प्रभावकारी बन्न सकेन ‘बुक कर्नर’ कार्यक्रम

उर्लाबारीका अधिकांश विद्यालयमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । बुक कर्नर बनेकै केही विद्यालयमा किताब छैनन् ।

उर्लाबारी । सामुदायिक विद्यालयका प्रत्येक कक्षा कोठामा बुक कर्नर (किताब कुना) राख्नु पर्ने भएपनि मोरङको उर्लाबारीमा प्रभावकारी देखिएको छैन ।

बुक कर्नरका लागि सन् २००४ देखि सरकारले विद्यालयलाई अनुदान दिँदै आएको छ तर अधिकांश विद्यालयमा बुक कर्नर कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । स्थानीय तह अधिकार सम्पन्न भएको झण्डै चार वर्षको अवधिमा विकास निर्माणका कार्यले जति तीब्रता पाएका छन्, शैक्षिक विकासमा त्यो गति छैन । उर्लाबारी नगरपालिकामा पनि चार वर्षयता र त्यसअघिको शैक्षिक विकासमा कुनै ठूलो अन्तर देखिँदैन । नगरपालिकाको तथ्यांक अनुसार उर्लाबारीमा रहेका ५५ विद्यालय मध्ये २२ सामुदायिक र ३३ संस्थागत विद्यालय रहेका छन् । माध्यमिक तहसम्म सञ्चालित २७ (९ सामुदायिक र १८ संस्थागत) र आधारभूत तह सञ्चालित २९ (१३ सामुदायिक र १६ संस्थागत) ले उर्लाबारीको विद्यालय तहको शिक्षामा योगदान पु¥याउँदै आएका छन् ।

सरकारले सामुदायिक विद्यालयमा बुक कर्नर कार्यक्रम लागु गरेको छ । कक्षा एक देखि कक्षा पाँचसम्मका प्रत्येक कक्षामा उपयुक्त सामग्री संकलन गरी बुक कर्नर स्थापना गर्नु पर्ने प्रावधान रहेको छ । विशेष गरी कक्षा एक देखि तीनसम्ममा पढाई सीप जस्ता आधारभूत सीप सिक्न र कक्षा चार देखि माथि सिक्नको लागि पढाइ भएको हुनाले सोही अनुरुप बुक कर्नर ÷ किताब कुनाका पुस्तकहरु व्यवस्थित गर्नुपर्दछ । विद्यार्थी संख्याका आधारमा सरकारले उपलब्ध गराएको रकम प्रभावकारी रुपमा बुक कर्नर खर्च हुन पनि नसकेको पाइएको छ । उर्लाबारीका अधिंकाश विद्यालयमा यो कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । बुक कर्नर बनेकै केही विद्यालयमा किताब छैनन् । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरतप्रति विद्यार्थी वार्षिक १ सय ५० रुपैयाँका दरले वितरण गरिँदै आएको छ । उर्लाबारी–६ को नमूना विद्यालय राधिका माध्यमिक विद्यालय पुग्दा बुक कर्नर राख्नु पर्ने स्थानहरुमा किताबै थिएनन् । ५ वटा कोठाको अगाडि पट्टीको भागमा तार टाँगेर किताबहरु राखेपनि प्रभावकारी बन्न नसकेको विद्यालयका प्रधानाध्यापक कुमार पोख्रेलले जानकारी दिनुभयो । गत बर्ष आएको २३ हजार रुपैयाँको किताब खरिद गरिएको भएपनि विद्यार्थीहरुले खासै रुची नदेखाएका कारण प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ । विद्यार्थीको रुची र चाहना अनुसारका किताबहरु राख्न नसकेको कारण पनि बुक कर्नर प्रभावकारी बनाउन नसकेको उहाँले स्वीकार गर्नुभयो । उहाँले अनलाइनमार्फत किताब पढ्ने क्रम बढेसँगै बुक कर्नरको महत्व कम भएको बताउनुभयो ।

यता उर्लाबारी–२ को सुनपकुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक भूमि प्याकुरेलले कक्षा ४ सम्मका विद्यार्थीहरुलाई बुक कर्नर कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो । गत आर्थिक वर्षमा करिब ११ हजार प्राप्त भएको र त्यसबाट पुस्तक खरिद गरेको उहाँको भनाइ छ । स–साना विद्यार्थीहरुलाई चित्रसहितका पुस्तकहरु आवश्यक रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुमा पुस्तक पढ्ने बानीको विकास हुने क्रम बढिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यथेष्ट बजेट ब्यवस्था नहुँदा प्रभावकारी बन्न भने सकेको छैन ।

त्यस्तै, उर्लाबारी–९ को प्रभात आधारभूत विद्यालयका प्रधानाध्यापक मोहन चापागाईले पनि उचित बजेटको ब्यवस्थापन भएको खण्डमा बुक कर्नर कार्यक्रम थप प्रभावकारी बन्ने बताउनुभयो । गत बर्ष २ हजार ४ सय रुपैयाँ प्राप्त भएको र सोही बजेटबाट पुस्तक खरिद गरेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीहरुको बुक कर्नरप्रति चासो दिन थालेको उहाँको अनुभव छ । बुक कर्नरलाई थप प्रभावकारी बनाउन छुट्टै शिक्षक र कक्षा कोठामा ¥याकको ब्यवस्थापन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उर्लाबारीका २२ वटै सामुदायिक विद्यालय बुक कर्नर कार्यक्रम लागु भएपनि प्रभावकारी बन्न सकेको देखिँदैन । कम बजेटका कारण विद्यार्थीहरुले खोजेका पुस्तकहरु ख्रिद गर्न नसकिने भएकाले यो कार्यक्रम प्रभावकारी बन्न नसकेको शिक्षकहरु बताउँछन् ।

