कसरी सम्झेला भविष्यले ओलीलाई ?

 अनन्तराज न्यौपाने

हरेक दूरदर्शी र बुद्धिमान् राजनीतिज्ञले म यो मुलुकलाई के दिएर जाँदैछु भन्ने सोेचेको हुन्छ । दूरगामी महत्त्वको सकारात्मक योगदान गर्ने नेता नै वास्तवमा राजनेता कहलिन्छ । आफ्नो स्वार्थबाहेक केही नदेख्ने र त्यही स्वार्थ अनि कुर्सीका लागि तिकडम गरिरहने नेताले आफ्नो कुर्सीलाई केही समय लम्ब्याउन अवश्य सक्ला तर, भावी पुस्ताले उसलाई धारे हात लगाएर सराप्ने कुरामा शङ्का छैन । आजका तिकडमबाज ओली यहि पथतिर उन्मुख छन् । उनी कानुनी उल्झन र जटिलताका आडमा केही समय सत्ता लम्ब्याउन अवश्य सक्नेछन् तर भविष्यले उनलाई मुलुकको एक कलङ्कका रूपमा मूल्याङ्कन र परिभाषित गर्नेछ ।

प्रजातन्त्रको पुनःस्थापना २०४६ पछि यो देशका ३ प्रधानमन्त्रीले उदाहरणीय काम गरेको सगर्व बताउन सकिन्छ । सर्वप्रथम अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले एक वर्षभित्रमै संविधान दिए र आम निर्वाचन गराए । २०४८ को आमनिर्वाचनपछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाका पालामा मुलुक खुला बजार र उदारीकरणमा प्रवेश ग¥यो । त्यसो त, उसबेलाका गिरिजामा अहिलेका ओलीकै जस्तो दम्भ र अहङ्कार थियो । तापनि मुलुकमा अहिले केही समृद्धि देखिएको छ भने त्यो उनले शुरु गरेको आर्थिक मोडलकै प्रतिफल हो । गिरिजा शासनमै निजी र विदेशी लगानीका बैङ्कहरू खुले, प्राइभेट हवाई कम्पनीहरू आए, निजी क्षेत्रले शिक्षा र मेडिकल कलेजमा लगानी तीव्र बनायो । आयातको लाइसेन्स प्रथालाई ओजिएलमा लगियो । हो, २०५१ मा मध्यावधि गरेर गिरिजाले आफ्नो दम्भको उत्कर्ष स्वरूपको प्रदर्शन गरेका हुन् । यही मध्यावधिले उनको राजनीतिक छवि धूमिल पनि भयो । तर, उनका पालामा मुलुकले काँचुली फेर्न खोजेको कुरालाई शत्रुले पनि नकार्न सक्तैन ।

उनै गिरिजा २०६१–६२ सम्म आइपुग्दा मुलुकको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष बनिसकेका थिए । १२ बुँदे समझदारी, शान्ति सम्झौता अनि आफ्नो पार्टी हारेर पनि गरिएको संविधानसभाको पहिलो निर्वाचनले गिरिजाका २०४८ पछिका सबै पाप पखालिए । उनी देशका हिरो भए ।

अर्का सफल प्रधानमन्त्री सुशील कोइराला हुन् । गिरिजाको जीवनकालभरि सुशीलको व्यक्तित्व गिरिजाका भितरिया सहयोगीका रूपमा मात्र चित्रित थियो । हुन पनि गिरिजाका हरेक तिकडम र खुरापातका मुख्य योजनाकार र रणनीतिकार सुशील नै थिए । यो मुलुकलाई अस्थिरताको दलदलमा जाक्ने मध्यावधि २०५१ का मुख्य सल्लाहकार सुशील हुन् । त्यस्तै आफ्नै पार्टीका शेरबहादुरको सरकार ढाल्न २ सांसद लुकाउनेजस्तो अमर्यादित काम पनि सुशीलले गरेका थिए ।

तर, २०७२ सम्म आइपुग्दा सुशीलमा पूर्णतः रूपान्तरण आइसकेको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि प्रधानमन्त्री बनेका सुशीलले संविधान निर्माणमा निर्वाह गरेको भूमिका युगान्तकारी घटनाका रूपमा स्मरणीय रहनेछ । संविधानमा धर्मनिरपेक्षका सट्टा हिन्दुराष्ट्र राख्न भारतले ठाडो हस्तक्षेप र तीव्र दबाब दिइरहेका बेलामा सुशीलले स्वाभिमान र आत्मसम्मानपूर्वक संविधान जारी गरेर देखाइदिए ।

यसरी २०४६ को परिवर्तनपछि कृष्णप्रसाद, गिरिजा र सुशीलले देशलाई केही न केही दिएर गएको देखिन्छ । अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीसित यस्तै स्वर्णिम अवसर थियो । संविधानको उत्तम र सफल कार्यान्वयनका लागि उनले झन्डै दुईतिहाईको बहुमत पनि पाएका हुन् । तर, २०५१ सालका गिरिजाकै जस्तो उन्मादको भूत ओलीमा पनि सवार भइरहेको छ । संसदको विघटन यही उन्मादको परिणति हो । आज कस्ता दिन आइसकेका छन् भने २०७२ मा संविधान जारी हुँदा संविधान जलाउने राजेन्द्र महतो र उपेन्द्र यादवहरू यसको रक्षा गर्ने पङ्क्तिमा उभिएका छन् । तर, संविधान जारी गर्ने काममा अहम् भूमिका गर्ने खड्गप्रसाद ओली यसको हत्याराका रूपमा दरिएका छन् ।

ओली प्रधानमन्त्री भएपछि मुलुकले ठूलो आसा र भरोसा उनीप्रति गरेको थियो । उनले मुलुकको गरीबी र राजनीतिक अस्थिरतालाई केही न केही निकास देलान् भन्ने कुरामा सर्वसाधारण ढुक्क थिए । तर, ओलीको घमण्डले जनताका आशामा तुषारापात मात्र गरिरह्यो । दुईतिहाई बहुमतका प्रधानमन्त्री उनले मुलुकलाई भ्रष्टाचार, अनैतिकता र सर्वसत्तावाद बाहेक केही दिएनन् । शासनको सुरुमै उनी अधिनायकवादतर्फ उन्मुख भए । अहिले ओलीको खुलेर विरोध गरिरहेका पुष्पकमल दाहाल र माधवकुमार नेपालहरू ओलीका निम्छरा साक्षी मात्र भइरहे । प्रतिपक्षी शेरबहादुरलाई त ओलीले सुरुदेखि नै मिलाइसकेका थिए । सासूको राजदूत पद जोगाइदिएर ओलीले प्रतिपक्षीको साथ पनि लिन सके । यसपछि उनलाई लाग्यो, अब म निष्कण्टक भएँ । यसैका कारण उनी चरम अहङ्कारी शासकका रूपमा स्थापित हुन खोजे । ढिलो–चाँडो ओलीले प्रधानमन्त्रीको कुर्सी त छाड्नै पर्छ । त्यसपछिको पुस्ताले कसरी सम्झिने ओलीलाई ? के दिए त उनले यो देशलाई ? गिरिजाको बाह्र बुँदे र शान्तिसम्झौता अनि सुशीलको संविधान निर्माणजस्तो काकताली ओलीले पाए भने त ठिकै हो, नभए ओली युग नेपालको इतिहासमा कालो युगका रूपमा अभिलिखित हुनेछ ।

मङ्गलबार, १८ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर