उदाहरणीय बनेको अमरसिंह मावि

विराटनगर । चुस्त व्यवस्थापन, प्रविधिमैत्री शिक्षण सिकाई पद्धति र सुविधासम्पन्न भौतिक संरचना लगायतका उपाय लगाएपछि पछिल्लो समय सामुदायिक विद्यालयहरु विद्यार्थीलाई आकर्षित गर्न सफल हुँदै गएका छन् ।

सामुदायिक विद्यालयहरु निजीको सक्षम प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुँदा विद्यालयको गिरेको साख पनि उठ्दै गएको छ । गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय नै रोज्नुपर्ने बाध्यतात्मक परिस्थितिको अन्त्य हुँदा सामुदायिक विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण पनि बढ्न थालेको हो । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित वडा नं. ५ मा रहेको श्री अमरसिंह मा.वि. त्यसको जीवन्त उदाहरण हो ।

प्रविधियुक्त भौैतिक संरचना र डिजिटल प्रणालीमा आधारित पठनपाठन प्रणालीको विकासले देवानगञ्जको अमरसिंह मा.वि पछिल्लो समय प्रदेश १ कै नमुना विद्यालयको रुपमा परिणत हुँदै गएको छ । ‘गुणस्तरीय शिक्षा आजकोे आवश्यकता’ भन्ने लक्ष्यका साथ अघि बढेको यो विद्यालय पछिल्लो समय निजी विद्यालयकै स्तरमा उक्लिएको छ ।

वि.सं. २००७ सालमा स्थापना भई २०३४ सालदेखि निम्न माध्यमिक र २०४६ सालदेखि माध्यमिक तहसम्मको अध्ययन अध्यापन सुरु गरेकोे विद्यालयले २०६७ सालदेखि ‘प्लस टु’ तहको पठनपाठन सुरु गरेको छ । २०६७ सालमा शिक्षाशास्त्रबाट ११/१२ को पठनपाठन सुरु गरेको विद्यालयले २०७३ सालबाट प्राविधिक शिक्षाको थालनीसँगै भेटेरिनरी तथा पशुुपालन बिषय भित्र्याएको छ ।

कोभिड–१९ कारण देशभरिका शैक्षिक संस्थाहरु बन्द भएका कारण पठनपाठन स्थगित भएपनि वैकल्पिक विधि प्रयोग गरिएको विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव गुप्ताले बताए । प्राविधिक विषयको पठनपाठन सुरु भएसँगै विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण र चाप बढ्न थालेको उनको भनाइ छ ।

वि.सं. २०७२ सालमा विद्यालयमा करिब ४ सय विद्यार्थीहरु मात्र थिए । तर, २०७३ सालदेखि भेटेरिनरी तथा पशुपालन विषयको पठनपाठन सुरु गरेसँगै विद्यार्थीहरुको चाप एक्कासी बढेको हो । हाल हाम्रो विद्यालयमा कुल ८ सय ७५ जना विद्यार्थीहरु छन् ।

अहिले प्रदेश १ को मोरङ, सुनसरी, झापा, ओखलढुङ्गा, दाङ र संखुवासभासम्मका विद्यार्थीहरु अमरसिंह मा.वि.मा अध्ययनरत छन् । बाहिरबाट आउने विद्यार्थीहरुका लागि विद्यालयले सुलभ छात्राबासको व्यवस्था समेत गरेको छ ।

भेटेरिनरी तथा पशुपालन बिषयको अध्ययन अध्यापनका लागि विद्यालयले विद्यालय नजिकै डेढ विगाहा क्षेत्रफलमा बङ्गुर, बाख्रा, कुखुरा तथा हाँस पालनको तयारी गर्दैछ । यसले विद्यार्थीहरुको शिक्षण सिकाईमा महत्वपुर्ण भुमिका खेल्ने विद्यालयको विश्वास छ ।

अत्याधुनिक डिजिटल कक्षाकोठा, बहुद्देश्यीय हल, प्रशोधित शुद्ध खानेपानी, अत्याधुनिक बिषयगत प्रयोगशाला, लाईब्रेरी, कम्प्युटर ल्याब, खेलमैदान, मन्दिर र सुरक्षित पार्किङ स्थल विद्यालयका प्रमुख विशेषता हुन् । ५ वर्ष अघिसम्म जीर्ण अवस्थामा रहेको सो विद्यालयको विकासमा देवानगञ्ज गाउँपालिको ठूलो सहयोग रहेको विद्यालयका प्रधानाध्यापक गुप्ताको भनाइ छ ।

विद्यालयको स्तरोन्नति र विकासका लागि गाउँपालिकाकै कुल १ करोड १७ लाख लाख रुँपैयाको बजेटले विद्यालयको भवन तथा कम्पाउण्ड वाल निर्माणको कार्य सम्पन्न भएको छ । हालसालै ७ लाख रुपैयाँको लागतमा गाउँपालिकाले विद्यालयमा शुद्ध खानेपानीको प्लान्टसमेत जडान गरिदिएको छ ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्र, स्थानीय सरोकारवाला र गाउँपालिको भरपुर सहयोगले विद्यालयमा आमुल परिवर्तन सम्भव भएको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत चुडामणि गुराँगाईले बताए । अझ पनि ग्रामीण भेगका अधिकांश विद्यार्थीहरु शिक्षाबाट बञ्चित रहेकाले उनीहरुलाई पनि गुणस्तरीय शिक्षाको मुलधारमा ल्याउनु गाउँपालिकाको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।

ईच्छाशक्ति भए गर्न सकिँदो रहेछ भन्ने बिषयको प्रत्यक्ष उदाहरण हो, देवानगञ्जको अमरसिंह मा.वि । प्रदेश १ मा अरु पनि थुप्रै विद्यालयहरु छन्, जसप्रति हालसम्म तीनै तहको सरकारकोे ध्यान पुग्न सकेको छैन् । त्यस्ता विद्यालयहरुलाई पनि गुुणस्तरीय शिक्षाको मुलधारमा सहभागी गराउनु अत्यन्तै आवश्यक देखिन्छ ।

शुक्रबार, ०१ साउन, २०७८, बिहानको १०:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर