कविता कार्की
मलाई सानैदेखि अपरिचित स्वरहरूले सोधिरहने एउटा प्रश्न ‘अनि दाजु भाइ कति जना छन् त ?’
मेरो जवाफ ‘अहँ, एकजना पनि हुनुहुन्न ।’ अब ममीलाई एउटा भाई चाहियो भन है, भन्दै त्यो अपरिचित मलाई जिस्काउने हेतुले समाजको ऐना देखाउन खोज्छ ।
म पनि त्यतिबेलै ‘हवस्’ भनी दिन्छु तर मनमनै रिसले मुर्मुरिन्छु। मलाई त बहिनीको कपाल कोरिबाटी गरेर राम्री बनाईदिन मन थियो । बहिनीसँगै थुप्रै खेलहरु खेल्न मन थियो त्यसैले मैले घरमा भाईको माग राख्नु जरुरी थिएन र राखिन पनि ।
आज म आफ्नै विचारहरू प्रष्ट राख्न सक्ने भइसकेको छु । यद्यपि यो प्रश्नको सिलसिला भने सधै त्यसरी नै तेर्सीरहन्छ। प्रत्यक्ष भेटेका अपरिचितहरु देखि समाजिक संजालसम्म मलाई सोधिने प्रश्न ‘अनि घरमा को–को हुनुहुन्छ ?’
ड्याडी, ममी, दिदी, बैनी अनि म ।
मेरो जवाफ सक्किन नपाउँदै पूर्ण प्रश्नको पासोमा बेरेर सोधिहाल्छन् ‘अनि दाजुभाई चाहिँ छैनन् ?’ म निरुत्तर बनेर बस्नुको औचित्य देख्दिन ।
त्यसैले छिट्टै ‘अहँ, छैनन’ भन्दै जवाफ फर्काएर यो शीर्षकबाट भाग्न खोज्छु।त र प्रश्नको यो सिलसिला तुरुन्तै कहाँ सकिन्थ्यो र लगातार एकपछि अर्को गर्दै आउँदै जान्छ प्रश्नहरू।
अनि तिहारमा कस्लाई टीका लगाइदिन्छौ त ? दाजुभाई नहुँदा त गाह्रो हुन्छ होला है ? बुढेसकालमा आमाबुबालाई कति गाह्रो हुने भयो है ? सहारा नै नहुने ? तिमीहरूको त अब बंश नै अन्त्य हुने भयो है ?
अनि यस्ता तर्कहरुले साँच्चै मलाई निरिह बनाईदिन्छ । म केही क्षण आफ्नो बिगतमा फर्किन्छु, अनि सम्झिन्छु मैले मेरो दिदिलाई अफ्ठयारो पर्दा के–के गरे ? वा केसम्म गरिन होला ?
के मुस्किलमा परेकी आफ्नी दिदिलाई एउटा भाईले गर्नुपर्ने कर्तव्य र सहयोग, बहिनीले गर्नुपर्ने भन्दा फरक हो र ? यदि होइन भने किन समाज भाईलाई एक स्थान माथि चढाउँछ ?
अनि मैले मेरी बहिनीको लागि गरेको त्याग र संघर्ष, उसको हरेक परिस्थितिमा अगाडि उभिएर दिएको साथ । के एउटा दाईले गर्ने काम पनि यहीँ नै हैन र … ?
आज त म पनि बाहिर निस्किएर आफ्नो श्रम र सीप बेचेर घरमा पैसा लिएर आउँछु। यद्यपि एउटा छोरोको खाली पोस्ट परिवारमा अहिलेसम्म भर्न सकेको छैन ।
यदि सकेको हुन्थे भने मलाई ‘दाजुभाई छैनन’ भनेर प्रश्न सोध्नेहरु बाँकी रहँदैन थिए होलान् । जीवनभर मलाई लगिरहयो म कुनै हालतमा पनि एउटा पुरुष मान्छे भन्दा कम छैन र यसैलाई सार्थक बनाउन हर प्रयास गरिरहेँ ।
तर आज जीवनको यो मध्यान्तरमा आएर मलाई आफ्ना अनुभवहरुले सिकाएरै छोडे । बहिनीले भाइ बनिरहन जरुरी नै छैन । दिदिले तिम्रो दाई पनि मै हो भनेर बहिनीलाई सान्त्वना दिइरहन पनि जरुरी छैन । मामी–बुबाले छोरीको पारिश्रमिक लिन हिच्किचाउन पनि जरुरी छैन।
जरुरी त यहाँ छोरा–छोरीबीच दिनहुुँ बनिरहने पर्खाललाई भत्काउनु छ । समाजको हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी छ। तर त्यो भन्दा पहिले छोरीहरुले आफूलाई चिन्न जरुरी हुन्छ। सरलता र सुन्दरताले मात्रै आजको युगमा नारी अपुग छिन् । केवल शिक्षाले उनले पूर्णता पाउँछिन् । आफ्ना ईच्छा र आकांक्षालाई चिन्ने मौका पाउँछिन् । र आफूभित्र समग्र देश अटाउन सक्ने कला बुन्छिन् ।
एउटी सशक्त नारीले दाजुभाईको कमी, परिवारमा छोराको कमीलाई मात्रै भर्नुको सट्टा, आफ्नो अलग अस्तित्वको निर्माण गरेर परिवार र समग्र समाजलाई नै गर्व बोध गराई समष्टिमा उनको मुख्य आवश्यकता छ भन्ने पक्षलाई बलियो बनाउँछिन् ।
राम्रो लेख 😊
Very nice
अति राम्रो लेख लेखेको छौ
निरन्तरता दिँदै जाऊ शूभकामना भान्जी