लोड हुँदैछ...

मेनु

वैकल्पिक सिंचाइ सुविधाले बाँझो जमिनमा धान फल्यो तर बिक्री भएन

वैकल्पिक सिंचाइ सुविधाले बाँझो जमिनमा धान फल्यो तर बिक्री भएन

वैकल्पिक सिंचाइ सुविधा र विद्युत् सेवामा आएको निरन्तरताका कारण मोरङका रतुवामाई नगरपालिकाका प्रायः सबै वडाका सयौं बिगाह जमिनमा वर्षेधान लगाउन थालिएको छ ।

माघ महिनाको मध्यदेखि फागुन महिनाको अन्तिमसातासम्म वर्षेधान लगाइन्छ । वर्षेधान जेठको पहिलो सातादेखि पाक्न सुरु गर्दछ । धान अहिले पाकेर खेत खेतमा पाहेंलपुर भएको छ। लगातारको वर्षाका कारण धान भण्डारणमा भने समस्या देखिएको छ ।

अत्याधिक वर्षाका कारण धान खेतमै कुहीएर नस्ट हुने अवस्थामा पुगेको छ भने उत्पादन भएको धान कुनै पनि व्यापारिले खरिद गर्न नमानेको किसान बताउँछन् । जसका कारण किसान चिन्तित छन्। लकडाउनलाई मुख्य कारण देखाउँदै मिलहरूले धान लिन नमानेको भन्दै स्थानीय व्यापारी पन्छिने गरेका छन् ।

किसानले आफ्ना पीडा रतुवामाईका नगर प्रमुख रविन राईलाई समेत जानकारी गराएका छन्। प्रमुख राईले भने यथार्थ बुझेर समस्या समाधानमा लाग्ने आश्वासन दिएको स्थानीय किसानले बताए ।

अझै केहि दिन धान काट्न नसकिए खेतमै धान कुहने पक्का छ । देशमा तीन तहका सरकार हुँदा पनि किसानका समस्या सँधै ज्यूँकात्यूँ हुनु दुर्भाग्य हो । कृषिलाई प्रोत्साहन गर्नका लागि भन्दै विभिन्न निकायबाट वर्षेनी ठूलो रकम आए पनि उक्त रकम कृषक कहाँ पुग्दैन । ठूलो लगानी लाग्ने धान खेतीका लागि चाहिने बीउ, मल, पानी तथा उपकरण सहजरुपमा पाइँदैनन् । विभिन्न समस्याबीच उत्पादित खाद्यान्नलगायतका वस्तुले उचित मूल्य नपाउनु झनै ठूलो दुर्भाग्य हो । यसरी प्रत्येक पटक किसान मारमा पर्दा पनि सरकार उदासिन हुँदा यो पेसाबाटै किसान विस्थापित हुने अवस्थामा छन् ।

अहिले उत्पादन भएको धान बिक्री गरेर बर्खेधान लगाउन कृषकले खर्चको जोहो गर्ने गरेका छन् । धान भण्डारण र बिक्रीमै समस्या देखिपछि अधिकांश किसान निरास भएका छन्। राज्यको फितलो र अपारदर्शी नीतिकाकारण हरेक साल किसान मर्कामा पर्दै आइरहेका छन् । मल, बीउ, सिंचाइ र बजारीकरणमा सहजता भएको खण्डमा मात्रै यस पेसाबाट मनग्गे फाइदा लिन सकिन्छ । यसका लागि राज्यले ठोस नीति नियम र प्रोत्साहन मुखी कार्यक्रम ल्याउन जरुरी छ।

खुला सिमानाको फाइदा उठाउँदै ठूला व्यापारीहरुले सस्तो मूल्यमा भारतबाट प्रसस्त धान तथा चामल भित्र्याउने गरेका कारण पनि यहाँ उत्पादित धानले उचित मूल्य नपाएको स्थानीय किसानको गुनासो छ। तत्कालै यो क्रमलाई स्थानीय सरकारले नियन्त्रण गर्न आवश्यक छ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

murari poudel
May 31, 2021 6:47 PM

सम्बन्धित निकायले ध्यान पुर्याओस्

May 31, 2021 7:09 PM

राम्रो समचार।किसानको समस्या उजागार।

प्रतिक्रियाहरू बन्द छन्।