विराटनगर । विराटनगर–१८ भेडियारीस्थित विराट राजाको दरबार रहेको क्षेत्रमा भु–भौतिक सर्वेको कार्य सम्पन्न भएको छ । नेपाल सरकारको पुरातत्व विभाग र बेलायतको दुर्हाम विश्वविद्यालयको अध्ययन टोलीले सो क्षेत्रको सर्वे गरेको हो ।
पुरातत्व विभाग र बेलायतको दु¥हाम विश्वविद्यालयको प्राविधिक अध्ययन टोलीले मङ्गलबार विराट राजाको दरबार अवस्थित रहेको क्षेत्रको भु–भौतिक सर्वे गरेको हो । विराटनगर महानगरपालिको लगानीमा अध्ययन टोलीले सो क्षेत्रको सर्वे गरेको हो ।
भेडियारीमा विराट राजाको दरबार रहेको र पाण्डवहरु वनबासपछि १ बर्षसम्म सो दरबारमा गुप्तबास बसेको विश्वास गरिन्छ । त्यसबेलाको ३०÷४० कोठाको दरबार र मन्दिर अझैपनि जमिनमुनि रहेको प्राचीन कथन छ । विभिन्न धार्मिक ग्रन्थहरुमा समेत यसबारे उल्लेख गरिएको हुनाले अध्ययन टोलीले वास्तविकता पत्ता लगाउन सो क्षेत्रको सर्वेक्षण गरेको नेपाल सरकारका पुरातत्व अधिकृत बिष्णु पाठकले बताउनुभयो ।
प्रचलित किवदन्ती अनुसार विराट राजाको दरबार रहेको यस क्षेत्रमा पाण्डवहरूको गतिविधि चियो गर्न दुर्योधनले भेदियारी अर्थात् गुप्तचर पठाएका थिए । जसको आधारमा यस क्षेत्रको नाम भेडियारी रहन गएको हो । प्राचीन राजदरबारको भग्नावशेष र यसको ऐतिहासिकता महाभारतकाल देखि नै रहिआएको जनविश्वास छ । विभिन्न धार्मिक ग्रन्थमा समेत यो क्षेत्रबारे वर्णन गरिएको छ ।
अध्ययन टोलीले यस क्षेत्रको ऐतिहासिकता र वास्तविकता पत्ता लगाउन सिमित क्षेत्रभित्र ३ मिटर जमिनमुनिसम्मको भु–भौतिक सर्वे गरेका हुन् । सर्वेको आधारमा अध्ययन टोलीले विस्तृत प्रतिवेदन तयार पार्छन् । उनीहरुले तयार पारेको प्रतिवेदनकै आधारमा नेपाल सरकारको पुरातत्व विभागले उत्खनन्को कार्य अघि बढाउनेछ ।
वि.सं. २०२७ सालमा पनि नेपाल सरकारको पुरातत्व विभागले यस क्षेत्रमा उत्खनन् गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटेको थियो । उक्त ढिस्कालाई ईशापूर्व कालको अवशेष मानिएको थियो । त्यसबेला भेटिएका ती चाँदीका मुद्राहरु हाल नेपाल सरकारको राष्ट्रिय सङ्ग्रहालयमा राखिएको विराट राजा खोज÷संरक्षण समितिको अध्यक्ष कमलकिशोर यादवले बताउनुभयो ।
भेडियारीस्थित विराट राजाको दरबारका नाममा नेपाल सरकारसँग पनि हाल कुल ८ विगाहा ३ कठ्ठा १७ धुर जग्गा छ । यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पुर्णता दिन विराटनगर महानगरपालिका पनि विगत लामो समयदेखि कसरत गर्दै आएको महानगरको सामुदायिक विकास अधिकृत पुनमकुमार दाहालले जानकारी दिनुभयो ।
विराट राजाको दरबार रहेको जनविश्वास रहिआएको यस क्षेत्रको आसपासमा अहिलेपनि धरवा, किच्चकबध, भन्सिया, थरथोवा, गुहिया, दिघरी र बहरवा गरि आधा दर्जनभन्दा बढी पोखरीहरू छन् । जसलाई यहाँका स्थानीयहरुले परापुर्वकालमा राजा विराटले विभिन्न प्रयोजनका लागी बनाएको दाबी गर्दै आएका छन् ।