सम्पादकीय
छिमेकी मुलुक भारतमा विश्वव्यापी रुपमा फैलिएको महामारी, कोभिड–१९ ले फेरि आतङकको रुप लिन थालेको छ ।
गएको २४ घण्टामा ८१ हजारभन्दा बढी मानिसमा संक्रमण प्रमाणित भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत सेप्टेम्बर महिनाको मध्यमा उच्च बिन्दुमा पुगेको संक्रमण त्यसपछि लगातार घट्न थालेको थियो । तर, अहिले संक्रमण दिनहुँ बढ्दो क्रममा रहेको तथ्याङक सार्वजनिक भएको छ । भारतको महाराष्ट्र संक्रमणको उच्च विस्तारमा छ, जहाँ गएको चौबीस घण्टामा ४३ हजार मानिसमा संक्रमण पुष्टि हुँदा दुई सय ४९ जनाको संक्रमण कै कारण मृत्यु भएको छ । यस बाहेक संक्रमणको उच्च दर रहेको कर्नाटक, छत्तीसगढ लगायतका राज्यहरुमा कोभिड–१९ को दोस्रो लहर त्रासदी बनेर आएको छ ।
भारतमा व्यापक भइरहेको कोभिड–१९ को प्रभाव खुल्ला सीमाना भएका कारण नेपालमा पनि देखिन थालेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फिर्ने क्रम बढेपछि कोभिड–१९ विस्तारको जोखिम बढ्न थालेको हो भने सीमानाकामा कडाइ गर्न थालिएको छ । कोभिड–१९ को पहिलो चरणमा जस्तै अहिले मानिसमा सजगता हराउँदै गएको छ । मास्क लगाउने, दूरी कायम गर्ने, हात सफा गर्ने लगायतका जनस्वास्थ्यका मापदण्डको पालना गर्न छाडिएको छ । अझ सरकारमा रहेको दल र सरकारकै तर्फबाट सभा, प्रदर्शन गर्न थालिएपछि त आम मानिसको बुझाइमा कोभिड–१९ उन्मुलन नै भएको मानसिकताले जरा गाडेको छ । परिणाम यसबेला दिनहुँ कोभिड–१९ संक्रमितहरुको ग्राफ उकालो चढ्न थालेको छ । पछिल्लो चरणमा प्रहरी प्रशासनका तर्फबाट गरिएको कडाइ खुकुलिएसँगै मानिसले मास्क नै लगाउन छाडिसकेका छन् भने भीडभाड हुने ठाउँहरु पूर्ववत् र निर्वाध सञ्चालन भइरहेका छन् । यसले कोरोनाको दोश्रो तरङ्गको जोखिम झन् बढाएको छ ।
यो सरकारका लागि पनि चिन्ताको बिषय बनेको छ । कोभिड–१९ को प्रभाव बढ्दै जाँदा भारतसँग सीमा जोडिएका आवागमनको मुख्य बिन्दुहरुमा पनि कडाइ गर्न थालिएको छ । मोरङको रानी नाका र पूर्वी नाका मेचीनगरस्थित काँकडभिट्टामा आवतजावतमा कडाइ गरिनुका साथै आवतजावत गर्नेहरुको अभिलेख राख्न थालिएको छ । बिशेषगरि विराटनगर महानगरपालिका र मेचीनगर नगरपालिका कोभिड–१९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन समितिको अगुवाइमा हेल्थडेक्स पुनजीवित गर्नुका साथै क्वारेन्टाइन र आइशोलेसन केन्द्रलाई दुरुस्त अवस्थामा राखिएको छ ।
काँकडभिट्टास्थित सशस्त्र प्रहरीको सहायता कक्षमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने नेपाली सेनाले मेची पुलमै होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ । तर यतिले मात्रै कोरोनाको जोखिम न्युनीकरण गर्न सम्भव हुँदैन । यसअघिको पहिलो तरङ्ग हामीले महशुश गरेकै हौं ।
भारत प्रवेश गर्ने मुख्यद्वारका रुपमा रहेको रानी र काँकडभिट्टा नाका आवागमनकै दृष्टिकोणले उच्च जोखिममा रहेको बिषयलाई दृष्टिगत गर्दै नियन्त्रणका लागि थप सुरक्षा, सर्तकता, सजगता र अग्रसरता देखाउन आवश्यक छ । आइतबार मात्रै १७६ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड–१९ विरुद्धको खोप पनि लगाउन थालिएको सन्दर्भमा बढ्दो संक्रमण रोक्न सबै पक्षले उच्च सतर्कता अपनाउन जरुरी छ । ‘स्वास्थ्यप्रतिको लापरवाही स्वयंमका लागि घातक नहोस, सबै सचेत होऔं ।’