विराटनगर । संघदेखि प्रदेश हुँदै स्थानीय तहको सरकारसम्मले नीति कार्यक्रम तथा बजेटमा ‘उच्च प्राथमिकता’ दिएको दाबी गरेको कृषि क्षेत्र व्यवहारिक रुपमा भने अझै उपेक्षित छ ।
अझ किसानलाई सिचाईं, मल बीऊ मात्रै होइन बजार पनि आफ्नो जिम्मा भएको बताउने प्रदेश १ सरकार किसानमैत्री नीति कार्यान्वयनमा पूर्णतः असफल बन्दा त्यसको मार किसानमा परेको छ ।
बर्खे धान लगाउन व्यस्त मोरङका किसानले अहिले खेपिरहेको सास्ती यसको ज्वलन्त प्रमाण हो । प्रदेश १ को राजधानी भएकै जिल्ला मोरङका सयौं किसान यतिबेला सिचाईं अभावको सकसले पिरोलिएका छन् । सिचाईंका लागि वैकल्पिक उपाय अवलम्बन गर्दा हुने खर्च उत्पादनको मूल्यले धान्नै नसक्ने अवस्था उनीहरुको छ ।
मोरङ रंगेलीका किसानको पीडाले यहि संकेत गर्छ । अहिले खेतको आली मिलाएर रहरलाग्दो बनाइएको छ । ब्याडमा धानको बीऊ लहलह छ । तर, रोप्नलाई न नहरमा पानी छ, न अरु कुनै उपाय । त्यसैले धान रोप्नकै लागि किसानले अरुले जडान गरेको पम्पसेट भाडामा प्रयोग गरेर खर्चिलो रुपमा धान रोप्नुपरेको छ । ‘छिमेकीले राखेको पम्पसेटबाट पानी लगाएर धान रोप्नुको विकल्प भएन’, रंगेली ५ का किसान लखियादेवी ऋषिदेवले भन्नुभयो ‘ यसरी खर्च गरेर रोपेको धानले लगानी पनि उठाउने अवस्था छैन ।’
अहिलेसम्म सिचार्इंको राम्रो सुविधा नभएको मोरङको रंगेली र सुनवर्षि नगरपालिकाको दक्षिण क्षेत्रमा पम्पसेटको भरमा कृषकले हिउँदे धान रोप्ने गरेका छन् । प्रदेश १ सरकारले नीति कार्यक्रममा सिचाईंका लागि वैकिल्पक उपायमा सघाउने बताएको धेरै भइसकेको छ । तर, वास्तविक किसानसम्म सरकारी कार्यक्रम पुगेकै छैन ।
वर्षभरिमा दुई बाली धान लगाउने यो क्षेत्रका किसान माघ पहिलो सातादेखि नै हिउँदे धानबाली लगाउन सुरू गर्दछन् । कुनै पनि तहका सरकारले सिचाईंको व्यवस्था मिलाउन ध्यान नदिँदा कृषकहरुले पम्पसेटको सहायतामा वर्षभरीमा तीन वाली लगाउने गरेका छन् । ‘सिचाईंको व्यवस्था हुन नसक्दा हिउँदे धान रोपाइँमा ढिलो भयोे,’ रंगेलीका कृषक लखियादेवीले भनिन्, ‘अहिले हिउँदे धान लगाउन सुरू गरेका छौं । पानी छैन । बाध्य भएर पम्पसेटदेखि पानी निकालेर धान रोप्नुपर्ने बाध्यता छ ।’
पैसा भएकाले आफैंले पम्पसेट राखेर सिचाईं गरेका छन्, भने आर्थिक अवस्था नाजुक भएका परिवारले आकाशको भर नगरी सुखै छैन । आफ्नो समस्या सुनाउने ठाउँ स्थानीय सरकारमा जाँदा कुनै सुनुवाई नभएको किसानको भनाइ छ । माघको पहिलो साता नै हिउँदे धान रोपाइँ गरिसक्नुपर्ने भएपनि सिचाईं हुन नसक्दा उनीहरूले फागुनको पहिलो सातामात्र रोपाइँ गरिरहेका छन् ।
