विराटनगर । विराटनगर महानगरपालिकाले विद्यालयहरू संचालन गर्ने अवस्था अध्ययन गर्न बनेको समितिले विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीलाई प्रतिवेदन बुझाएको छ ।
विराटनगर महानगरपालिको शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद भट्टराईको संयोजत्वमा गठन भएको सात सदस्य समितिले सोमबार प्रतिवेदन बुझाएको हो ।
समितिले बुझाएको प्रतिवेदन अनुसार अनलाइनको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरूलाई स्वास्थ्य मापदण्डको पालन गर्दै १ देखि दुई घण्टा ‘सम्पर्क कक्षा संचालन’ गर्न सुझाव दिएको छ । ‘अहिलेको अवस्थमा पूर्ण भौतिक रूपमा कक्षा संचालन गर्न सकिने अवस्था रहेको छैन,’ समितिको संयोजक भट्टराईले भने, ‘हामीले बुझाएको प्रतिवेदनमा अनलाइनको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीहरूलाई पढाइमा नबुझेको कुराहरू सिक्न र सहजीकरणको लागि आलोपालो प्रणाली सिफ्ट सिस्टममा भीडभाड नगरी सम्पर्क कक्षा संचालन गर्ने सुझाव दिएका छौं ।’
ठूला कक्षाका विद्यार्थी अलाइनमा कक्षामा सहभागी भएका हुन्छन् । त्यसभन्दा मुनिका विद्यार्थीहरू र अनलाइनको पहँुचमा नभएका विद्यार्थीको सहजीकरणको लागि सम्पर्क कक्षा संचालन गर्न सकिने सुझाव दिएको उनले बताए । समितिले बुझाएको प्रतिवेदनबारे विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली संयोजक रहेको शिक्षा समितिले अन्तिम निर्णय गर्नेछ ।
समितिले बुझाएको प्रतिवेदन उपर सोमबार विराटनगर महानगरपालिका छलफल हुनेछ । त्यसपछि प्रमुख पराजुलीको संयोजत्वमा गठन भएको समितिले अनलाइनको पहुँचमा नभएका विद्यार्थीहरूका लागि सम्पर्क कक्षा संचालन गर्न दिने वा नदिने निर्णय गर्नेछ । कोभिड १९ को सहज परिस्थितमा शैक्षिक सत्र २०७८ संचालक व्यवस्थापन कार्यढाँचा निर्माण समिति भदौ १३ गते गठन भएको थियो ।
उक्त समितिको संयोजक विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख भट्टराईको संयोजत्वमा कोभिड संयोजक हैदर अली, हिसानको केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, विराटनगर शिक्षक महासंघका अध्यक्ष बेदुकुमार खतिवडा, प्याब्सन विराटनगर अध्यक्ष इन्द्र राई, सामुदायिक विद्यालय अभिभावक संघको अध्यक्ष कृष्ण गौतम र संस्थागत विद्यालय अध्यक्ष देवी पन्थी रहेका थिए । उक्त समितिले बनाएको १३ पृष्ठको प्रतिवेदन विराटनगर महानगरपालिका प्रमुख पराजुलीलाई आइतबार बुझाएको हो ।
‘स्मार्ट लकडाउन पनि सार्वजनिक भएपछि त्यसको आधारमा रहेर प्रतिवेदन बुझाएको छौं । रेड जोन हुँदा कस्तो सावधानी अपनाउने, ग्रिन र एल्लो जोनमा के गर्न सकिन्छ, त्यस विषयमा पनि हामीले सुझाव दिएका छौं,’ समितिका संयोजक भट्टराईले भने । अनलाइनको पहुँचभन्दा बाहिर रहेका विद्यार्थीलाई ‘सम्पर्क कक्ष संचालन’ गराउँदा करिब ढेड घण्टादेखि २ घण्टाको ग्याप राखेर स्वास्थ्य मापदण्डको पालना गराउँदै विद्यार्थीलाई सहजीकरण गराउन सुझाव दिएका उनले बताए ।