एलिना दियाली
पथरी । मोरङमा ५५ हजार ५ सय हेक्टर जमिन सामुदायिक वन क्षेत्रले ओगटेको छ । त्यसमध्ये पथरीशनिश्चरे नगरपालिकासँग सरोकार राख्ने सामुदायिक वनको क्षेत्रफल १ हजार ६ सय ६१ दशमलव ५५ हेक्टर रहेको छ । पथरीशनिश्चरे नगपालिकाको कूल ७९ दशमलव ८१ वर्गकिलोमिटर क्षेत्रफलमध्ये १५ प्रतिशत जमिन गैह्रकृषि क्षेत्र मानिन्छ । यहीँ कृषिइतरका पर्यापर्यटकीय गतिविधि बढ्दो अवस्थामा छ । नगरमा रहेका विभिन्न प्रकारका सामुदायिक वन क्षेत्रको सहारामा बढ्दै गरेको पर्यटकीय गतिविधिको मूल आधार सिमसार क्षेत्र नै बनेका छन् ।
पथरीशनिश्चरेमा रहेका वनहरू
मोरङ जिल्लामा रहेका १ सय ३५ ओटा सामुदायिक वनमध्ये यस पथरीशनिश्चरे नगरपालिकाभित्र १३ ओटा रहेका छन् । ती वन उपभोक्ता समूहहरूमा चौतारी सामुदायिक वन, सुन्दर सामुदायिक वन, हरियाली सामुदायिक वन, शान्ति सामुदायिक वन, मनकामना सामुदायिक वन, डाँस मोरङ्गी सामुदायिक वन, भुल्के सामुदायिक वन, पशुपति सामुदायिक वन, सीता छधारे सामुदायिक वन, महिला जागृति सामुदायिक वन, विशाल सामुदायिक वन (प्रस्तावित), शिवालय मन्दिर धार्मिक वन र सृजङ्गा स्मृति धार्मिक वन हुन् । २०७५ सालमा सामुदायिक वन उपभोक्ता महासंघ अन्तर्गत पथरीशनिश्चरे सामुदायिक वन महासंघ गठन भई हाल रवीन्द्र राईको अध्यक्षतामा सामुदायिक वन क्षेत्रमा काम गर्दै आइरहेको छ । अध्यक्ष राईका अनुसार १ हजार छ सय ६१ दशमलव ५५ हेक्टर क्षेत्रफलमध्ये चौतारी सामुदायिक वन १ सय १५ दशमलव १९ हेक्टरमा फैलिएको छ ।
यस वनबाट ६ सय ७२ घरका ३ हजार ३ सय ६० जनसङ्ख्या लाभान्वित भइरहेका छन् । त्यस्तै गरी ८९ दशमलव ११ हेक्टरमा फैलिएको सुन्दर सामुदायिक वनअन्तर्गत २ सय १७ घरका एक हजार १ सय ७३ जनसङ्ख्या, एक सय ७८ दशमलव ९२ हेक्टरमा फैलिएको शान्ति सामुदायिक वनअन्तर्गत एक हजार २ सय ६९ घरका ६ हजार ४ सय ८७ जनसङ्ख्या, त्यस्तै गरी ७१ दशमलव ५९ हेक्टरमा फैलिएको मनकामना सामुदायिक वनबाट २ सय १८ घरका एक हजार २ सय ३० जनसङ्ख्या, एक सय ९४ दशमलव शून्य दुई हेक्टरमा फैलिएको डाँस मोरङ्गी सामुदायिक वनबाट ३ सय ६३ घरका एक हजार ६ सय ३० जनसङ्ख्याले वन क्षेत्रबाट वन पैदावरको उपभोग गरिरहेका छन् ।
यता, एक सय ७० दशमलव शून्य नौ हेक्टरमा फैलिएको भुल्के पशुपति सामुदायिक वनबाट ३ सय ६५ घरका एक हजार ९ सय जनसङ्ख्या, २ सय ६४ दशमलव सात छ हेक्टरमा फैलिएको पशुपति सामुदायिक वनबाट ९ सय ४६ घरका ७ हजार ६ सय ५४ जनसङ्ख्या साथै एक सय २६ दशमलव ९३ हेक्टरमा फैलिएको सीता छधारे सामुदायिक वनबाट ५ सय ५२ घरका ४ हजार ५ सय ५० जनसङ्ख्या र १ सय ७६ हेक्टरमा फैलिएको महिला जागृति वनका ५ सय ३० घरका २ हजार छ सय पचास जनसङ्ख्या लाभान्वित भइरहेका छन् । देशकै उत्कृष्ट सामुदायिक वन बन्दै गणेशमान स्मृति पुरस्कार २०७६ बाट पुरस्कृत हरियाली सामुदायिक वन २ सय ४५ दशमलव ९४ हेक्टरमा फैलिएको छ ।
यस वनबाट एक हजार २८ घरका ३ हजार ९ सय ९१ जनसङ्ख्याले वन क्षेत्रबाट सेवा लिरहेका छन् । त्यसैगरी शिवालय मन्दिर धार्मिक सामुदायिक वन ८ हेक्टरमा, सृजङ्गा स्मृति धार्मिक सामुदायिक वन १३ हेक्टरमा र ८ हेक्टर क्षेत्रफलमा फैलिएको प्रस्तावित विशाल सामुदायिक वन पथरीशनिश्चरे नगरपालिकासँग सरोकार राख्ने सामुदायिक वनहरू हुन् ।
वन तथा सिमसारयुक्त पर्यटनको क्षेत्रमा नगरपालिका के गर्दै छ त ?
पथरीशनिश्चरे नगरकै भूगोल र नगरभित्रका मात्रै उपभोक्ता रहेका शान्ति सामुदायिक, मनकामना सामुदायिक, हरियाली सामुदायिक, चौतारी सामुदायिक, सुन्दर सामुदायिक, पशुपति सामुदायिक वन र सृजङ्गा स्मृति धार्मिक सामुदायिक वन गरी सातओटा वन रहेका छन् । पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिपकुमार राई नगरले सिमसारयुक्त पर्यटनको प्रचुर सम्भावना बोकेकाले सोहीअनुरूप आर्थिक वर्ष २०७५÷७६ बाट नगरपालिका र सामुदायिक वनबीचको साझेदारीमा विभिन्न प्रकारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘नगरपालिकाअन्तर्गत पर्ने शान्ति, मनकामना, चौतारी, सुन्दर र पशुपति सामुदायिक वन गरी छ ओटा वनमा पोखरी निर्माण गरेर माछा लाउने काम भएको छ ।’ नगरप्रमुख राईका अनुसार ती वनहरूमा १४ ओटा पोखरी निर्माण गरी माछा लगाउने काम भएको हो । यस सन्दर्भमा नगरले वन क्षेत्रको पूर्णतः अवलोकन गरी वनभित्रको पानीलाई सदुपयोग गर्दै आर्थिक लाभ लिन तत्कालीन अवस्थामा २५–३० वटा पोखरी निर्माण गरी माछा लाउने योजना नगरपालिका र सामुदायिक वन साझेदारी कार्यक्रममा समावेश गरेको हो । उक्त माछापालनबाट भएको कुल आम्दानीको १० प्रतिशत रकम नगरपालिकालाई दिने गरी नीतिगत कार्यक्रम बनाइएको छ । नगर प्रमुख राईका अनुसार नगरपालिकाको प्रस्ताव एवम समन्वयमा पर्यटन मन्त्रालयको २ करोड ७० लाख आर्थिक सहयोग र १ करोड ४६ लाख स्थानीयको सेयर रकम गरी कुल ४ करोड १६ लाखमा हरियाली सामुदायिक वनलाई सिमसार तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने काम भरहेको छ । यस कार्यक्रमअन्तर्गत हरियालीमा यसअघि नै नेपालको नक्सा आकारको पोखरी निर्माण गरिसकिएको छ भने अन्य थप चिल्ड्रेन पार्क, माछा पोखरी, पिकनिक स्पट, गार्डेन बनाउने योजना रहेको हरियाली सामुदायिक वनका अध्यक्ष काबुल मगरले बताउनु भयो । साथै, अध्यक्ष मगरले हरियालीलाई सिससार तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरी सो क्षेत्रबाट वार्षिकरूपमा ३ करोड रुपैयाँ आम्दानी गर्ने योजना रहेको बताउनु भयो । प्राकृतिक पर्यावरणको संरक्षणसँगै युवाहरूलाई रोजगारी दिँदै विदेश पलायन हुनबाट रोक्ने योजना पनि हरियालीको रहेको छ । त्यस्तै गरी सेल्फी रोडको रूपमा चर्चामा रहेको पथरीशनिश्चरे नगरपालिकाअन्तर्गत चौतारी सामुदायिक वनमा पर्ने उक्त रोडको पश्चिम दिशामा पर्यटकीय आकर्षणको रूपमा विकास गर्न ८० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणको लागि सर्भेको काम भइसकेको र आउदो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासमेत रहेको नगर प्रमुख राईले बताउनु भयो ।
हाल सिमसार क्षेत्रको रूपमा विकास भई सञ्चालनमा आएका वनहरू
