दर्शन र विचारबाट च्युत ओली

 अनन्तराज न्यौपाने

प्रधानमन्त्री खड्गप्रसाद ओली २०२८ सालमा राजनीतिक कारणले पक्राउ परेका होइनन् । खासमा उनमाथि ज्यानमुद्दा थियो । व्यक्तिहत्याका कारणले उनी थुनिएका हुन् । त्यसो त, तत्कालीन झापाली विद्रोहीहरूले व्यक्तिहत्याकै राजनीतिलाई अघि बढाएका थिए । भर्खरै युवावस्थामा प्रवेश गरेको कसैलाई पनि क्रान्ति र परिवर्तनको रुमानी भूत चढेको हुन्छ । झापा विद्रोहका बेला पनि ओली २० वर्षका मात्र थिए । तर, उनको त्यसबेलाको नवयुवा कालको क्रान्तिकारी धार र मानसिकताले व्यक्तिहत्याको बाटो रोज्यो । ओलीमा अहिले दक्षिणपन्थी हिन्दुवादी धार देखिनु उसबेलाको व्यक्तिहत्याको पश्चात्ताप र आत्मग्लानिको परिणाम हुनुपर्छ ।

त्यसो त, ओलीका समवयी र समकालीन नेताहरूले के भनिसकेका छन् भने जेलमा हुँदा सबैजसो कम्युनिष्ट नेताले माक्र्सवाद–लेनिनवाद र राजनीतिक विषयवस्तुको अध्ययन गरे । तर, ओलीले गरेनन् । एमाले पृष्ठभूमिको र २०४६ अगिदेखि नै वाम राजनीतिमा लागेको कुनैपनि वामपन्थी नेता कम्युनिष्ट दर्शनका बारेमा खररर भट्याउन सक्छ । तर, प्रधानमन्त्री ओलीमा त्यो गुण र क्षमता छैन । विचार, सिद्धान्त र दर्शनको बहसमा ओली दरिद्र देखिन्छन् ।

त्यसो त, जेलका सुरुका दिनमा ओली ज्यादै रोगी थिए रे । पहिले उनलाई कडा यातनाका साथ गोलघरमा राखियो । त्यहाँ कुनैपनि प्रकारको अध्ययन र लेखन सम्भव थिएन । गोलघरबाट निकालिएपछि पनि ओलीमा राजनीतिक दर्शनको पठन र लेखनका गुणहरू विकसित भएनन् । बरु उनले जेलमा मनुस्मृति, गरुण पुराण, स्वस्थानीलगायतका धार्मिक साहित्यको अध्ययन गरे । अनि नेपाली दन्त्य कथासङ्ग्रह, गुलबकाबलीको कथा र अकबर–वीरबलको कथा पनि ओलीका प्रिय थिए रे । व्यक्तिहत्याको मुद्दाका कारण उनमा अपराधबोध थियो होला । यसबाट मोचन पाउन उनले देवीदेवतामा आस्था बढाए । भनिन्छ, एउटा कम्युनिष्ट बिग्रियो भने कि त धार्मिक नेता हुन्छ कि रोयलिस्ट (राजावादी) हुन्छ । ओलीमा उपरोक्त दुबै गुण देखिइसकेका छन् ।

सारा देश गणतन्त्रको आन्दोलनमा भएका बेला ओली ज्ञानेन्द्र शाहसित मिलेका थिए । उनलाई मुलुकमा राजतन्त्रको अन्त्य होला भन्ने पत्यार थिएन । त्यसैले उनले भने, नेपालमा गणतन्त्र आउनु भनेको वयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो । कुनैबेला ओलीका पनि नेता रहेका राधाकृष्ण मैनालीको भनाइअनुसार ‘सानैदेखि गफाडी तर काम भने केही नगर्ने स्वभाव भएका ओली’ले सोचेजस्तो भएन । उनले नसोचेको गणतन्त्रको स्थापना भइछाड्यो । तर, श्रीपेचप्रतिको ओलीमोह अहिले पनि कायम छ । उनी राष्ट्रपति विद्यादेवी भण्डारीका शिरमा श्रीपेचको शोभा झल्किएको हेर्न चाहन्छन् । राष्ट्रपति भण्डारीलाई कार्यकारी बनाउन चाहन्छन् । प्रकारान्तरले अर्को निरङ्कुश शासनको अभ्यास गर्न चाहन्छन् ।

तत्कालीन राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रको घाँटी निमोठे । यसपछि उनी उग्र भारतविरोधी भएर निस्किए । महेन्द्रको कथित राष्ट्रवाद भारतविरोधमै केन्द्रित थियो । त्यसैले नेपाली काङ्ग्रेसका सारा नेता–कार्यकर्तालाई उनले अराष्ट्रिय तत्त्व घोषित गरे । तर, महेन्द्र भित्रभित्रै भारतसित मिलेका थिए । भारतका विभिन्न इतिहासकारले राजा महेन्द्रले भारतका तत्कालीन प्रधानमन्त्री नेहरूको ग्रिन सिग्नल पाएर नै २०१७ सालको घटना गरेको भन्ने तथ्य लेखिसकेका छन् । त्यसबखत नेहरूले चाहेको भए ७ दिनमै महेन्द्रको तानाशाही सत्ता पल्टाइदिन सक्थे । तर, उनले औपचारिकताका लागि एक सामान्य वक्तव्य निकालेर ‘कू’–को विरोध गरेजस्तो गरे । अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाइरहेका बीपीप्रति उनको ईष्र्या चुलिएको थियो । त्यसैले कूका सवालमा महेन्द्र र नेहरू एकै ठाउँ थिए, मिलेका थिए । यसैको परिणति हो, सन् १९६५ सित नेपालले भारतसित गरेको घातक सन्धि । यो सन्धि सन् १९५० को भन्दा घातक छ । यसका बारेमा छुट्टै चर्चा गर्नु उपयुक्त हुन्छ ।

यता महेन्द्रपथमै उभिएर ओलीले २०७४ को निर्वाचनमा उग्र राष्ट्रवादी अनुहार देखाए । उनको यो नौटङ्की राष्ट्रवाद अहिलेसम्म कायम छ । उनको राष्ट्रवाद नौटङ्की हुँदैनथ्यो भने कालापानी र लिम्पियाधुराको जमिन पाउन नेपालले शान्त कूटनीतिक पहल गरिरहेको हुन्थ्यो । नक्सामा पछि थपिएको चुच्चो भारतलाई देखाउने बेलामा गायब पारिँदैनथ्यो ।

मूलतः भारतलाई आजको नेपालको संविधान निष्काम, ध्वस्त र धुजाधुजा पार्नुछ । भारतलाई नेपालको संविधानको पुनर्लेखन चाहिएको छ किनकि यसमा हिन्दुराष्ट्र थप्नु छ । ओलीले यसमा सहमति जनाइसकेको आभास हुन्छ । केही समययता उनका सारा गैरसंवैधानिक खेल, क्रियाकलाप र अभ्यासहरू भारत नियन्त्रित र निर्देशित छन् ।

साँच्चै भन्ने हो भने दोस्रो जनआन्दोलन २०६२–६३ मा पनि ओलीको खासै भूमिका र योगदान थिएन । उनलाई परिवर्तन होला भन्ने पत्यार पनि थिएन । उनी भित्रभित्रै ज्ञानेन्द्रसित मिलेका थिए । खासमा त्यसबखत उनी ज्ञानेन्द्रका विश्वासपात्र र कथित स्वच्छ छविका भएर प्रधानमन्त्री हुन चाहन्थे । त्यसैले निरन्तर दरबार र दरबारियाको चाकडीमा क्रियाशील थिए । सारा वामपन्थी दर्शन, आदर्श र सिद्धान्तबाट उनी त्यतिबेलै च्युत भइसकेका थिए । त्यसैले उनी एक बिग्रिएका कम्युनिष्ट हुन् भन्दा गल्ती हुँदैन ।

बिहिबार, १३ फागुन, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर