विराटनगर । पछिल्लो समय प्राविधिक गडबडी र मर्मत सम्भारको नाम दिएर विराटनगरसहित आसपासका स्थानीय तहहरुमा हुने ‘अघोषित लोडसेडिङ’ ले स्थानीय आक्रान्त बनेका छन् ।
बिना कुनै पुर्व जानकारी घण्टौंसम्म विद्युत अवरुद्ध हुँदा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा उनीहरु मारमा परेका हुन् । महिना दिनयता नियमित विद्युत अवरुद्ध हुँदा अनलाईन प्रविधिमा आधारित विद्यार्थीहरुको पठनपाठन प्रभावित बनेको छ । यसका साथै स्थानीयको व्यापार व्यावसाय पनि संकटमा पर्दै गएको छ । दिनहुँ ६ देखि ७ पटकसम्म झ्याप्प–झ्याप्प लाईन जाने आउने हुँदा सञ्चालनमा रहेका विभिन्न विद्युतीय उपकरण र फ्रिज राखिएका खानेकुरा समेत बिग्रने गरेको स्थानीयको गुनासो छ । विराटनगर–५ का राजन राईले भन्छन, ‘मेरो चियानास्ताको पसल छ । अधिकांश खानेकुराहरु फ्रिजमै राखिएका हुन्छन,’ उनले भने, ‘तर दिनभरि पटकपटक बत्ती जान्छ । एकपटक बत्ती गएपछि घन्टौं आउँदैन् । दिनहुँ फ्रिजमा राखिएका खानेकुरा बिग्रन्छन् ।’
नेपाल विद्यूत प्र्राधिकरणले मुलुक लोडसेडिङ मुक्त भएको दलिल पेश गरिरहँदा विराटनगरको अवस्थाले भने त्यसलाई गिज्याईरहेको छ । दिनहुँ ७ देखि ८ पटकसम्मको विद्युत कटौतीबाट आजित भएका स्थानीय प्राधिकरणको सेवाप्रति आक्रोश व्यक्त गर्छन् । गर्मीयामको सुरुवात सँगै वैकल्पिक उर्जाको श्रोतका रुपमा रहेका जेनेरेटर, ब्याट्री, इन्र्भट्रर तथा सोलार लगायतका उपकरणको बिक्री बढाउन विद्युत प्राधिकरणसँगकै मिलेमत्तोमा नियमित विद्युत कटौती हुने गरेको उनीहरुको आशङ्का छ । ट्रान्सफर्मर पडकिएको, तार चुडिएको र सर्ट सर्किट भएको भन्दै नियमित हुने विद्युत कटौतीले दैनिकीसँगै व्यापार व्यावसाय सञ्चालन गर्न समेत कठिन हुँदै गएको विराटनगर–८ का डेरी पसल सञ्चालक मदन निरौलाले बताए । ‘अचेल नियमित विद्युत कटौती हुन थालेको छ । विभिन्न बहानामा दैनिक घण्टौं विद्युत काटिन्छ,’ उनले भने, ‘हाम्रो डेरी पसल छ । तर विद्युतको अभावमा फ्रिज नचल्दा दैनिक बिक्री नभएका २०/२५ लिटर दुघ खेर फाल्नुपर्ने अवस्था छ ।’
नियमित विद्युत आपुर्तिको अभावका कारण सर्वसाधारण मात्र नभई उद्योगी व्यापारीहरु समेत आजित भएका छन् । नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले विराटनगरका साथै जहदा, कटहरी, ग्रामथान र बुढीगङ्गा गाउँपालिकामा समेत ९५ मेगावाट विद्युत आपुर्ति गर्दै आएको छ । तर नियमित विद्युत आपुर्तिको अभावमा यस क्षेत्रमा सञ्चालित सानाठुला गरि करिब दर्जन बढी उद्योगहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । पटकपटक लाईने जाने कारणले गर्दा उद्योगको कच्चा पदार्थ नष्ट हुनुका साथै उत्पादन लागत बढन गएर उद्योग नै धराशायी बन्ने अवस्थामा पुगेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा बताउँछन् । उनी भन्छन, ‘लाईन गएपछि घण्टौसम्म नआउँदा उद्योगहरुले क्षमता अनुसारको उत्पादन दिन सकिरहेका छैनन । उल्टैै उत्पादन लागत बढेको छ । हामीलाई पुरानै अवस्था पुनः दोहोरिन पो लागेको हो कि भन्ने बिषयले चिन्तित बनाएको छ ।’
विद्युत प्राधिकरणको अव्यवस्थित विद्युुत वितरण प्रणालीका कारण विराटनगर लगायतका स्थानीय तहहरुले अघोषित लोडसेडिङको मार खेप्नुपरेको स्थानीयको भनाई छ । गर्मीयाममा पङ्खा, एसी र कुलर लगायतका विद्युतीय उपकरणहरुको प्रयोग तुलनात्मक रुपमा बढी हुने हुँदा प्राधिकरणले आफ्नो वितरण प्रणालीलाई व्यवस्थित बनाउनु अत्यन्तै आवश्यक देखिएको उनीहरुको तर्क छ । विद्युत प्राधिकरणको उत्पादन राम्रो भएपनि वितरण प्रणाली दुरुस्त नहुँदा आम नागरिकले अघोषित लोडसेडिङको मार खेप्नुपरेको उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयेश प्याकुरेलले बताए ।
‘विराटनगर वितरण केन्द्रको वितरण प्रणाली राम्रो छैन । गर्मीयाममा घरेलु लोड पनि बढ्ने भएकाले प्राधिकरणले आफ्नो उपकरणहरु दुरुस्त अवस्थामा राख्नुपर्छ,’ उनले भने, ‘गर्मीमा हिट कन्डक्टरहरु बढी तातिएर काम गर्न छोडछ । त्यसलाई परिवर्तन गर्नुप¥यो । त्यसको क्षमता अभिवृद्धि गर्नुभयो । पुरानै ट्रान्सफर्मर, पुरानै केवलले सधैंभरि साथ दिँदैनन् ।’
नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रले रानी, टङ्कीसिनवारी, बाँसबारी तथा कटहरी सब–स्टेशन मार्फत मोरङका ५ स्थानीय तहहरुलाई विद्युत आपुर्ति गर्दै आएको छ । तर सबैभन्दा बढी बुढीगङ्गाको टङ्की सब–स्टेशनमा समस्या देखिएर विद्युत कटौती हुने गरेको स्थानीयको दाबी छ । लाईन गएर विराटनगर वितरण केन्द्रमा सोधपुछ गर्दा सधैं टङ्की सब–स्टेशनमा समस्या भएको छ भनेर जवाफ आउने गरेको विराटनगर–२ का बिबेक मण्डलले बताए ।
‘असार २८ गतेदेखि साउन २ गतेसम्म हाम्रो एरियामा नियमित विद्युत काटिने गरेको छ । शुक्रबार पनि करिब ८ बजे आधा घण्टासम्म बत्ती नआउँदा सोधपुछका लागि वितरण केन्द्र पुगेका थियौं,’ उनले भने, ‘तर त्यहाँ कार्यरत कर्मचारी बिष्णु बास्तोलाले टङ्कीमा बिग्रेको छ, आधा घण्टामा आउँछ भनेर फर्काइदिए । तर लाईन भने १ घण्टापछि मात्र आयो ।’
अघोषित लोडसेडिङ्गका कारण सर्वसाधारणले सास्ती पाईरहँदा नेपाल प्राधिकरणको विराटनगर वितरण केन्द्रले भने विद्युत आपुर्ति सहज ढङ्गले भईरहेको दाबी गर्दै आएको छ । दैनिक विद्युत कटौती हुने कुरामा सत्यता नरहेको प्राधिकरणको तर्क छ । असार २१ गतेदेखि ३० गतेसम्म ३३÷११ के.भी टङ्की सब–स्टेशनमा नयाँ बे्रक्रर जडान कार्य जारी रहेकाले विराटनगरको विभिन्न भागमा निश्चित समयका लागि विद्युत अवरुद्ध भएको विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहिवारले बताए । तर ब्रेक्रर जडानको कार्य सम्पन्न भईसकेकाले अबको दिनमा ग्राहकवर्गले त्यसप्रकारको समस्या झेल्नुनपर्ने उनको भनाई छ ।
प्राधिकरणको विराटनगर वितरण केन्द्रले भने पछिल्लो १० दिनमा १० वटा पुरानो बे्रक्रर फेरेको जनाएको छ । सब–स्टेशनका ब्रेक्ररहरु नयाँ भईसकेको हुनाले अब विद्युत कटौती नहुने प्राधिकरणको दाबी छ ।