तालिवानको फर्मान : महिलाहरू पुरुषबिना बजार नजानू, पुरुषले दाह्री नकाट्नू, हतियारसहित प्रतिकारमा उत्रिए महिलाहरू

एजेन्सी । अफागानिस्तानमा मुस्लिम कट्टरपन्थी विद्रोही समूह तालिवानले आफ्नो नियन्त्रण क्षेत्र बढाउँदै गएको छ।

अमेरिका र अन्य नाटो मुलुकका सैनिकहरू फर्किने अन्तिम तयारीमा रहेका बेला तालिवानले प्रभाव बढाउँदै लगेको हो। बुधबारमात्रै तालिवानहरूले पाकिस्तानसँग आउजाउ हुने महत्वपूर्ण नाका कब्जामा लिएको दाबी गरेका छन्। योसँगै तालिवानहरूले आफूले कब्जामा लिएका क्षेत्रमा सर्वसाधारणका लागि फर्मान जारी गर्न थालेका छन्।

केही समयअघि तालिवानले नियन्त्रणमा लिएको उत्तरी अफगानिस्तानको कालाफगान जिल्लामा उनीहरूले महिलाहरूलाई पुरुष आफन्तबिना बजार नजान र पुरुषहरूलाई दाह्री नकाट्न फर्मान जारी गरेका छन्।

स्थानीय इमामहरूलाई पत्र पठाएर यो नियमको पालना नगर्नेले कडा सजाय भोग्नु पर्ने चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ। तालिवानहरूले मानिसहरूलाई धुमपान पनि निषेध गरेका छन्।

गत महिना तालिवानहरूले ताजिकिस्तानसँग जोड्ने भन्सार कब्जामा लिएका थिए। त्यसपछि उनीहरूले महिलालाई घरबाट बाहिर ननिस्कन आदेश दिएका थिए।

तालिवानहरूले सन् १९९६ देखि २००१ सम्म कुरानको ब्याख्याअनुसार अफगानिस्तानमा शासन गरेका थिए। उनीहरूको शासनकालमा पुरुष आफन्तबिना महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको थियो, बालिकाहरू स्कुल जान पाउँदैन थिए। अनैतिक क्रियाकलापमा दोषी ठहर भएकालाई ढुंगाले हानेर मारिन्थ्यो।

पुरुषहरूलाई केही स्वतन्त्रता भए पनि उनीहरूलाई दाह्री काट्न बन्देज थियो भने परम्परागत पहिरन लगाउनु पर्थ्यो। प्रार्थनामा सहभागी नभए कारबाही हुन्थ्यो।

अफगानिस्तानका झन्डै एक तिहाइ बढी जिल्ला कब्जा गरेका तालिवानहरूले सरकारी सैनिकहरूलाई आत्मसमर्पण गर्न भनेका छन्। आफूहरूले सहरी क्षेत्रमा लडाइँ नचाहेकाले सैनिकहरूलाई आत्मसमर्पण गर्न भनिएको उनीहरूले बताएका छन्।

अमेरिकाले दोभाषेको उद्धार गर्ने

यसैबीच संयुक्त राज्य अमेरिकाले सन् २००१ देखि अहिलेसम्म आफूलाई सहयोग गर्ने अफगानी दोभाषेहरूको उद्धार गर्ने भएको छ। हजारौंको संख्यामा रहेका उनीहरूलाई जुलाई अन्तिमदेखि हवाई उद्धार गरी भिसा प्रक्रिया पूरा नभएसम्म अमेरिकाका सैनिक क्याम्पमा राख्ने तयारी भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

तालिवानविरूद्ध हतियार बोकेर सडकमा निस्किए अफगान महिला

अफगानिस्तानको उत्तरी तथा मध्य भागका महिलाहरू विद्रोही तालिवान समूहविरूद्ध हतियार बोकेर सडकमा निस्किएका छन्।

अमेरिकी र नाटो सैनिकहरू फिर्ता भएपछि पछिल्लो समय तालिवानले अफगानिस्तानका झन्डै एक तिहाइ जिल्लालाई नियन्त्रणमा लिएका छन्।

कट्टरपन्थी तालिवानविरूद्ध सयौं महिलाहरू राइफल बोकेर सडकमा निस्किएका हुन्। उनीहरूले हतियारसहितका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। सडकमा उनीहरूले हतियार देखाउँदै तालिवानविरोधी नाराहरू पनि लगाएका छन्।

सडकमा निस्किएका महिलाहरूसँग देशव्यापी रूपमा तालिवानविरूद्ध अग्रपंक्तिमा गएर लड्न सक्ने अनुभव त छैन तर उनीहरूको प्रदर्शनले तालिवानको सम्भावित शासनबारे उनीहरू कति त्रसित छन् भन्ने देखाउँछ।

‘केही महिलाहरू सुरक्षाकर्मीलाई हौसला दिन प्रतिकात्मक रूपमा हतियार बोकेर सडकमा निस्किएका हुन् तर धेरै महिलाहरू त युद्ध मैदानमै जान तयार छन्,’ घोर प्रान्तमा महिला प्रदर्शनको नेतृत्व गरेका हालिमा पारास्तिसले भनेकी छन्, ‘युद्ध मैदानमा जानेमध्ये म पनि हुँ। हामीले यसअघि नै यहाँको गभर्नरलाई हामी लड्न तयार छौं भनेर जानकारी गराइसकेका छौं।’

अफगानिस्तानमा महिलाहरू यसरी हतियार बोकेर सडकमा निस्कने घटना बिरलै हुन्छन्। समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्।

उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए।

भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ। २० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ। यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो। अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।

कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन्। केही ठाउँमा त तालिवानी लडाकुहरूले सुरक्षाकर्मीलाई घरसम्म जान पैसा दिएको भिडिओ पनि सार्वजनिक भएका छन्। यसले सुरक्षाकर्मीलाई ज्यान जोखिममा नराखिकनै जागिर छोड्न सकिने आत्मविश्वास दिएको छ।

उत्तरी प्रान्त बादखसानका प्रदेश काउन्सिल सदस्य मोहिब उल रहमानले महत्वपूर्ण सामानको अभावमा खटिएका सुरक्षाकर्मीको कमजोर आत्मबलका कारण पनि तालबानीहरूलाई सजिलो भएको बताएका छन्।

‘दुर्भाग्यवश, धेरैजसो जिल्लाहरू बिनालडाइँ तालिवानलाई छोडिएको छ,’ रहमानले एपीसँग भने। तालिवानहरूले अहिलेसम्म कुनै प्रान्तीय राजधानी भने नियन्त्रणमा लिएका छैनन्। तर जसरी उनीहरू अघि बढिरहेका छन् त्यसले छिटै बादखसानको राजधानी नियन्त्रणमा लिन सक्ने सम्भावना छ। ट्विन टावरमा आक्रमण भएपछि सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैनिक पठाएको थियो। तालिवानहरूलाई अपदस्त गरी आफूअनुकूलको सरकार बनाएको अमेरिकाले दुई दशकपछि अफगानिस्तानको भविष्य अन्यौलमा राखेर सैनिक फिर्ता लैजान लागेको हो।

बिहिबार, ३१ असार, २०७८, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर