सम्पादकीय
कोरोना संक्रमण बढे के गर्ने ? हाम्रा सरकारी संयन्त्रको पहिलो योजना र प्राथमिकता निषेधाज्ञा वा लकडाउन हुने गरेको छ । कोरोना महामारीको ‘चेन ब्रेक’ गर्न भन्दै प्रदेश १ का विभिन्न स्थानीय तहले निषेधाज्ञा लगाएका छन् । केही स्थानीय तहमा ‘लकडाउन’ कै घोषणा गरिएको छ । झापामा त प्रशासनको भाषामा ‘कडा निषेधाज्ञा’ नै घोषणा भएको छ । लामो समयदेखि जारी निषेधाज्ञा र लकडाउन कोरोना संक्रमण दर घटाउन सफल विकल्प बने त ? तथ्यांकले त्यस्तो देखाउँदैन । प्रदेश १ का मोरङ, झापा, सुनसरीलगायतका जिल्लामा संक्रमित संख्या बढेको बढ्यै छन् । मंगलबार मात्रै प्रदेश १ मा १ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । यसले सरकारी निषेधाज्ञा र लकडाउनले काम नगरेको प्रष्ट देखाउँछ ।
निषेधाज्ञा वा लकडाउनको एक मात्र लक्ष्य भनेको महामारी फैलन नदिनु हो , यसको प्रसार क्षमतालाई कमजोर पारिदिनु हो । तर, हाम्रा तीन वटै तहका सरकारले भने लकडाउनलाई कोरोनाको औषधि जस्तै ठान्ने भूल गरे , अहिले पनि त्यही शैली अपनाइरहेका छन् । कोरोनाको चेन ब्रेक गर्न संक्रमितलाई कम्तीमा १० दिन आइसोलेसनमा राख्नुपर्छ । तर, को संक्रमित भन्ने टुंगो लाग्न परीक्षण जरुरी हुन्छ । परीक्षणको दर यो बेला उच्च बनाउनु पर्ने खाँचो छ । तर, सरकारी निकायहरुले परीक्षणलाई अझै विस्तारित तुल्याउने प्रयास नै गरेका छैनन् । परीक्षणलाई पूर्णरुपले समुदाय केन्द्रीत नगर्ने हो भने अहिलेको निषेधाज्ञा र लकडाउन जतिसुकै जारी राखे पनि संक्रमण घट्ने छैन ।
अहिले जहाँ –जहाँ निषेधाज्ञा र लकडाउन ‘कडा पारेको’ भनिएको छ, संक्रमण तिनै ठाउँमा बढेको देखिन्छ । यसको अर्थ निषेधाज्ञा घोषणा भयो, पालना भएन । सार्वजनिक यातायातमा हुने भीड बढेको छ । त्यहाँ न्यूनतम सुरक्षा मापदण्ड पालना भएको त छैन नै, संक्रमण फैलाउने माध्यम पनि बनिरहेको छ । पसल तथा बजारमा भीड यति अनियन्त्रित छ कि कसैले यसलाई अनुगमनको विषय नै बनाएका छैनन् । बैंक तथा वित्तीय संस्थामा हुने भीडभाडको अवस्था उस्तै छ । यसरी निषेधाज्ञा घोषणा गर्ने तर सुरक्षा मापदण्ड पालनामा ध्यान नदिने कमजोरी भएकै कारण कोरोना फैलिन सहयोग पुगिरहेको छ । यसमा सरकारी लापरवाही जति जिम्मेवार छ, सर्वसाधारणको बेपर्वाहपन पनि उत्तिकै दोषभागी छ ।
महामारीको डेढ वर्ष बित्दा पनि मास्क लगाउन प्रहरीले दबाब दिनुपर्ने, आफूले चढेको सार्वजनिक यातायातको साधनमा जतिसुकै भीड भए पनि त्यसको प्रतिवाद नगर्ने, सजगता आफ्ना लागि भन्दा पनि सरकारका लागि भए जस्तो व्यवहार गर्ने शैलीले पनि कोरोना बढाइरहेको छ । सास्तीको श्रृंखला लम्बिएको छ । बजार होस् वा यातायातका साधन, भीड कम गर्न आफै सजग हुनुपर्छ । यसर्थ अर्थहीन निषेधाज्ञामा मात्रै होइन, सावधानीको सवालमा पनि सरकार र समुदायको संयुक्त प्रयास जरुरी भइसकेको छ ।