विराटनगर । नेकपा एमाले विराटनगर कमिटिले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध गम्भीर खालका ५२ आरोप लगाएको छ ।
खोप काण्डमा अनियमितता गरेको, सुशासन कायम गर्न नसकेको, विकास निर्माणमा लय समात्न नसकेको, भएका परियोजनाको काम पनि गुणस्तरीय नभएको लगायतका ५२ आरोप एमालेले लगाएको हो ।
एमाले विराटनगरका अध्यक्ष सागर थापासहितको टोलीले आज महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई माग पत्र पेश गर्दै यस्तो आरोप लगाएको हो ।
‘अव्यवस्थित सहर सफा, स्वच्छ वातावरणयुक्त, बाटोघाटो, खानेपानी, बिजुली बत्ति र सञ्चारको सुविधासहित व्यवस्थित बन्ने छ भन्ने आशामा कुठाराघात भएको हाम्रो ठहर छ,’ माग पत्रमा उल्लेख छ, ‘युवा नेतृत्वले पाँच वर्षमा विराटनगरलाई कहाँ पु¥याउने हो भन्ने भिजन दिन नसक्दा नगरको अवस्था यथास्थितिमै रहन पुग्यो । यो आम नगरबासीको निम्ति चिन्ताको विषय हो ।’ महानगरको नेतृत्वमा रहेर चार वर्षको कार्यकाल पुरा गरिसक्दापनि विराटनगरका सामुदायिक शिक्षालयहरुको दुराअवस्था रहनु, विद्यालयहरु दलगत राजनीति गर्ने अखडाकै रुपमा स्थापित हुनु, नमूना विद्यालयहरुको संख्या थपिएको भनेर झुटको सहारा लिइनुले कमजोरी ढाकछोपको प्रयास भएको पनि एमालेले आरोप लगाएको छ ।
स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य काम गर्न नसकेको भन्दै एमालेले खोप पाउन कांग्रेसकै कार्यकर्ता हुनुपर्ने गलत मान्यता स्थापित गर्न खोजेर महानगर प्रमुखले चरम बेथितिलाई स्थापित गर्न खोजेको भन्दै आपत्ती समेत जनाइएको छ । ‘कोभिडको महामारीमा जनतालाई न्यूनतम सेवा प्रवाह नगरी कार्यकर्ताको घरघरमा मात्र अक्सिन र खोप पु¥याउने कार्य निन्दनीय छ ।
कार्यकालको प्रारम्भमै ठूला करदातालाई करछुट र साना तथा मध्यम करदातालाई करको दर वृद्धि गरी आहात दिने काम गरियो । जसको दुष्परिणाम अहिले महानगरले व्यहोर्नु परेको छ,’ माग पत्रमा भनिएको छ, ‘करको दरमा जोड दिने तर दायरामा ध्यान नदिदा महानगरको आम्दानी बढ्न सकेको छैन । महानगरपालिकाले पछिल्लो तीन वर्षदेखि आन्तरिक आम्दानी अनुमानको तुलनामा ४० प्रतिशतपनि प्राप्त गर्न नसक्नु त्यसको उदाहरण हो । कर्मचारीको संख्या अधिक बनाइदा उनीहरुलाई नियमित पारिश्रमिक दिन नसक्ने अवस्थामा महानगरपालिका पुगेको छ ।’
पूर्वाधार विकासतर्फ पनि महानगरको वर्तमान नेतृत्व आउनु अगाडि नै एशियाली विकास बैंक लगायतका दातृ निकायहरुसँग सम्झौता भई ढल तथा डुवानको समस्या समाधानका लागि योजनाहरु सञ्चालनमा रहेका बाहेक अन्य काम नगरेको आरोप लगाउँदै एमाले अध्यक्ष थापाले महानगरपालिकाले नीतिगत रुपमा, पूर्वाधारको क्षेत्र र सुशासनको क्षेत्रमा महागरले गर्दै आएको कमजोरी सुधार गर्नुपर्ने माग पनि गरेको छ ।
एमाले महानगर कमिटीले सार्वजनिक गरेको ५२ आरोपहरु यस्ता छन्:
भौतिक तथा पूर्वाधार
नगरको आवश्यकताको पहिचान गर्न नसकेको ।
गुद्री बजारको व्यवस्थापन अहिलेसम्म गर्न नसक्नु ।
एकीकृत विकास योजना ल्याउन नसक्नु ।
महानगरभित्र गौरवको योजनाहरु संचालन गर्न नसक्नु ।
योजना छनौट गर्दा समस्याको समाधान गर्नेगरी भन्दा पनि आफ्नो अनुकूल हुनेगरी योजना छनौट गरिएको छ ।
आम्दानीको आधारमा योजना बनाउने भन्दा पनि योजनाका आधारमा अनुमानित आम्दानी बढाउने गरेको ।
कर्मचारीलाई सिण्डिकेट बनाई सरुवा नगर्नु गर्न नसक्नु ।
कूल विकास बजेटको ७० प्रतिशत नगरको उत्तरी क्षेत्रमा खर्च गरी अविकसित वडाहरुलाई उपेक्षित गरिएको छ ।
एसियाली विकास बैंकको सहयोगमा निर्माण भएका संरचनाहरुका कारण नगरबासीहरुले वर्षेनी बाढीको समस्याबाट धनजनको क्षति वर्षेनि क्षति व्यहोर्नु परिरहेको छ । उक्त समस्याको समाधानका लागि महानगर उदासिन रहेको छ ।
ठोस योजना बनाई विकास निर्माणको काम गर्न नसकी पहुँच तथा आस्थाको आधारमा टुक्रे आयोजना बनाई नगरको बजेट अर्थहिन विकासमा खर्च गरेको ।
वडाहरुमा अधिकार प्रत्यायोजन विभेदपूर्ण गरिएको छ । वडामा अधिकार प्रत्यायोजन गरिएतापनि पूर्ण रुपमा कार्यान्वय नगराउनु ।
महानगको आन्तरिक स्रोत व्यवस्थापनमा गम्भीर नहुनुले नगरबासीहरुमा दीर्घकालिन प्रतिकूल प्रभाव पार्ने तथा संस्था धरासायी बनाउने काम भएको छ ।
अनावश्यक कर्मचारीहरू नियुक्ति गरी संस्थालाई भर्तिकेन्द्र बनाउने काम भएको ।
आस्थाको आधारमा कर्मचारीलाई दण्ड र सजायको भागिदार बनाउनाले कर्मचारीहरुमा उदाशिनता छाएको छ । आन्तरिक प्रशासनलाई कमजोर बनाई नगरबासीहरुले पाउनुपर्ने सेवा सुविधामा प्रतिकूल प्रभाव पारेको छ ।
एसियाली विकास बैंकमार्फत भएका कामहरु गुणस्तरीय नभएको ।
अरबौं रुपैयाँ लगानी गरेर ढल तथा नाला निर्माण भएपनि आयल निगमदेखि शनिमन्दिरसम्म (हाइवे)को भागमा एक घण्टा पानी पर्दा जलमग्न हुने अवस्था रहेको ।
मिल्स एरियास्थित कोशी राजमार्गमा हुने डुवान नियन्त्रण गर्न साइफनको व्यवस्था नगरिदा स्थानीय बस्ती डुवानमा परेकोले तत्काल साइफनको व्यवस्था गर्नुपर्ने ।
एसियाली विकास बैंकको प्रोजेक्टमार्फत हुने कामको प्रारम्भकै अवस्थामा विभेदकारी नीति अबलम्बन गरेको । साथै यो मार्फत गरिएका कामहरु प्रक्रियासम्मत ढंगले निर्णय नगरिकन आफू अनुकूल गरियो ।
जामुनगाछी, दामाबन्दी हुँदै केशलिया सडक खण्ड अहिलेसम्म कामले पूर्णता नहुनुले महानगरपालिका जनताप्रति कति असंवेदनशिल छ भन्ने कुरा देखाएको ।
दिगो विकास हुन नसक्नु ।
२) स्वास्थ्य, सरसफाई तथा फोहोरमैला
कोडिभ–१९, नियन्त्रणमा कुनै पहल गर्न नसकेको ।
कोभिड–१९ विरुद्धको खोपको दुरुपयोग गरेको ।
पहुँचका भरमा रातको समयमा कार्यकर्तालक्षित खोप बाँडेको ।
स्वास्थ्य महाशाखाले महानगरभित्र भएका कोभिडका बिरामीको यकिन तथ्यांक समेत राख्न नसकेको ।
खोपको विषयमा अनुगमन तथा नगरभित्रका कोभिड अस्पतालको अवस्था के छ भन्ने कुराको सामान्य सूचना नराखेको ।
चन्दा उठाएर किनेको पिसिआर मेसिनमा पनि अनियमितताको प्रयास गरेको ।
फोहोर मैला व्यवस्थापन, छाडा चौपाया, व्यवस्थापन नभएको ।
महानगरले आफ्नो ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्न नसकेको ।
नाला नियमित रुपमा सरसफाइ नगरेको ।
व्यवसायिक रुपमा फोहोरमैला व्यवस्थापन गर्न नसकेको । चौपाया नियन्त्रण गर्न नसकेको ।
भुस्याहा कुकुरको समस्या विकराल देखिएको ।
डंग्राहामा रहेको ल्याण्ड फिल्ड साइडको जग्गाको प्रयोग गर्न नसकेको ।
३) शिक्षा
नगरशिक्षा समितिमा नेकपा एमालेलगायतको तर्फबाट प्रतिनिधित्व नहुनुले शिक्षा क्षेत्रमा एकलौटी राजनीति गरेको ।
नमूना विद्यालय बनाउने नाममा आफ्नो अनुकूल एकलौटी निर्णय गरिएको ।
शैक्षिक क्षेत्रमा न्यून लगानी ।
शिक्षा महाशाखाको रिक्त पदहरु पदपूर्ति हुन नसक्नु । जसका कारण शिक्षा क्षेत्र अस्तव्यस्त भएको छ । अनुगमन शून्य छ ।
विद्यालय सुपरिवेक्षण गर्न कर्मचारीको व्यवस्था नगर्नु ।
काजमा शिक्षक राखिनु ।
दरबन्दी भएको विद्यालयमा शिक्षकको कमी हुुनु । जसले गर्दा पठनपाठनमा समस्या ।
मदर्शाको उचित व्यवस्थापन गर्न नसक्नु ।
विद्यालय बन्द भएको अवस्थामा शिक्षकको करारमा कार्यकर्ता भर्ति गरेको ।
महानगरभित्र शिक्षकको पेशागत विकासको लागि तालिम, गोष्ठी नहुनु । जसले गर्दा दक्ष जनशक्ति उत्पादनमा ह्रास आउनु ।
४) आर्थिक (कर)
महानगरपालिकाको वार्षिक कर कति हुन्छ ? वास्तविक राजस्व अनुमान प्रक्षेपण गर्न नसक्नु ।
करलाई सेवा प्रवाहसँग जोड्न नसक्नु ।
राजस्वको सम्भाव्यता अध्ययनको आधारमा वार्षिक आय गर्नुपर्ने सिद्धान्त रहेकोमा खर्च धान्नका लागि हचुवाको भरमा आयको अनुमान गरिनु । जसका कारण महानगरले लिएको राजस्व संकलनको लक्ष्य भेट्न नसक्नु र सँधै घाटा बजेट देखिनु ।
महानगरपालिकाले महानगरको आम्दानी वृद्धि गर्नका लागि अहिलेसम्म कुनै योजना नल्याउनु । करको दर बढाउन खोज्नु तर, दायरा बढाउन नसक्नुले महानगरको विकासमा प्रत्यक्ष असर पु¥याउनु ।
विराटनगर महानगरभित्र रहेको व्यक्तिगत ५१ हजार ६ सय ५० घरधूरीमध्ये ३० प्रतिशत मात्रै करको दायरामा आउनु ।
महानगरभित्र व्यवसाय कर, बहाल कर उठाउने कुनै योजना नबनाउनु ।
५) युवा, खेलकुद तथा विविध
महानगरपालिकाभित्र खेल क्षेत्रको विकासमा कुनै निती निर्माण नगरेको ।
खेल मैदान तथा क्लबहाउसहरुको विकासमा ध्यान नदिएको ।
खेलाडी उत्पादन गर्ने एकेडेमीको स्थापनामा ध्यान नदिइनु ।
कर्मचारीको सिण्डिकेट तोड्न नसक्नु र कर्मचारीको सरुवा गर्न नसक्नु ।
सहि सुझाव 🙏🏾🙏🏾