विराटनगर । उच्च शिक्षाका लागि गुणस्तरीय शिक्षा दिने संस्थाहरू खुलेसँगै विराटनगरले शैक्षिक क्षेत्रमा फड्को मारेको छ ।
शैक्षिक गुणस्तरदेखि सुविधा सम्पन्न भौतिक पूर्वाधारहरू निर्माण हुन थालेपछि भने काठमाडौं जाने विद्यार्थीहरूको रोजाइ पनि विराटनगरका नाम चलेका उच्च माविहरू नै बन्न थालेका छन् ।
विगतमा सरकारीस्तरका क्याम्पसले भरथेग गरेको यहाँको उच्च शिक्षाको बागडोर अहिले निजी क्षेत्रका कहलिएका कलेजले सम्हालिरहेका छन् । ‘कुनै समय उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरू काठमाडौं धाउने गरेका थिए, तर, अहिले ठूलो परिवर्तन भएको छ,’ एभरेष्ट स्कुलका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले भन्नुभयो, ‘गुणस्तर र पूर्वाधारमा लगानी गरि सुविधा सम्पन्न बन्दै गइरहेको विराटनगरमा अहिले नेपालकै उत्कृष्ट भित्र पर्ने उच्च माविहरू छन् ।’
जसमा व्यवस्थापन, शिक्षा, विज्ञान संकाय र प्राविधिक तहका कक्षाहरू सहज रुपमा विद्यार्थीहरूले पढ्न पाएका छन् । हिंजो एसइइ पछि राम्रा कलेजहरू खोज्नको लागि काठमाडौं धाउने यहाँको अविभावक स्थानीय क्षेत्रमा लोकप्रियता कमाइरहेका सामुदायिक देखि निजीस्तरबाट सञ्चालित कलेजहरूमा जाने गरेका छन् ।
विराटनगरमा सरकारी र निजी तहका राम्रो नतिजा पाइरहेको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित कलेजहरूले पनि काठमाडौं सहरको सुविधा प्रदान गरिरहेको शिक्षाविद्हरू बताउँछन् ।
एसइइ पछि अध्ययन गर्न सकिने प्राविधिक ल्याबदेखि कम्प्युटर इन्जिनियरिङ र सिभिल इन्जिनियरिङसम्मका कक्षाहरू अहिले विराटनगरमा सञ्चालनमा आइरहेका छन् । जसका कारण हिंजो घर छोडेर बाहिर जानुपर्ने विद्यार्थीलाई आफ्नो घर आँगनमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने खुसीको विषय बनेको हो ।
हरेक वर्ष विराटनगरका निजी उच्च माविहरूमा ८ देखि १० हजार विद्यार्थी भर्ना हुने गरेको छ । विराटनगरमा रहेको दुई दर्जन निजी उच्च माविहरूमा यस वर्ष शैक्षिक शत्रमा कक्षा ११ मा १० हजार विद्यार्थी भर्ना भएको हिसान मोरङका अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो । शैक्षिक योगदानको कुरा गर्दा निजी क्षेत्रमा पढ्ने विद्यार्थीको संख्या थपिने क्रममा पुगेको छ । ‘हरेक वर्ष विराटनगरका उच्च माविहरूमा पढ्ने विद्यार्थीहरूको संख्यमा वृद्धि आएको छ,’ उहाँले भन्नुभयो, ‘यो राम्रो सुरूवात हो । यहाँका उच्च माविहरूमा गुणस्तरीय शिक्षा दिनमा अब्बल सावित छन् । त्यही भएर पनि प्रदेश १ का मात्र नभए प्रदेश २ का विद्यार्थीको रोजाइ पनि विराटनगरका उच्च माविहरू छ ।’ यस वर्ष कोभिडका कारणले गर्दा पनि धेरै विद्यार्थीहरू काठमाडौं छोडेर विराटनगरमा पढ्न आएका छन् ।
एसइइ उत्तीर्ण गरेर तराई र पहाडी जिल्लाबाटसमेत विद्यार्थीहरू विराटनगर आउने गर्छन् । प्लस टु साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटेल म्यानेजमेन्ट पूरा गरेर स्नातक तहको कक्षा पनि यतै लिने आधाभन्दा धेरै छन् । विराटनगरले स्नातक तहको पढाइमा पनि प्रदेश २ का विद्यार्थीलाई समेत तान्दै आएको छ । प्लस टु गर्न काठमाडौं र भारतको सीमावर्ती सहर जाने चलनमा कमी भएको छ । प्लस टु सकेर स्नातक पनि यतै पढ्ने विद्यार्थीकै कारण यहाँका कलेजमा विद्यार्थीको चाप देखिन्छ ।
हरेक वर्ष विराटनगरबाट २ हजार बढी विद्यार्थीले स्नातक तहको लागि भर्ना हुने गरेको हिसानका केन्द्रीय उपाध्यक्ष तथा मेरिल्याड कलेजका संस्थापक संचालक भेषराज पोखरेलले जानकारी दिनुभयो । विज्ञानबाहेक अन्य विषयको कुरा गर्ने हो भने यहाँ बर्सेनी गुणस्तरीय र व्यवहारिक स्नातक तह पूरा गरेर उत्तीर्ण हुने विद्यार्थीको संख्या बढेको उहाँले बताउनुभयो । उहाँले पहिले सरकारी कलेजमा मात्र निर्भर रहनुपर्ने विद्यार्थीले अहिले आफ्नो इच्छा चाहना अनुसार नै खोजे जस्तै कलेजमा पढ्न पाएको बताउनुभयो । ‘अहिले निजी उच्च माविहरूले पूर्वाधारमा पाँच गुणा बढी लगानी गरेका छन् । त्यही अनुसार गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्,’ उहाँले हाम्रोमतसँग भन्नुभयो, ‘त्यही भएर पनि विराटनगरको उच्च माविहरूमा विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।’
अहिले धेरै कलेजले प्लसटुसँगै स्नातक शिक्षालाई पनि आफ्नो प्राथमिकतामा राखेर भौतिक पूर्वाधारहरूमा लगानी गरिरहेका छन् । ‘पाँच वर्ष अगाडिको कलेज र पछिको कलेजहरूको भौतिक पूर्वाधार आकाश, जमिनको फरक छ,’ हिसानको उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘अब विद्यार्थीले भनेजस्तै र खोजेजस्तै शिक्षा प्राप्त गर्न विराटनगर बाहेक काँही जानुपर्र्दैन । काठमाडौंको शिक्षा यहीँका कलेजहरूले दिँदै आएको छ ।’
विराटनगर महानगरभित्रै मेरिल्याण्ड, अरनिको, अर्किड, लर्डबुद्ध, ग्रोग्राह, कोवास, एभरेष्ट, कान्तिपुर, कोशीलगायतक निजी उच्च माविहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । यस्तै अहिले स्नातक तहमा सरकारी महेन्द्र मोरङ कलेजसहित एक दर्जन निजी कलेजहरूले स्नातक शिक्षामा गुणस्तरीय शिक्षा दिइरहेका छन् । हिमालय दर्शन, निहारिका, कोशी, युनिभ, विराट क्याम्पस, एम्स कलेज, सिटी कलेज, एप्लाइडलगायतले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् ।
प्राविधिक शिक्षा पनि यहींबाट
विराटनगरका सामुदायिक विद्यालयहरूले संचालन गरेको प्राविधिक शिक्षामा विद्यार्थीहरूको आकर्षण बढेको छ । विराटनगरस्थित आर्दश, पोखरीया, सत्यनारायण, गोग्राहलगायतका उच्च माविहरूले संचालन गरेको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढेको हो ।
विराटनगरस्थित आर्दश उच्च माविको प्राविधिक शिक्षामा विद्यार्थीको चाप रहेको स्कूलका प्रचार्य तुलसीप्रसाद दुलालले जानकारी दिनुभयो । एइइ पास गरेका विद्यार्थीहरूको लागि आदर्शले डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, १८ महिनाको आइटी कोर्ष सुरु गरेको एक दशक भन्दा बढी भएको छ । सीपसहितको अध्ययन गर्ने विद्यार्थी अहिले बढेको प्रअ दुलालले बताउनुभयो । ‘अहिलेको समय भनेको कमाएर खाने हो । स्किल बेचिन थालेको छ । सर्टिफिकेटभन्दा पनि अहिले सीप बिक्ने गरेको छ । त्यही भएर अहिलेको युवाको रोजाइमा रोजगारमुखी शिक्षा आकर्षणको केन्द्र बनेको हो,’ उहाँले भन्नुभयो, ‘सैद्धान्तिक ज्ञानभन्दा पनि सीपसहितको शिक्षा अहिलेको आवश्यकता हो ।’
मोरङमा प्लस टु अध्ययन गर्ने उच्च मावि ६० छन् । त्यसमध्ये हिसान मोरङमा ४५ वटा उच्च मावि आवद्ध छन् । जसमध्ये विराटनगरका २५ वटा छन् । विराटनगरमा ८ वटा सामुदायिकसहित ३३ वटा उच्च माविहरू रहेको विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिनुभयो ।