विराटनगरका दश विद्यालय नमूना बन्ने चरणमा : नगरप्रमुख पराजुली

विराटनगर । विराटनगर महानगरपालिकाका भित्रका १० वटा सरकारी विद्यालयहरु नमूना बन्ने प्रकृयामा रहेको महानगरका प्रमुख भीम पराजुलीले बताएका छन् ।

विराटनगर महानगरपालिकाको नेतृत्वमा आफू स्थापित भएसँगै सामुदायिक विद्यालय सुधारको विषयलाई प्राथमिकतामा राखेको भन्दै उनले परिणामस्वरुप नगरभित्रका १० वटा विद्यालयहरु नमूना बन्ने प्रकृयामा बढेको बताएका हुन् ।

महानगरको प्रमुखको रुपमा निर्वाचित हुँदा पोखरीया बाहेक अरु सरकारी स्कुलहरुमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण नभएको तर प्रारम्भमै तीन वटा विद्यालयलाई नमूना बनाउने अभियान चलाएका कारण प्रगति भएको उनले बताएका हुन् । राधाकृष्ण स्कुलको अवस्थामा पछिल्लो समय आएको सुधारले पनि सामुदायिक विद्यालयहरुमा आएको परिवर्तन देख्न सकिने उनको भनाइ छ । पोखरीया, आदर्श, सत्यनारायण, राधाकृष्ण लगायत १० विद्यालयहरु नमूना स्कुलमा रुपान्तरण हुने चरणमा रहेको उनको भनाइ छ । पछिल्लो समयमा प्राविधिक विषयको अध्यापन, अग्रेंजी माध्यमबाट पढाउने व्यवस्था र विद्यार्थीहरुका लागि सवारी साधन उपलब्ध गराउन महानगरपालिकाले सहयोग गरेका कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षित हुने क्रम बढेको र विद्यालयहरु सुधार तर्फ अग्रसर भएको उनको भनाइ छ ।

‘हामी निर्वाचित भएर आएपछि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं । सरकारी विद्यालयहरुको सुधार गर्ने, नमूना विद्यालयहरुको संख्या बढाउदै लैजाने आदि कामको सुरुवात ग¥र्यौं,’ प्रमुख पराजुलीले भने ‘त्यसको देखिनेगरी परिणाम आएको छ, १० वटा विद्यालयमा प्राविधिक विषयको पढाइ सुरु हुनु र नमूना बन्ने प्रकृयामा अघि बढ्ने सुधारको उदाहरण नै हो ।’

चालु आर्थिक वर्ष महानगर प्रमुख पराजुलीको कार्यकालको अन्तिम वर्ष भएकोले उनी यो वर्षलाई शिक्षा क्षेत्रको सुधारको वर्षको रुपमा उपयोग गर्ने बताउँछन् । उनले भनेका छन् ‘यो वर्ष हामी सामुदायिक विद्यालयका प्राथमिक र माध्यामिक तहको शिक्षा सुधार गर्ने प्रयत्न गर्नेछौं भने विद्यालय पूर्वाधार विकासमा पनि काम गर्नेछौं ।’ महानगरको एउटा विद्यालयलाई समावेशी विद्यालयको नमूनाको रुपमा स्थापित गर्ने प्रयत्न भइरहेको भन्दै उनले भने ‘शिक्षाको विकास बिना विकासको अनूभूति पनि हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ ।’

कार्यकालको अन्तिम वर्ष कम्तिमा पनि १० वटा विद्यालयलाई नमूना विद्यालयहरुमा रुपान्तरण गरिसक्ने योजनामा आफूहरु रहेको भन्दै प्रमुख पराजुलीले विद्यालयहरुलाई आत्मनिर्भर र सक्षम बनाउने तर्फ पनि महानगरले ध्यान दिएको बताए । उनले भने ‘ पोखरीया माध्यामिक विद्यालयलाई १० कठ्ठा जमिन उपलब्ध गराएका छौं, यसबाट विद्यालयले स्रोत वृद्धि गरी सक्षम बन्न सहयोग पुग्ने विश्वास छ ।’ कार्यकालको अन्तिम वर्ष शिक्षामा नै जोड दिने र अगाडि बढेका योजनाहरु सम्पन्न गर्न ध्यान दिने उनी बताउँछन् । सार्वजनिक शिक्षा सुधारका लागि आवश्यक सहयोग नगरेको भन्ने गुनासो सुरुका केही समय आएपछि पछिल्लो समय गुनासो सम्बोधन गर्ने काम गर्दै महानगर अघि बढेको बताइएको छ । तर, महानगरपालिकाभित्र अहिले पनि दर्जनौ विद्यालयहरु सुधारको पर्खाइमा छन् । जीर्ण अवस्थाका पूर्वाधार, योग्य र सक्रिय शिक्षक नेतृत्वको अभावमा धेरै विद्यालयहरु बन्द हुने वा मर्जरमा लैजानु पर्ने अवस्थामा पुगेका छन् । महानगरले शिक्षा सुधारलाई प्राथमिकतामा राखेको भएपनि भूगोलको अवस्था हेर्दा विद्यालय सुधार तर्फ अरु धेरै काम गर्नुपर्ने आवश्यकता रहेको राष्ट्रिय शिक्षा अभियानका अभियन्ता श्रीमन्त भट्टराई बताउँछन् ।

शनिबार, १६ साउन, २०७८, साँझको ०५:४६ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर