राकेश कर्ण
नेपालमा वैदेशिक रोजगारीको सुरुवात ब्रिटिस–इण्डिया कम्पनीसँगको सुगौली सन्धिपछि भएको मानिन्छ । सो सन्धिपछि युद्धमा नेपाली सेनाले देखाएको सौर्य, साहस र वीरताबाट प्रसन्न भई ब्रिटिस सेनामा भर्ती थालेसँगै नेपालीहरु विदेशी भूमिमा जान थालेको कथन छ । तर आज नेपाली युवा शक्तिको एकमात्र गन्तव्य वैदेशिक रोजगारी बन्न थालेको छ । त्यसयता भारतीय सेना र सुरक्षागार्डमा जान थालेका नेपाली युवा आजका दिनसम्म आईपुग्दा कूल संख्याको ५६ प्रतिशत विदेशी भूमिमा पसिना र रगत बगाइरहेका छन् । पछिल्लो समय एशिया, युरोप मात्र होइन मानव जाति रहेको सबै महादेशहरुमा नेपाली पुगिसकेका छन् ।
निर्वाहदेखि भौतिक सुखको आवश्यकताले दैनिक १७ सय युवा वैध र अवैध दुवै ढङ्गले विदेश गईरहेका छन् । आर्थिक अभाव, बेरोजगारी, राजनीतिक अस्थिरता, शिक्षित जनसंख्याको अनुचित व्यवस्थापन, विदेश मोह र भु–मण्डलीकरण जस्ता कारणले युवाहरु विदेशतर्फ मोहित भएका हुन् ।
सक्रिय र ऊर्जाशील शक्ति विदेश पलायन हुँदा सरकारलाई रोजगारी वृद्धि गर्न पूर्वाधार निर्माण गर्नुभन्दा विदेश यात्राको बाटो सहज गर्नु सुविधाजनक लागेका कारणले यसले जन्माएका समस्या आज विकराल बन्दै गएका छन् । माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वले वैदेशिक रोजगारीको क्रम झनै बढेर गएपछि ग्रामीण क्षेत्रहरुमा निष्क्रिय जनसंख्या मात्र रहन पुगेका छन् । यद्यपि वैदेशिक रोजगारीबाट सीप र प्रविधि भने स्वदेश भित्रिएको छ । यसलाई नर्कान सकिँदैन् ।
तर यसलाई अवसरका रुपमा लिएर म्यानपावर कम्पनीहरुले अवैध ढङ्गले कार्यालय स्थापना गरी ठगी गरिरहेको घटना पनि सार्वजनिक भइरहेका छन् । राजधानीमा मुख्य कार्यालय रहेको भन्दै जिल्ला र शहरहरुमा खोलिएका शाखा कार्यालयहरुबाट युवाहरु ठगिएका छन् । वैदेशिक रोजगार विभागको टोलीले समय–समयमा अनुगमन गरेपनि यसको रुप दिनप्रतिदिन झन् विकराल बन्दै गईरहेको छ ।
विभागले अनुमगन गर्न थालेको सुइँको पाएका त्यस्ता कार्यालयहरुले कार्यालय नै बन्द गरेर भाग्ने गरेका छन् । यति मात्रले वैदेशिक रोजगारीको नाममा भइरहेको ठगीको दीर्घकालीन समाधान हुँदैन । बरु त्यसका लागि देशमै रोजगारी सृजना गर्ने वातावरण मिलाउनुपर्छ । हामीसँग भएका सम्भावनाहरुको पहिचान र पूर्वाधारहरुको निर्माण गर्दै आर्जन गरेका सीप तथा प्रविधिको उपयोग गर्ने वातावरण मिलाउनुपर्छ । युवा जनशक्तिलाई स्वरोजगार बनाउनतर्फ उन्मुख हुनुपर्छ ।
वैदेशिक रोजगारीका कारण भइरहेको परिवार विखण्डन र अज्ञानतावस गुमाइरहनुपरेको ज्यानलाई पनि हेक्का राखेर परनिर्भरता घटाउने र सक्रिय जनशक्तिलाई स्वदेशमै व्यवस्थापन गर्ने कार्यक्रम ल्याउनु आजको प्रमुख आवश्यकता बनेको छ । यसले मात्र परनिर्भर नेपाली जीवनलाई लयमा फर्काउन सकिन्छ भने मुलुकको समृद्धिमा सहयोगी बन्न सकिन्छ ।