पथरीशनिश्चरे नगरपालिकामा हालसम्म सिमसार क्षेत्रको रूपमा विकास भई पर्यटकको आवागमन भइरहेका वनहरूमा मनकामना र शान्ति सामुदायिक वन पर्दछन् । शान्ति सामुदायिक वनमा चिल्ड्रेन पार्कसहित माछा पोखरी, बोटिङको मज्जा लिन चाहनेको लागि बोटिङ सेवा साथै पिकनिक स्पटको निर्माण गरी भुल्के सिमसारको रूपमा सञ्चालनमा रहेको छ । त्यस्तै गरी मनकामना सामुदायिक वनमा माछापोखरीसहित प्राकृतिक दृश्यको अवलोकन गर्दै वनभित्रै खाजाको सुविधा व्यवस्था गरिएको छ । यहाँ टिकटक बनाउनेहरूको घुइँचो लाग्ने गर्दछ । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्न यस वनभित्र वनको आफ्नै लागतमा १५ लाख रुपैयाँ बराबरको ट्रि हाउस निर्माण कार्य अन्तिम चरणमा पुगेको सो वनका अध्यक्ष दिनेश राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वनको आफ्नै वनपैदावर बिक्रीबाट भएको आम्दानीमध्येको १५ लाख रुपैयाँमा ट्रि हाउस बनाउँदै छौँ । अहिले कोभिडले गरेर काम रोकिएको छ । अब रङ र रोगनको काम मात्रै बाँकी रहेकाले परिस्थिति सहज बन्ने बित्तिकै पूरा गर्ने छौं ।’
त्यस्तै गरी चौतारी सामुदायिक वनस्थित सेल्फी रोडको रूपमा चर्चामा रहेको सेल्फी रोडमा प्राकृतिक सुन्दर दृश्यको अवलोकन गर्दै बिशेष गरी टिकटक बनाउनेहरूको घुँइचो लाग्ने गर्दछ । यस रोडको आसपासमा जातीय पोसाक, घोडा साथै रथमा यात्रा गर्दै प्राकृतिक मनोरम दृश्यको आस्वादन गर्दै बिदा मनाउन, तस्वीर लिन र भिडियो बनाउन आउनेहरुको सङ्ख्या बढ्दो छ । विवाहपछिको फोटो सुटका लागि पनि नव दम्पत्तीका लागि सेल्फी रोड प्रियः गन्तव्य बन्दै गएको छ ।
जैविक विविधतामा पथरीशनिश्चरे
पथरीशनिश्चरे नगरभित्रका वनजङ्गलमा विभिन्न प्रकारका जीव, वनस्पति तथा जडीबुटी पाइने गरेको छ । यहाँका वनमा मूलतः हर्रो, बर्रो, सर्पगन्धा, कुरिलो, गुर्जोलगायतका औषधिनज्य जडीबुटी एवम् वनस्पति पाइन्छन् । त्यस्तै गरी साल, बोट धँगेरो, अस्मा, जमुना, क्यामुना, चिलाउने, कट्टुस लगायतका वनस्पतिमा पनि नगर धनी छ । मृग, हरिण, बँदेल, स्याल, खरायो, दुम्सी, लुँइचे, भ्याकुरा, सिम कुखुरा, वन कुखुरा (कालिज), घुम्ने हात्ती, न्याउरी मुसा, बनढाडे लगायतका अमूल्य वन्यजन्तुहरू यहाँका आकर्षण हुन् । यिनीहरूको सही संरक्षण एवम सम्बद्र्धन गर्न सके जैविक विविधता कायम हुनका साथै लाखौंँको आम्दानी गर्न सकिने सरोकारवालाहरूको दावी छ ।
अतः कोभिड १९को महामारीलगत्तै नगरको संयोजन र सहयोगमा पर्यापर्यटनको वृद्धिका लागि सुरु गरेका कामलाई तीब्रताका साथ निरन्तरता दिने हो भने पथरीशनिश्चरे नगर पूर्वमै पर्यटन आकर्षणको प्रमुख केन्द्र बन्ने निश्चितप्रायः छ ।