निरन्तर हिउँदे धान रोपाई गर्दै आएपनि उक्त क्षेत्रमा सिंचाईको पर्याप्त सुबिधा नभएका कारण यहाँका किसानले पम्पसेटबाट सिंचाई गरि धानबाली लगाउने गरेको किसान श्याम मेहताले बताउनुभयो । अहिले रोपाइँ गरेको धान जेठ अन्तिम सातासम्म काटिसक्छन र त्यसपछि बर्षे धान लगाउने गर्दछन् । यतिखेर किसानले बजरंगी सहित स्थानिय भाषामा गरमा भनिने धान लगाउँछन् ।
किसानलाई स्थानीय सरकार र प्रदेश सरकारले दिएका आश्वासन र देखाएका सपना पनि राम्रोसँग थाहा छ । धान जोन क्षेत्र घोषणा गर्दै रतुवामाई, रंगेली र सुनवर्षी नगरपालिकाले मल बीउको अभाव र समस्या हुन नदिने घोषणा गरेको थियो । त्यो भन्दा पनि अघि बढेर प्रदेश १ सरकारले नारा नै ल्याएको थियो ‘उत्पादन किसानको जिम्मा हो, बजार र मूल्य सरकारको जिम्मा हो ।’
आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा प्रदेश १ सरकारले यस्तो नारा मात्रै दिएको थिएन, किसानलाई उत्पादन खेर नजाने अवस्थाको ग्यारेन्टी पनि गरेको थियो । नीति तथा कार्यक्रममा किसानले उत्पादन गरेको कृषि उत्पादन खेर जान नदिने नीति अवलम्बन गरी कार्यान्वयन गर्ने उल्लेख गरेको थियो । मुख्यमन्त्री शेरधन राईले नीति कार्यक्रमको यो नारालाई धेरैपटक आफ्नो भाषणको विषयवस्तु बनाउनुभयो । कृषि क्षेत्रको कायापलट गर्ने घोषणा गरे । तर, बिडम्बना रंगेली र सुनवर्षीका किसान अहिले हिउँदे धानमा सिञ्चाइ नभएर किसान पीडित भइरहँदा मुख्यमन्त्री र उनको नेतृत्वको सरकार बेखबर छ ।
सुनवर्षी नगरपालिका प्रमुख कालिप्रसाद दासले नगर क्षेत्रका कृषकहरूको लागि डिप बोरिंग खरिद गर्ने तयारी नगरपालिकाले गरेको बताउनुभयो । ‘कृषकलाई सिचाईंको सुविधा पु¥याउन १ सयदेखि १ सय ५० को संख्यामा डिप बोरिङ खरिद गर्न टेण्डरको प्रक्रिया अगाडि बढेको छ,’ प्रमुख दासले भन्नुभयो, ‘बोरिङ आएपछि कृषकहरूमा वितरण गर्ने हाम्रो तयारी छ ।’
किसानले वर्षभरिमा वर्षे र हिउँदे गरी दुई बाली धान र एक बाली अन्य बालीहरु लगाउने गरेका छन् । किसानले हिउँदमा गरमा धान लगाउनुका साथै बंगलादेशमा फलाइने बोरो धानसमेत लगाउने गरेका छन् । बोरो धान नेपालमा मोरङको रंगेली र सुनवर्षि नगरपालिकामा मात्र लगाउने गरिएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।
‘रंगेली र सुनवर्षिमा नगरपालिकाभित्रका किसानले विगतका वर्षहरूमा दुई कठ्ठा क्षेत्रफलमा हिउँदे धान २ हजार हेक्टर क्षेत्रफलमा लगाउँदै आएका थिए,’ उप्रेतिले भन्नुभयो, ‘अहिले कम क्षेत्रफलमा हिउँदे धानखेती गर्दै आएका छन् ।’ उहाँका अनुसार किसानले मकै र अन्य नगदेबालीतर्फ लाग्दा अहिले १ हजार हेक्टर क्षेत्रफलमा मात्र धानखेती हुने गरेको छ ।
प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्दछ । गत वर्ष करिब ३ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।