गणेश लम्साल
दोस्रो चरणमा झन बौरिएर फैलिरहेको महाकाल कोरोना भाइरस नियन्त्रण गर्न देशमा फेरि निषेधाज्ञा लागू हुन थालेको छ । पहिले तेस्रो देशहरुमा भइरहेको कोरोना महामारीको रुप अहिले हाम्रो सबैभन्दा नजिकको छिमेकी भारतमा नरसंहार मच्याएर रमाइरहेको छ । अर्थतन्त्रमा बलियो मानिएको भारतजस्तो शक्तिशाली देश अहिले कोरोनाबाट आफू र आफना जनतालाई जोगाउन विश्वसामु हारगुहार गर्दैछ । भारतमा संक्रमितहरुले उपचार नपाएर, औषधी र अक्सिजनको चरम अभाव झेल्दै जीवन बचाउन हारगुहार गरिरहेका छन् । शव जलाउन घाटहरुको चरम अभाव भएका समाचार छन् । जताततै रुवावासीबाहेक केही छैन । सधै अर्काको अलोचना गरेर रमाउने मोदी पक्षीय भारतीय सञ्चार माध्यहरु पनि अहिले कोरोनाबाट जोगिन भगवानको पुकारा गरिरहेका छन् । कारुणीक र दर्दनाक दृश्यहरु देखाउँदै भगवानसँग बिलौना गरिरहेका छन्, ‘देशका शासकले हामीलाई अब रक्षा गर्न सक्दैन, हे भगवान ! अब तिम्रो मात्र सहारा छ, कहाँ छौं तिमी ? चाँडो आउ हामीलाई बचाउ !’
भनिन्छ, छिमेकमा लागेको आगोबाट सर्तक भइएन भने चाँडै आफ्नो पनि पालो आउँछ । नभन्दै हामीले अझै सर्तकता अपनाउन सकेनौं भने हाम्रो देशमा पनि भारतको जस्तै कारोना महाविनाशको महासंकट आउने पक्कापक्की जस्तै छ । किनभने आफैंले नभोगी महशुस नगर्ने र आफैलाई नपरी केही गरि नचेत्ने हाम्रो बानीले यहि संकेत गर्नेगरेको छ । अहिले नेपालसँग सीमाना जोडिएका विहार, बंगाल र उत्तरप्रदेश राज्यमा पनि कोरोना महामारीको हाहाकार सुरु भइसकेको छ । र त्यो क्रमशः खुल्ला सिमानाको फाइदा उठाउँदै कतै उपचार, कतै रोजगारी अनि कतै रोटीबेटीको सम्बन्धको बहानामा दोस्रो पटक पनि कोरोना नेपाल प्रवेश गरिरहेको छ ।
हामीलाई ज्ञात छ, यो महामारीको बेला हाम्रो हाल खराब छ । फोहोरी राजनीति र अहंकार अनि अन्धविश्वास सस्तो छ हाम्रोमा । तर, दुरदर्शीता र जिम्मेवारीबोधको अभाव छ । यसैले पनि होला अरुबेला हाइहाई गर्ने देशका प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी फैलिएपछि अब उपचार गर्न सकिदैन भनेर नागरिकहरुसँग ‘बाईबाई’ गरिसकेका छन् । उनले कोरोना संक्रमण रोकथामको एक वर्षदेखि सिकेको अनुभवलाई व्यवहारमा उतार्न नै चाहेनन् । न त उनले सुबिधासम्पन्न अस्पताल बनाउन ध्यान दिए, न त चिकित्सकहरुलाई दक्ष बनाउन चासो । महामारी आएमा पूर्ण रुपले जुध्नका लागि कुनै पूर्वतयारी गर्न चाहेनन् । बरु दोस्रो चरणको संक्रमण बढ्न थालेपछि नक्कली अध्योध्या बनाउन चन्दन घसाएर हजारौंंको मेला लगाएर तुजुक देखाए । मान्छेको रक्षा गर्ने चिकित्सक, औषधी र अस्पतालले हैन, निर्जिव भगवानले हो भने झैं मन्दिरमा करोडौको गजुर चढाएर भ्रमपूर्ण सन्देश दिए । हतारहतारमा भीड जम्मा गरेर देखावटी जस लिन धरहरा उद्घाटन गरेर तुजुक देखाए । कोरोनाकालमा जनता महामारी भोगिरहेको बेला बहुमतप्राप्त ओली सरकारले तुजुक देखाउनुबाहेक अरु केही गर्न सकेन । वर्षौदेखि सञ्चालमा रहेका गौरवका आयोजनाहरु आफूले बनाएको भनेर प्रचार र आत्मरतिमा रमाइरह्यो । सरकारलाई समिक्षात्मक सुझाव दिनेहरुलाई शत्रु झैं व्यवहार गरेर लोपार्दै सन्तुष्टि लिइरहन मस्त रह्यो ।
भो ! असक्षम, अदुरर्शी र गैरजिम्मेबार सरकारको धेरै आलोचना गरेर समय खेर फाल्नुभन्दा अब यो महामारीबाट जोगिने उपाय हामी आफैले नै खोज्नुपर्छ । त्यो एकमात्र उपाय भनेको आत्मअनुशासनको पालना गर्नु हो । हामी आफैंले सकेसम्म संयमित बनेर अनुशासन पालना ग¥यौं भने हामी पक्कै पनि कोरोनासँग जुध्न सफल हुनेछौं । हैन, अटेर गरेर फेरि पनि हामीले ‘लातोंका भुत बातो से नमाने’ झैं ग¥यौं भने हामीले भारतमा भन्दा धेरै ठूलो महाविनाश भोग्नेछौं । छिमेकी देशमा सुनामी बनेर आइसकेको कोरोनाको नरसंहारी संक्रमणलाई छेक्ने उपाय पनि हाम्रो आत्मअनुशासन नै हो । यसैले यो बेला हामी सबैले कोरोना संक्रमण रोकथामलाई अर्जुनदृष्टि बनाउन आवश्यक छ । हामीलाई थाहा छ, हाम्रो देशको स्वास्थ्य अवस्था, कति छन् अस्पताल, कति छन् शैय्या, भेन्टिलेटर अनि आइसियुहरु र कति उत्पादन हुन्छन् अक्सिजन भनेर ?
हो ! आपतविपद्मा नागरिकको जीउधनको रक्षा गर्ने दायित्व सरकारको नै हो । तर, सरकार नै अब केही गर्न सकिदैन भन्दै मनोबल कमजोर बनाएर जिम्मेवारीबाट पन्छिएपछि हामी आफैंले सतर्क हुनुको विकल्प हुदैन । हामीले देख्यौं, मसला र जडिबुटी खाएर मात्र कोरोना संक्रमण रोकथाम हुदैन रहेछ । यसको उदाहरण चीनबाट हामीले थाहा पाइसकेका छौं । चीनले आफ्नो आत्मअनुसासनबाटै कारोना नियन्त्रण गरेर विश्वमा उदाहरण बन्न सफल भयो । तर, कोरोना केही होइन भन्दै अनुशासन पालना गर्न हेलचेक्र्याई गर्ने अमेरिका, इटाली, बेलायत र भारतजस्ता देशहरु सबैभन्दा ठूलो कहर भोग्न बाध्य भए । उनीहरु अनुशासन पालना गर्नुभन्दा हतारमा खोप बनाएर विश्वबजारमा नामी र दामी बन्ने दौडमा लागेका थिए । तर, खोपले मात्र पनि कोरोना नियन्त्रण गर्न संभव हुदोरहेनछ भन्ने पनि पुष्टि भयो । यसैले हामीले पनि विश्वबाट पाठ सिकौं र कोरोना रोकथाममा अनुशासनको पालना गरौं । हुन त भोको पेटको अगाडि नैतिकताको बखान गर्नु ‘पाप पुराण’ लगाएर सरह हो । तर कल्पना भन्दा पनि अत्यासलाग्दो वास्तविकता हुने भएकोले अनुशासनबाहेक हाम्रो अर्को विकल्प छैन ।
बिचार गरौं, विरालोले बाटो काट्दा हच्किएर सतर्क हुने हामी नेपालीहरु कोरोनाको सुनामी आइसक्दा पनि अझै किन सतर्क भइरहेका छैनौं ? ख्याल गरौं, ज्वालामुखीको काम बिस्फोट हुनु हो । हामीले रोकथाम र नियन्त्रणका लागि अनुशासन पालना गरेनौं भने कोरोना सुनामी हामीमाझ नरसंहार बनेर विस्फोट भएरै छाड्नेछ । अनि त्योबेला हामी पनि भारतीयहरु झैं सबै हालतलाई भगवान भरोसा छोड्न बाध्य हुनेछौं । रुँदै कराउँदै विलौना गाउँदै– ‘आउ भगवान हामीलाई चाँडै आफूसँगै स्वर्ग लगेर मानव योनीबाट मुक्ति दिलाउ, हामीले पाउने हण्डर पाउसक्यौं गुमाउने सबै गुमाइसक्यौं, अब जिउँदो राखेर अझै यातना नदेउ ।’