सम्पादकीय
नेकपा एमालेका संस्थापकमध्येका एक रहेका र त्यो पार्टीलाई लामो समय नेतृत्व प्रदान गरेका माधवकुमार नेपाल अन्ततः जीवनको उत्तराद्र्धमा कठिन राजनीतिक बाटोको यात्रामा अग्रसर भएका छन् । उनले तयारी गरेको नयाँ यात्रामा उनलाई साथ दिन धेरै सहयात्रीले अस्वीकार गरेका छन् । जसका लागि एमालेभित्र अध्यक्ष केपी ओलीसित उनले लडे, तिनै पात्रले परेका बेला उनलाई साथ दिएनन् । त्यसैले नयाँ पुस्तालाई साथमा लिएर सुरु गर्न लागेको नयाँ यात्रा एमालेभन्दा कुन अर्थमा भिन्न र नौलो हुनेछ ? नेता नेपालका लागि सबैभन्दा चुनौतीपूर्ण विषय यही छ । यो चुनौती झेल्न उनी कति सक्षम होलान् ? सम्भवतः यही प्रश्नले उनको सफलता–असफलता निर्धारण गर्नेछ ।
निर्वाचन आयोगमा बुधबार ५४ केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेपछि नेकपा एमाले विधिवत रुपमा विभाजित बनेको छ । एमाले विभाजित बनेर जन्मिएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) को नेतृत्व नेता नेपालले गरेका छन् । लोकतन्त्रमा दल विभाजन हुने र नयाँ गठन हुने स्वाभाविक प्रक्रिया हो । यो स्वाभाविक प्रक्रियाको रोजाई नेता नेपाल र उनको टिमका लागि भने अस्वभाविक रुपमा आइलागेको छ । त्यसैले दल विभाजन बाध्यता भएको उनीहरुको ठहर छ । अब नेता नेपाल र उनको टिमका लागि नयाँ दल गठनको औचित्य पुष्टि गर्नुपर्ने चुनौती सामुमा छ ।
नेता नेपाल नेपालको समकालीन राजनीतिका औसत नेता हुन्, जसले राजनीतिक जीवनमा सफलता–असफलताका अनेकौं अनुभव संगाल्न पाएका छन् । तत्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमन आधा सच्चिएको भन्ने विवादास्पद निर्णय लिने बेलामा होस् अथवा त्यसअघि महाकाली सन्धीको पक्षमा पार्टीलाई उभ्याउँदा, उनलाई लागिरहने ठूला राजनीतिक आरोप हुन् यी । यसबाहेक एमालेलाई पहिचानविहीन बनाएको आरोप पनि उनले झेल्ने आलोचनाको अर्को पाटो हो । तर, एमालेलाई संगठित पार्दै देशव्यापी रुपमा विस्तार गर्न, शान्ति प्रक्रियाको मध्यस्थता गर्न तथा जनान्दोलनलाई निष्कर्षमा पुर्याउन पनि नेपालले उत्तिकै प्रभावी भूमिका निर्वाह गरेका थिए । नेपाली राजनीतिमा सादगी र इमान्दार नेताको छवि बनाएका उनले संविधानसभामा पार्टी पराजित बनेपछि महासचिव पदबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका थिए ।
तर, इमान्दार –नैतिकवान हुनु र क्षमतावान हुनु दुई फरक विषय हुन् । पार्टीले अंगालेको समाजवादी विचारको स्थापना नयाँ दलले कसरी गर्न सक्छ ? ओलीले नेतृत्व गरेको एमाले निरन्तर दक्षिणपन्थी भासमा डुब्दै जाँदा नेपालको पार्टीले कसरी समाजवादी विचारको झण्डा बोक्छ ? यी र यस्ता प्रश्नले नयाँ दलको औचित्य स्थापित गर्नेछ । यसबाहेक दलभित्रको आन्तरिक लोकतन्त्र, संघीयता, समावेसिता र सामाजिक न्यायका सवालमा आफूलाई इमान्दार रुपमा उभ्याउनुपर्ने चुनोती पनि नयाँ दललाई हुनेछ । समग्रमा नयाँ दलका अघि आफ्नो अस्तित्वको औचित्य पुष्टि गर्नुपर्ने गहन दायित्व उपस्थित छ । यसलाई कुशलतापूर्वक ‘ह्याण्डल’ गर्न सक्षम बने नेता नेपालको टिम सफल बन्नेछ , अन्यथा यो पनि मालेको अर्को अवतार मात्रै सावित हुनेछ ।