देउवालाई उपलब्ध दुर्लभ अवसर

 अनन्तराज न्यौपाने

भर्खरै विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई फेरि पनि सत्ता राजनीतिका कुशल खेलाडी सिद्ध गरेका छन् । यसअघि पनि पटकपटक प्रधानमन्त्रीको पदमा आसीन हुन सफल देउवाले आइतबार बिहान अकस्मात् आफूलाई विश्वासको मतका लागि प्रस्ताव गर्दा उनका निकटस्थ पनि अचम्भित भएका थिए । तर, देउवाले भविष्यको दृश्य देखिरहेका थिए ।

उनले के देखिरहेका थिए भने, विश्वासको मत लिनुभन्दा अगावै प्रतिनिधिसभामा कुनै विधेयक पारित गर्नुपर्यो भने माधव पक्ष धर्मसङ्कटमा पर्नसक्छ । माधव पक्षले विधेयकका पक्षमा मतदान ग¥यो भने पार्टी ह्विप उल्लङ्घनको आरोपमा सांसद् पद धरापमा पर्नेछ । तर, शेरबहादुरलाई विश्वासको मत दिँदा त उनीहरूको पदमाथि कुनै सङ्कट आइलाग्ने भएन । किनभने सर्वोच्च अदालतले नै धारा ७६ को ५ बमोजिमको सरकारलाई विश्वासको मत दिँदा वा नदिँदा पार्टीको ह्विप नलाग्ने भनेर फैसला गरिदिइसकेको छ । त्यसैले देउवाले के ठहर गरे भने कुनै अमुक विधेयक पारित गर्नुभन्दा अगाडि विश्वासको मत लिनु नै श्रेयष्कर हुन्छ ।

विश्वासको मत प्राप्त गर्न पनि भित्रभित्रै उनले प्रशस्त मेहनत गरेका रहेछन् भन्ने तथ्य यतिबेला आएर छर्लङ्ग भइरहेको छ । कथंकदाचित् माधव पक्ष यु टर्न भयो भने के गर्ने ? देउवाले पहिले यो सोचे । र नै, महन्थ ठाकुर र राजेन्द्र महतोलाई मिलाए । यतिमा मात्र उनले चित्त बुझाएनन् । ओली पक्षका ८ जनालाई पनि आफ्ना पक्षमा ल्याइछाडे । यतिबेला ओली र माधव पक्षको पानी बाराबारको स्थिति छ । तरपनि कार्यदलका सदस्य युद्ध स्तरमा मिलाउन लागिरहेको कुरा देउवाले झल्झली देखेका थिए । तर, कार्यदल आफ्नो गन्तव्यमा पुग्न नपाउँदै शेरबहादुरले विश्वासको मतका लागि प्रस्ताव गरे र एमालेका संस्थापनइतरमध्ये अधिकांशको मत आफ्ना पक्षमा पार्न सफल भए । यसरी देउवाले आफूलाई सत्ताका लागि कुशल साबित गरेरै देखाए ।

तर, देउवाको विश्वासको मत सँगसँगै उनीसँग असङ्ख्य चुनौती र कामका चाङहरू छन । ओली सरकारको अकर्मण्यता, अनियमितता र भ्रष्टाचारले थिल्थिलिएको अर्थतन्त्र छ । अपेक्षाहरू धेरै छन्, तर अर्थतन्त्रको आकार साँघुरो छ । राज्यसंयन्त्र भित्र चरम बेथिति र कमिसनतन्त्र मौलाएको छ । सबै राजनीतिक पार्टीको साख खस्किएको अवस्था छ । कुनैपनि राजनीतिक दल शिर ठाडो पारेर जनतासामु जानसक्ने अवस्था छैन ।

यसबीचमा देउवाले केही जनपक्षीय काम गरेर वाहवाही लुट्न सक्छन् । जस्तो कि, खोप खरिदमा कमिसनको खेल भएको तथ्य उदाङ्गो भएको थियो । ओलीले खरिद गरेको भन्दा सस्तो दरमा देउवाले खोप ल्याइदिए भने उनको उचाइ अकस्मात् ह्वात्तै बढ्नेछ । भन्न त उनले भनेका छन्, ‘मेरो पहिलो प्राथमिकता खोप हो, दोस्रो प्राथमिकता खोप हो र तेस्रो प्राथमिकता पनि खोप हो । खोप–खोप–खोप ।’

वास्तवमा निरीह नेपाली जनताको आशा गर्ने शक्ति त्यति ठूलो छैन । घरअगाडिको बाटामा पानी जमेका ठाउँमा अलिकति गिटी हालिदियो भने नेपालीलाई पुग्छ । त्यसमाथि कुनै सरकारले कालोपत्रे सडक नै बनाइ दियो भने त वाहवाही नै हुन्छ । त्यसैले देउवा सरकारले अन्य सबै काम छाडेर पहिलो मिसन खोपलाई बनाएर यसमै आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्ने हो भने जनताका बिचमा स्थापित हुन कत्ति बेर लाग्दैन ।

साँच्चि भन्ने हो भने देउवा पटकपटक सत्ताको नेतृत्व गर्ने व्यक्ति भएका छन् । तर, उनका कुनै प्रधानमन्त्रित्वले पनि सफल र लोकप्रिय कार्यकाल हासिल गरेनन् । देउवालाई आजसम्म पनि नेपालको संसदीय प्रजातन्त्रमा सांसद् किनबेच, अपहरण, सुरासुन्दरी, प्राडोपजेरो लगायतका विकृतिका सूत्रधारका रूपमा चिनिन्छ । जसरी कुत्सित स्वार्थमा केपी ओलीले केही समयअघि प्रतिनिधि सभालाई मध्यरातमा शीतल निवासमा पुर्याएर यसको घाँटी रेटेका थिए, त्यसरी नै देउवाले पनि कुनै समय मध्यरातमा निरङ्कुश राजा ज्ञानेन्द्रलाई संसद् बुझाएका थिए । त्यसैले उनका थाप्लामा अहिले पनि मध्यरातमा दरबारमा प्रजातन्त्र बुझाएको कलङ्क छ ।

देउवालाई अनेकन् आरोप र कलङ्क सँगसँगै ती सबै दागलाई धुनसक्ने स्वर्णिम अवसर पनि छ । प्रधानमन्त्रीका रूपमा उनले देशलाई सुशासनमात्र दिए भने उनको जयजयकार हुनेछ । नेपाली काङ्ग्रेसका शीर्षस्थ नेताहरू आफ्नो जीवनको उत्तराद्र्धमा अत्यन्त लोकप्रिय भएको उदाहरण छ । बीपीले २०३३ सालदेखि यता दिएका चिन्तन, दर्शन र सिद्धान्तले काङ्ग्रेसलाई हालसम्म जीवन्त बनाएका छन् । गणेशमानजीले २०४६ मा जनआन्दोलनको, गिरिजाप्रसादले शान्ति प्रक्रियाको र सुशील कोइरालाले संविधान निर्माणको नेतृत्व गरेर आफ्नो लोकप्रियतालाई उत्कर्षमा पु¥याए । त्यस्तै दुर्लभ अवसर यति बेला देउवालाई उपलब्ध छ । उनले संविधानको सकारात्मक र नैतिक कार्यान्वयनका लागि आफ्नो सम्पूर्ण तागत लगाइदिए भने उनी वास्तवमै महान् हुनेछन् ।

मङ्गलबार, ०५ साउन, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर