाट प्लस टु गरे । दोस्रो डिभिजन नम्बर ल्याए । महेन्द्र मोरङको ब्याचलरमा तेस्रो सेमिस्टरसम्म क्लियर गरेका उनी अहिले चौथो वर्षको परीक्षाको तयारी गरिरहेका छन् ।

ब्याचलर पहिलो वर्ष पढ्दा उनले खर्च आफन्तबाट मागेर चलाए । दोस्रो वर्षको खर्च बुढीगंगा गाउँपालिकाले दियो । तेस्रो वर्षदेखि जसमाया गजमेरको सचिवालय काम गर्ने अवसर पाएपछि त्यहीबाट पठनपाठनमा सहयोग प्राप्त भयो ।

विभिन्न संगठनको नेतृत्व र राज्यमन्त्रीको सचिवालय सदस्यसम्म

स्कुल पढ्दादेखि आफू पपुलर हुने सोच उनमा थियो । तर, स्कुलमा शिक्षकहरुले रोक्थे, छेक्थे । ‘सरहरुले रोकेकै कारणले नै म मोटिभेट भएँ,’ उनी बताउँछन्, ‘हजुरबा कांग्रेसको नेता भए पनि माओवादी र प्रचण्डले मात्रै केही गर्छ है भनेर भन्नुहुन्थ्यो । त्यसपछि देखि नै माओवादीका विभिन्न संगठनहरुमा रहेर उनले काम गर्न थाले ।’ ०६८ सालमा ९ कक्षा पढ्दा नै माओवादी निकट दलित मुक्ति मोर्चाका नेता कपिल सुनारसँगको भेटपछि उनलाई संगठित हुने अवसर जुर्यो । अहिले उनी बुढीगंगाको माओवादी पार्टीका कार्यालय सदस्य, गाउँपालिकाको विद्यार्थी विभाग प्रमुख, वडा नम्बर २ को सचिव र नरग्राम माविको शिक्षक अभिभावक संगठनको सदस्य समेत छन् । यस्तै उनी मोरङको मुसहर संघको महासचिव पनि छन् । आफू यो अवस्थामा पुग्नमा माओवादीका स्थानीय नेताहरु जीवन आचार्य, इश्वरी आचार्य, डिल्ली आचार्यलगायतको सहयोग महत्वपूर्ण रहेको उनी बताउँछन् ।

राजनीतिक पार्टीमा लागेर पद प्राप्त गर्न पनि उनलाई ठूलै संघर्ष गर्नु परेको छ । बुढीगंगामा नेकपा हुँदा एक दिन पालिका कमिटी सदस्य बनाए । अर्को दिन उनको नाम डिलिट गरे । त्यसबेला उनले आफुलाई अन्याय भयो भन्दै तत्कालिन पार्टी अध्यक्ष ऋषिकेश पोखरेल समक्ष मुद्दा पनि हाले । त्यसपछि पुनः विद्यार्थी राजनीतिमा एकोहोरो लागिरहे । पछि पार्टी विभाजन भएपछि पुनः जिम्मेवारी थप गरेर कार्यालय सदस्यमा ल्याइयो । ‘सामान्य मुसहरको बच्चाले बाहुनहरुलाई चलाउने भन्ने प्रश्न पनि गरिरहेको सुन्छु,’ पार्टी नेता भनेर चिनजान गराउँदा अन्य समुदायले गरेको ब्याकबाइटिङ बारे उनी भन्छन्, ‘तर, जसले मेहेनत गर्छ, त्यही मानिस अगाडि बढ्छ भन्ने लाग्छ र झन् जितौ जितौं जस्तो लाग्छ ।’

अहिले अनेरास्ववियु क्रान्तिकारी मोरङको जिल्ला सचिवमा उनको नाम सिफारिस भएको छ । माओवादी पार्टीले पनि उनलाई सचिवमा सर्वसम्मत बनाउने तयारी गरिरहेको छ । ‘वास्तवमा ‘माओवाद’ यहाँ रहेछ कि जस्तो लागेको छ,’ उनले आफूलाई पार्टीले सहयोग गरेको प्रति खुसी व्यक्त गर्दै भने, ‘ओरिजिनल मानिसलाई जिम्मेवारी दिने प्रयास गरेको देखियो । खासमा अहिलेको आवश्यकतालाई बुझेको जस्तो लाग्यो । विद्यार्थी राजनीतिको नाममा पासआउट भइसकेको मानिसलाई जिम्मेवारी दिने कुराले सही नेतृत्वको अभ्यास हुँदैन थियो । तर विद्यार्थी लेबलमै भएको मलाई अवसर दिन खोज्नु मननयोग्य कुरा हो, र अरु पार्टीलाई पनि च्यालेन्ज हो ।’

धर्मेन्द्रले यतिमात्रै अवसर पाएका होइनन् । उनलाई तत्कालिन प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सचिवालयमा राखेकी थिइन् । त्यसबेला पनि मन्त्रालयमा बाहिरबाट आउने मानिसले विभेद गरेको वा फरक व्यवहार गरेको अनुभूति उनले गरेनन् । तर, मन्त्रालयकै कर्मचारीबाट भने उनलाई कहिल्यै स्वीकार गर्ने कोशिस भएन । कर्मचारीहरुले उनलाई रेस्पोन्स गर्ने वा भनेको कुरालाई गम्भीरतापूर्वक लिन आनाकानी गरिनै रहन्थे । ‘मेरो विषयमा मन्त्रीलाई अनावश्यक कुरा लगाउने, बद्नाम गर्ने कोशीस एउटा समुदायका कर्मचारीले सुरुदेखि नै गरिरहयो,’ उनी सम्झन्छन्, ‘तर, मन्त्री आफैं दलित आन्दोलनबाट आएको कारण त्यसले कुनै असर गरेन ।’

दलितभित्र पनि विभेद छ

उनी दलितभित्र पनि विभेद रहेको बताउँछन् । ‘दलितहरुको ठाउँमा पहाडको दलित मात्रै हुने होइन । तराइमा बसोबास गर्ने ऋषिदेव पनि राज्यका माथिल्लो तहमा पुग्नु पर्यो । बाँतर, डुम, चमार पनि नेतृत्वमा जानु पर्यो,’ उनी भन्छन् ।

राज्यले गर्ने जनगणनामा पनि मुसहर समुदाय ठगिमा परेको उनको अनुभूति छ । जनगणना २०६८ ले नेपालमा २ लाख ५० हजार मात्रै जनसंख्या देखाउँछ । तर, सिरहामा मात्रै ६० हजार र मोरङमा मात्रै ५० हजारबढी जनसंख्या छ । यसरी हेर्दा झण्डै २५ जिल्लामा १२ लाखको हाराहारीमा मुसहर समुदाय पुग्छ । तर राज्यले मुसहर समुदायकै सदा, माझि, ऋषिदेव, ऋषिकुल, रिखियासन, भुइँयालगायतलाई फरकफरक जातिमा राखेर मुसहरको संख्या थोरै बनायो । ‘यदि मुसहरजातिहरु सबैलाई एकैठाउँमा बनाएर गणना गर्ने हो भने हाम्रो समुदायबाट पनि २/४ वटा सांसद हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यही दिनुपर्छ भनेर हामीलाई टुक्राटुक्रा पारियो ।’

उनको मूल उद्देश्य नै राजनीति गर्ने र नीति निर्माणको तहमा पुग्ने रहेको छ । ‘आम्दानीको लागि व्यवसाय सुरु गर्ने सोच छ । मूल उद्देश्य राजनीति गर्ने हो,’ उनी भन्छन् । नीति निर्माणको तहमा पुगे कसरी काम गर्ने भन्ने विषय पनि धेरथोर उनलाई थाहा छ । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको सचिवालयमा काम गर्दा उनले दलित मुसहर समुदायको लागि बजेट निर्माणमा समेत भूमिका खेले । केही दिनअगाडि बालिका सुस्मिता ऋषिदेवलाई बुढीगंगामा एकदिनको लागि गाउँपालिका अध्यक्ष बनाइयो । त्यो पनि उनै धर्मेन्द्रले भूमिका खेलेर आएको बजेटको कार्यक्रम हो । सो समुदायलाई अगाडि बढाउन पनि महिला नेतृत्वको विकास गर्नुपर्छ भन्ने उनको मान्यता छ । ‘ऋषिदेव समुदायको लागि मात्रै २ करोड रुपैयाँको कार्यक्रम निर्माण भएको थियो,’ उनले भने, ‘मन्त्री जसमाया गजमेरले राजीनामा दिएसँगै ती कार्यक्रम पनि अलपत्र परे । बजेट कार्यान्वयन भएन ।’

आइतबार, १० असोज, २०७८, रातीको ०८:०४ बजे

प्रतिक्रिया

  1. यो सहि कुरा भनु भाछ किन कि हाम्रै छिमेकी दाजु हो र म पनि दाजु सँग राजनीति तर्फ लागेको करिब २/३ बर्ष भयो । धन्यवाद !!

  2. हाम्रो मत अनि आदरणीय दाजु अर्जुन आचार्य लगायत सकारात्मक उर्जा प्रदान गर्न प्रतिक्रिया दिनुहुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

प्रतिक्रिया:

सम्बन्धित खवर