बुक कर्नरको अवधारणा, लक्ष्य तथा उद्देश्य थाहा भएपनि अधिकांश शिक्षकले अझै यसको बारेमा बुझ्न नसक्दा विद्यार्थी पठन संस्कृति विकासका लागि ल्याइएको कार्यक्रम प्रभावकारी बन्न नसकिरहेको हो । बुक कर्नर सम्बन्धित कक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीलाई व्यवस्थित गर्नका लागि सन् २००४ देखि कार्यान्वयनमा ल्याइएको थियो । विद्यार्थीको पठन सिपमा सुधार गर्ने उद्देश्यले यो कार्यक्रम लागु गरिएको जनाइएको छ ।

अनुगमन नै छैन

उर्लाबारीका सामुदायिक विद्यालयमा बुक कर्नर कार्यक्रम लागु भएको भएपनि अनुगमनको अभावमा प्रभावकारी बन्न सकेको छैन । प्रतिविद्यार्थी १५० रुपैयाँ दरले रकम विनियोजन गर्दै आएको उर्लाबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख प्रकाश गुरुङले जानकारी दिनुभयो । विद्यार्थीको संख्याका आधारमा विद्यालयलाई बुक कर्नरका लागि बजेट प्रदान गर्दै आएको भएपनि अनुगमन गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिमार्फत बुक कर्नरका लागि आवश्यक पुस्तक खरिद गर्ने गरिएको उहाँले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाले कक्षा ८ को परीक्षा सञ्चालनसहित शिर्षकमा ४३ लाख ५६ हजार रुपैयाँ बजेट ब्यवस्थापन गरेको उहाँले बताउनुभयो । यस वर्षको बजेट वितरण भइनसकेको उहाँले जानकारी दिनुभयो ।

विद्यार्थी र शिक्षक नै अनविज्ञ

बुक कर्नरका बारेमा अधिकांश विद्यार्थी तथा शिक्षकसमेत अनविज्ञ देखिएका छन् । विद्यालयहरुले यो कार्यक्रमलाई प्राथमिकतामा नराखेका कारण पनि यस बारेमा चासो कम देखिएको हो । यो कार्यक्रम कडाइका साथ लागु नभएका कारण पनि वर्षेनी विनियोजन हुने यो रकम बालुवामा पानी खन्याए बराबर भएको छ । कम बजेटका कारण पनि ब्यवस्थित रुपमा बुक कर्नर कार्यक्रम लागु गर्न नसकेको स्वम् विद्यालयहरु स्वीकार गर्छन् । पहिले बनेका भौतिक संरचनामा बुक कर्नरका लागि आवश्यक संरचना नबनेका कारण कुनै विद्यालयले तार र डेक्समा किताब राख्ने गरिएको छ । जसले गर्दा पुस्तकहरुको उचित संरक्षण हुन सकेको देखिँदैन । कति विद्यार्थी तथा शिक्षकहरुलाई नै बुक कर्नरका बारेमा जानकार छैनन् ।

बजेट कम

सरकारले प्रति विद्यार्थी १५० रुपैयाँको दरले विद्यार्थी संख्याको आधारमा बजेट ब्यवस्थापन गर्ने गरिएको छ । त्यो रकम बुक कर्नरका लागि आवश्यक पुस्तक खरिद गर्न बजेट अपुग हुने गरेको प्रभात आधारभूत विद्यालय प्रधानाध्यापक मोहन चापागाईले बताउनुभयो । बजेट कम भएका कारण पुस्तक छनोट गर्दा बालबालिकाको उमेर, रुचि , कक्षार तह, स्थानीयता, विषयगत सान्दर्भिकता, भाषा र विविधतालाई आधार मानेर खरिद गर्न नसकेको उहाँको अनुभव छ । स–चित्र भएका पुस्तकहरु बालबालिकाहरुले बढी रुची राख्ने गरेको उहाँले बताउनुभयो ।

निष्कर्ष

बुक कर्नर कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाको शिक्षा शाखाले कडाइका साथ अनुगमन गर्न आवश्यक देखिएको छ । विद्यार्थीहरुलाई पढ्ने बानीको विकास गराउँदै पुस्तकहरुको संरक्षणका लागि विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले जिम्मेवार बनाउन सक्नु पर्छ । कम बजेटका कारण विद्यार्थीहरुले खोजेका पुस्तकहरु खरिद गर्न विद्यालयहरुलाई समस्या भएको पाइएको छ । विद्यालयले समेत कम चासो राखेका कारण यो कार्यक्रम प्रभावकारी बन्न नसकेको हो । सरकारले कार्यक्रम लागु गर्ने तर, प्रभावकारी अनुगमन नगर्ने गरेका कारण बर्सेनी छुट्टिएको रकम सदुप्रयोग हुन सकेको देखिन्न । यसलाई प्रभावकारी बनाउन सर्वप्रथम विद्यार्थीहरुले खोजेका पुस्तकहरु उपलब्ध गराउन अतिआवश्यक छ । स–साना बालबालिकाहरुलाई विशेष गरी चित्रसहितका पुस्तकहरुको ब्यवस्थापन गर्न पर्दछ । र, पुस्तकहरु राख्ने ¥याकको ब्यवस्था मिलाउनु पर्छ । नगर शिक्षा शाखा, विद्यालय ब्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको भूमिका विना यो कार्यक्रम प्रभावकारी बन्न सक्दैन । तसर्थ यस कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बनौं, विद्यार्थीहरुलाई पढ्ने वातावरण तयार गरौं । अनिमात्र बुक कर्नर कार्यक्रम प्रभावकारी बन्ने देखिन्छ ।

बुधबार, ०५ फागुन, २०७७, बिहानको १०:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर