धन हुनेको मन हुँदैन मन हुनेको धन ……
चर्चित यो गीतको बोल यर्थाथमा परिणत भएको छ दुबै खुट्टा नचल्ने विराटनगर १६ रानीका ४० वर्षे राजु क्षेत्रीको जीवनमा । आफैं ट्राइसाइकलमा कुदाएर हिँडडुल गर्नुपर्ने बाध्यता भएका निर्धन सुकुम्बासी परिवारका राजुले पाँच वर्षदेखि निःशुल्क सीमा क्षेत्रमा बसोवास गर्ने मुसहर समुदायका बालबालिकाहरुलाई पढाइरहेका छन् ।
उनी घरभन्दा झण्डै तीन किलोमिटर दक्षिण ट्राइसाइकल कुदाएर नेपाल भारत सीमा क्षेत्रमा रहेको मुसहरी बस्तीमा हरेक दिन बिहान पुग्छन् र झण्डै ४० देखि ५० जना बालबालिकाहरुलाई निःशुल्क पढाउँछन् । राजु निःशुल्क मुसहर समुदायका दलित बालबालिकाहरुलाई पढाउने मात्र गर्दैनन्, पैसा जुठाएर कापी कलम दिने र बेलाबेला खाजा र चकलेटहरु बाँड्ने काम पनि गर्छन् । विद्यालय नजाने सुकुम्बासी निर्धन निरक्षर मुसहर बालबालिकाहरु पढाउन थालेपछि आजकल मुसहरी बस्तीका बालबालिकाहरु बिद्यालय जान थालेको स्थानीयबासी जलसीदेवी ऋषिदेव बताउँछिन् । उनी भन्छिन्, ‘राजुसर आएर निशूल्क पढाउन थालेपछि हाम्रा केटाकेटीहरु धेरै सुध्रिएका छन्, नभए खेलेरै दिन बिताउँथे आजकल पढन थालेका छन् ।’
राजुका बुबा कृष्णबहादुर बोगटी पहिले विराटनगर जुटमिलमा मजदुरी गर्थे । वर्षौपहिले मिल बन्द भएकोले उनी बेरोजगार छन् । उनका दुई छोरी र एक छोरा छन् । दुबै छोरीहरु बिहे गरेर घर गैसकेका छन् । बुढी आमा घरमै बसेर दिन विताउन बाध्यछिन् । अहिले दुवै खुट्टा अपांगता भएका र शरीर पनि सुक्दै गएका राजुले नै कमाएर आमाबाबु पाल्दै आएका छन । केही वर्ष मात्र भयो कसैको दयाभावले राजु विराटनगर आँखा अस्पतालमा चश्मा विभागमा काम गर्न थालेका छन् । त्यहाँबाट उनले मासिक १४ हजार तलब पाउँछन् । त्यही तलबले उनीहरुको घरबार दुखले चल्नेगर्छ । विराटनगर १६ रानीमा प्रहरी तालिम केन्द्र पछाडिको सुकुम्बासी बस्तीमा उनीहरुको सानो घर छ । मजदुरी गरेर कमाएको पैसाले उनका बाबुले जेनतेन घर जोडेका हुन् । अलिअलि बचाएको पैसा राजुको उपचारमा नै खर्च भएपछि उनीहरु झन् गरीब भए ।
बिएड तेस्रो वर्षसम्म पढेका राजु पहिले सपाङ्ग थिए । अरु जस्तै मज्जाले खेल्थे कुद्थे र पढन जान्थे । कक्षा ५ मा पढ्दा एक दिन साइकल पल्टिदा उनी नालामा लडे । त्यसपछि उनको खुटा फुल्न थाल्यो । बाबुआमाले बैद्यकोमा लगेर बैधले दुई महिना राखेर तेलमालिस गरेर तर निको भएन बरु विमार झन् बढयो । त्यसपछि ऋण खोजेर बाबुआमालाई उनलाई उपचारका लागि काठमाण्डौ टिचिङ अस्पताल ल्याए । त्यहाँ डाक्टहरुले राजुको नशामा चोट लागेकोले उनी निको हुन नसक्ने जानकारी गराए । अहिले पनि राजुको जीउ खुम्चदै र सुक्दै गएको छ । राजुका बाबाले भने अनुसार ‘स्पाइनल इन्जुरी’ की के भएको अरे राजुलाई ।
अपांङग भएपनि राजुले हरेस खाएनन् । निरन्तर हुब्लिचेयरमा बसेर बिद्यालय गए । एसएलसी पास गरे । त्यसपछि काठमाण्डौ बाह्र कक्षा उत्तिर्ण गरे । अनि पशुपति क्याम्पसमा भर्ना भए । विएडको पहिलो र दोस्रो वर्ष उत्तीर्ण गरे तर तेस्रो बर्षको परीक्षा दिन पाएनन् । उनको पढाई अधुरै रह्यो ।
गरिब र अपाङ्ग भएपनि समाज सेवा गर्ने चाहना राजुको थियो । उनी केही गरेर देखाउन चाहन्थे । एकपल्ट चुनावमा उनले नेताहरुसँग भोटमाग्दै हिडने अवसर पाए । त्यही क्रममा उनले वर्षामा सधै डुवानमा पर्ने र हरेक वर्ष विस्थापित हुन बाध्य सिमी क्षेत्रको मुसहरु बस्ती देखे । सोधपुछ गर्दा त्यहाँ बिद्यालय जाने एक जना पनि थिएनन् । यसैले उनले निशूल्क उनीहरुलाई पढाएर सहयोग गर्ने निधो गरेर । करिब ५० घरपरिवार बसोबास गर्ने उक्त बस्तीका अभिभावकहरु पनि छोराछोरी निशूल्क पढाइदिन्छ भन्दा औधि खुसी भए । त्यसपछि राजुले बोरा ओछ्याएर मुसहर बालबालिकाहरु पढाउन थाले ।
नातामा राजुका मामा पर्छन् हास्य कलाकार पारस थापा । राजुको सेवा कर्म देखेर उनी गदगद भए । त्यसपछि उनले पनि राजुलाई मुसहर बस्तीसम्म ल्याउने लाने गरेर सहयोग गरिदिन थाले । बिस्तारै राजुको निस्वार्थ शिक्षा सेबाबारे मानिसहरुले थाहा पाए । त्यसपछि लायन्स क्लब पाथिभराले एक कोठे भवन बनाइदियो । भवन बनेपछि खुल्ला आकाशमुनी चिसो भुँईमा बसेर पढ्दै आएका बालवालिकाहरु कोठाभित्र बसेर पढन थाले । अष्ट्रेलियामा रहेका नविन रम्तेल नामका एक जना सहयोगीले पानी खाने कल गाडिदिए । कसैले शौचालय बनाइदिए । यसैपाली मात्र हो वडा कार्यालयले बाल केन्द्रसम्म जाने कच्चीबाटो बाटो बनाइदिएको छ । त्यो भन्दा पहिले बाटोमै ट्राइसाइसाइकल छाडेर उनी मामा पारसको काँधमा बसेर बालकेन्द्रसम्म आउँथे पढाउन ।
सबैभन्दा गरिब र भूमिहीन समुदायका मुसहर बालबालिकाहरुलाई पढाउन अहिले राजुकी सपाङग धर्मपत्नी संगीता गजुरेल क्षेत्रीले पनि सहयोग गर्न थालेकी छन् । तीन बर्ष अघि नुवाकोटकी सपांङग २५ वर्षे युवती संगिताले राजिखुसी विवाह गरेकी हुन् दुबै खुट्टा नचल्ने अपांङ्ग राजुसँग । श्रीमतीको सहयोग पाएपछि आजकल राजु समयमै अस्पताल काममा जान्छन् । सँगिता दिउँसो गएर बालवालिकाहरुलाई निशूल्क पढाउँछिन् । बिदाको समयमा सँधै र अन्यदिन आलोपालो मिलाएर राजुपनि बालकेन्द्रको हेरविचार र पढाउने काममा खटिन्छन् ।
राजुले पढाउन थालेको बालकेन्द्रमा लायन्स पाथिभराले थप एक कोठा भवन थपिंदैछ । तर कोठा थपिएपनि बालकेन्द्रको अवस्था भने बिजोग छ । पढ्न बालबालिकाहरुलाई पोशाक र खाजाको व्यवास्था छैन । प्रायः नाङ्गै र धुलैमैलै पढ्न आउँछन् । अनि बालकेन्द्रभित्र न त किताब कर्नर छ न त सुकिलो म्याट र कार्पेट नै । बालबालिकाहरुले नियमित कापी किताब पनि पाउदैनन् । धरैले मौखिक पढ्ने गर्छन् । बालकेन्द्र वरिपरिको वतावरण पनि अझै पूर्ण सरसफाइयुक्त्त हुन सकेको छैन ।
धन नभएपछि सेवाको हर्षित मन भएका अपांङग राजुको एउटै चाहना छ आफुले स्थापना गरेको बालकेन्द्रलाई सरकारले संरक्षण गरेर बालमैत्री बनाइदेओस् । किनभने कलिलो उमेरमै विहे गर्ने मुसहर बस्तीमा जन्मने वालबालिकाहरु शिक्षाको उज्यालोबाट सँधैभरी बञ्चित भैरहन नपरोस् । गरिब दलित बालबालिकाहरुले सुकिला लुगा र खाजा पाउन । अहो कस्तो असल विचार ! धन नभएपनि मन भएका राजुको सपनालाई हामी धन भएका मनहरुले सहयोग किन नगर्ने ?