डकैतिको नयाँ रुप ‘मिटर व्याज’

 सम्पादकीय

हाम्रो समाजमा पछिल्ला केहि वर्षहरुमा आपराधिक घटनाहरुले नयाँ रुप लिन थालेका छन् । अघिल्लो दशकसम्म अपराधको पर्याय गुण्डागर्दी थियो । दुई दशक अगाडि डकैति नै अपराधको मोडल बनेको थियो । विज्ञानको विकाससँगै अपराधको अनुसन्धानमा आएको विकासले गर्दा हालका दिनहरुमा हाम्रा समाजहरुमा अपराध पनि त्यहि अनुसार गरिवर्तन भएर आएको छ ।

धन सम्पत्ती आर्जन गर्न अपराधीहरुले कुनै समय लुटपाट र डकैतिको सहारा लिन्थे भने अहिले त्यो डकैतिलाई उनीहरूले वैधानिक वनाउन खोजिरहेको देखिन्छ । जसको उदाहरण हो पछिल्लो समय बढ्दै गएको मिटर व्याजी कारोबार । हालै विराटनगरमा एजाज अहमदको एक समूहले संगठित मिटर व्याजको सञ्जाल नै परिचालन गरेको भेटिएको हो । आरोपि एजाज अहमदलाई हाल जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

संगठित रुपमा मिटरब्याजको कारोबार गर्दै आएको आरोपमा पक्राउ परेका अहमदलाई जिल्ला अदालत मोरङले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो । विराटनगर महानगरपालिका–९ घर भएका एजाज मिटरब्याजमा लगानी गर्ने र जबरजस्ती रकम असुल गर्ने गिरोहका नाइके हुन् । एक वर्षअघि विराटनगरकै एक ३२ वर्षीय पुरुषलाई १५ लाख रुपैयाँ ऋण लगानी गरेका एजाजको समूहले अपहरण शैलीमा लगेर एक करोड १० लाखको छुट्टाछुट्टै चेक बनाएर छाडेको थियो । १५ लाख रुपैयाँको सावाँ–ब्याज गरी १७ लाख रुपैयाँ बुझाएका ती पुरुषबाट जबरजस्ती ५० लाख र ६० लाखको चेकमा हस्ताक्षर गर्न लगाई चेक लिएर गएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी परेको थियो ।

एजाजको गिरोहले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्ने गर्दै आएको थियो । छोटो समयमा उल्लेख्य आर्थिक प्रगती गरेका एजाजको समूहले १५ लाख रुपैयाँ ऋण लिएका पुरुषलाई ऋण चुक्ता भएपछि पुनः ४५ लाख ऋण लिएको तमसुक गराएको थियो । तमसुक देखाएर ६० लाख माग्दै बारम्बार धम्की दिएका थिए । यसरी विज्ञान तथा प्रविधिको विकाससँगै भएको अपराधको शैलीलाई पहिचान गर्न र निवारण गर्न सरकार तथा प्रहरी प्रशासनले पनि सजगता अपनाउन जरुरी छ । राज्यका निकायहरु यस्ता अपराधको पहिचान गर्न र आफ्ना जनताहरु लुटिनवाट जोगाउन सके मात्र जनताले सुशासनको अनुभुति गर्न पाउने छन् । नत्र समृद्ध जनता सुखी नेपालीको नारा गफमा मात्र सीमित हुनसक्छ ।

मङ्गलबार, ०६ माघ, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर