गोकुल पराजुली
जीवनमा हाम्रा ‘बा’ को खास ठूला सपनाहरु थिएनन् । खेतबारी, हलोकोदालो, जहान छोराछोरीको लालनपालनको दैनिकीमा अल्झिएका हाम्रा ‘बा’ले बढेमानका सपनाहरु देखेनन् । हातमुख जोर्ने, अर्को वर्षका लागि अन्नपातको जोहो गर्ने, दुईचार पशुधन बढाउने, छोराछोरीलाई पढाउने सामान्य सपना बाहेक हाम्रा ‘बा’का पनि केही सपना चैं थिए । आफु बसेको गाउँसम्म मोटरबाटो बनाउने सपना पुरा गर्न नसकेपनि घोरेटो बाटो ‘बा’ कै अग्रसरतामा बनेको थियो । आफ्नो घरसम्म खानेपानीको पाइप नल्याएपनि ‘बा’ले पल्लो गाउँको घरघरमा पानी पु¥याएका थिए ।
‘बा’ बाख्रापालक किसान पनि थिए त्यसैले उतिबेलै व्यवसायिक बाख्रापालनमा गाउँलेहरुलाई अग्रसर गराएका रहेछन् । उत्पादन बढाउन आफ्नो घरबारी बैंकमा धितो राखेर गाउँभरीका किसानलाई खादमल पु¥याएर ‘बा’ले पञ्चायत कालको गाससको इज्जत धानेका रहेछन् । अहिले आएर यसो सोच्छु हाम्रा ‘बा’ का पनि सपना रहेछन् । ‘बा’ले स–साना सपना देखेका रहेछन् त्यसैले ति पुरा भएका होलान् । बाले त्यतिबेला गाउँमा तरकारी बोक्ने ट्रक कुलाउने सपना देखेका भए, बाले मेडिकल कलेज गाउँमै खोल्ने सपना देखेका भए मेरा ‘बा’ गाउँका हावादारी कहलिन्थे होला । धन्न आज मेरा ‘बा’लाई त्यस्तो आरोप लागेको छैन । मेरा ‘बा’ले समय अनुसारकै सपना देखे, क्षमता अनुसारकै सपना देखे ।
आजभोलि देशमा ‘बा’ को चर्चा चुलिएको छ । ‘बा’ भनेपनि उहाँ कसैका पियोर ‘बा’ भने होइनन् । भूमिकाले पनि उनी कसैका ‘बा’ होइनन् । केवल उमेरले ‘बा’ । हुन त आजभोलि हजुरबुबा लाई ‘बा’ भन्न थालिएको छ । अहिले चर्चित ‘बा’ हजुरबुबा पनि हैनन् । भर्खर त जुँगा कालोकालो हुँदै गरेको जवान कसरी हजुरबा हुनसक्छन् र । तरपनि ‘बा’को चर्चा छ । ‘बा’को चर्चा यस कारणले छ कि उनको सपना छ । उनको सपना मेरा ‘बा’को जस्तो छैन । यस्तो सपना छ जुन सपनाले ‘बा’लाई लामो समयसम्म सम्झिरहनुपर्छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा ‘बा’को कार्यकालमा भारतले नेपाल पस्ने बाटो बन्द गरिदियो । ‘बा’ले मोरङकै भाउन्नेतिर पेट्रोल खानी खन्ने सपना देखे । भारतले ग्याँसको हाहाकार गरिदियो, ‘बा’ले घरघरमा ग्याँसको पाइपलाईन पु¥याइदिने सपना देखे । लोडसेडिङले हैरान हुँदा ‘बा’ले हावाबाट बिजुली निकाल्ने सपना देखे । चीनबाट गाडीमा पेट्रोल ल्याइपु¥याउन नसकेपछि ‘बा’ले तिब्बत–काठमाण्डौ–लुम्बिनी रेल चलाउने सपना देखे । पूर्वपश्चिम रेल चलाउने सपना देखे । स्टेसनहरु कहाँकहाँ राख्ने सपना देखे । सात समुन्द्रमा नेपाली पानी जहाज चलाउने सपना देखे । आफ्नै स्याटेलाइट आकासमा राख्ने सपना देखे ।
कतिपय सपना ‘बा’ पुरापनि गरे । विराटनगरमा गौशाला समितिले बनाएकै भएपनि गोबरग्याँसको पाइप घरघर पु¥याइदिए । मुस्ताङमा एउटा फिरफिरे चलाएर हावाबाट बिजुली निस्कियो त भनिदिए । उत्तरबाट नभएपनि दक्षीणबाट एउटा रेल किनेर त्रिपालले छोपेर राखिदिएकै छन् । दैलेखतिर पेट्रोल खोजिराखेकै छन् । समुन्द्रहरुमा अहिले पनि जहाड दौडेकै छन् भलै त्यहाँ नेपाली झण्डा राख्न बाँकी छ क्यारे । जापानबाट उडाएको एउटा फुच्चो स्याटेलाइट आकासबाट फर्केको छैन । राष्ट्रिय ‘बा’ले पनि धेरै सपना पुरा गरेकै छन् ।
यि ‘बा’ ठूला दिमागका थिए ठूलै सपना देखेछन् । ‘बा’ का केही सपना अझै बाँकी छन् । ‘बा’ ले ५ वर्ष प्रधानमन्त्री बनिरहने सपना देखेकाछन् । खुट्टो अल्झाउन खोजेपछि कुर्सीको खुट्टो भाँचेरै भएपनि त्यो सपना पुरा गर्ने ध्याउन्नमा छन् ‘बा’ । ‘बा’ भन्छन् सपना देख्नुपर्छ । जसले सपना देख्छ उसैले पुरा गर्छ । म पनि कहिलेकाँही सपना देख्छु आकाशमा उडेको, भीरबाट फालहानेको, करोडकरोड गनेको । तर, मैले देखेका ति अस्वभाविक सपना अहिलेसम्म पुरा भएका छैनन् । मलाई लाग्छ कतै मेरा सपनामा त दोष छैन ? सपनाहरुको दोष ‘स्वप्न दोष’ चाँही यथार्थमा रुपान्तरण हुनेरहेछ कतिपय बेलामा । सपनाहरु सान्दर्भिक, समय र क्षमता अनुसारको देखियो भने पुरा नहुने कुरा पनि हुँदैन । नत्र केवल स्वप्न दोष मात्र । राष्ट्रिय चर्चाका ‘बा’ का सपनाहरु स्वप्न दोष झैं झरेर नबिलाउन् शुभकामना ।