अनन्तराज न्यौपाने
राजनीतिमा कुनै एजेन्डा, मुद्दा र अग्रगामी सोच नभएपछि दलका नाइके र अन्य नेताहरू विक्षिप्त मुद्रामा प्रस्तुत हुन्छन् । लाग्छ, अहिलेका प्रधानमन्त्री केपी शर्मा र तिनका मतियारको अवस्था यस्तै छ । कुनैबेला ‘अब सनक चढ्नेबित्तिकै कुनै प्रधानमन्त्रीले पनि प्रतिनिधिसभा भङ्ग गर्न सक्तैन’ भनेर भाषण गरी हिँड्ने पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ हिजोआज कुन दुलामा छन्, कसैलाई अत्तोपत्तो छैन । अर्कातिर प्रधानमन्त्री ओली आफ्नै समकक्षी नेताका क्यारिकेचर गर्न व्यस्त छन् । सार्वजनिक सभामा औपचारिक रूपमा भाषण गर्दा व्यक्तिगत रूपमा कसैको खिसिट्युरी गर्नु र व्यक्तिविशेषको क्यारिकेचर गर्नु असभ्यता र अशिष्टताको नमुना हो । लोकतन्त्रमा एउटा दलले अर्को दलसित वैचारिक र सैद्धान्तिक सङ्घर्ष गरिरहेको हुन्छ । तर, प्रधानमन्त्री ओली र उनका मतियारका कथन सुन्दा अंशबण्डामा झगडा परेका कुनै असभ्य दाजुभाइको स्वरजस्तो लाग्छ । ओलीले अपनाएको क्यारिकेचर र खिसिट्युरीको शैली एउटा अराजनीतिक र छुद्र मार्ग हो । यसले अन्ततः ओलीलाई नै खाडलमा हाल्ने निश्चित छ ।
ओलीले सर्वोच्चका ४ पूर्वप्रधानन्यायाधीशलाई पनि धम्क्याउन भ्याएका छन् । मुलुकलाई अप्ठ्यारो परेका बेला र संविधान नै ध्वस्त हुन्छ कि भन्ने भय तेर्सिएका समयमा देशको सर्वसाधारण नागरिकसरह पूर्वप्रधानन्यायाधीशहरूको समेत स्वर आएको छ । कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेजस्तो नेपालमा हुन लागेको असंवैधानिक जात्रालाई रोक्नु आज सम्पूर्ण मुलुकवासीको कर्तव्य हो । यही कर्तव्यलाई पूर्वप्रधानन्यायाधीशहरूले निर्वाह गरे त, के जुलुम गरिहाले ? तर, पूर्वप्रधानन्यायाधीशहरूको विज्ञप्तिले ओलीको किड्नी कामेछ, मुटु हल्लिएछ । एउटा अपराधी मन्दिर देख्ता पनि डराउँछ, झ्यालखाना देख्ता पनि भाग्छ । आज ओली त्यही अपराधीसरह छन् । उनी जे देख्छन्, सुन्छन् र पढ्छन्, त्यसैबाट भयातुर हुन्छन् । यो उनको अपराधबोधको लक्षण हो । तर, ७५ रुपैयाँको गोलीसित नडराउने मीनबहादुरहरू ७५ आनाको पनि तौल नभएको ओलीको बोलीसित पक्कै पनि भयग्रस्त हुँदैनन् ।
ओली र देउवा फरक पार्टीका अवश्य हुन् । तर, दुबैका मनपेटमा लोकतन्त्रविरोधी एउटै रसायन छ । उनीहरू दुबैको केमेस्ट्री मिल्छ । देउवाले मध्यरातमा प्रतिनिधिसभासहित सिङ्गो प्रजातन्त्र ज्ञानेन्द्रको दरबारमा बुझाएथे । त्यसबखत उमेरले ८० नाघेका गिरिजाप्रसाद सडकमा निस्कन्थे, पार्टी फुटाएर हिँडेका शेरबहादुर दरबारले मुन्सिएको भाग पाउन शाही शासनको चाकडीमा व्यस्त हुन्थे । ज्ञानेन्द्रबाट अब कुनै हालतमा सत्ता पाउँदिन भन्ने लागेपछि र भारतको इसारा पनि बुझेपछि शेरबहादुर २०६२–६३ को आन्दोलनमा लागिटोपलेका हुन् । नभए उनी १७ सालका डाक्टर तुलसी गिरि र विश्वबन्धु थापा भइसकेको थिए । गिरिजाप्रसादले गङ्गाजल छर्केर शेरबहादुरलाई फेरि काङ्ग्रेस नबनाएका भए आजसम्ममा देउवा कमल थापाको अध्यक्ष हुने हैसियतसम्म राख्थे ।
खासमा नेपाली काङ्ग्रेसले २०४२ मा चलाएको सत्याग्रह आन्दोलनपछि नै विपिन कोइरालासँगै शेरबहादुर देउवा पञ्चायत प्रवेश गर्न खोजेका थिए । जानकारहरूका अनुसार विपिन कोइराला, शेरबहादुर देउवालगायत ४ जनाले पञ्चायत पस्न गोरखापत्रमा पठाएको वक्तव्य गोरखापत्रकै एक काङ्ग्रेस समर्थक कर्मचारीका पहलमा ३ दिन लुकाइयो । अन्तमा तत्कालीन काङ्ग्रेस सभापति कृष्णप्रसाद भट्टराईले देउवालाई अध्ययनका लागि बेलायत पठाइदिने भए र देउवाले वक्तव्य फिर्ता लिए । यसरी शेरबहादुरको बुद्धि ज्ञानेन्द्रको शासनभन्दा अघि नै भ्रष्ट भइसकेको थियो । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना नभएको भए शेरबहादुर बेलायत छाडेर नेपाल आउने थिएनन् । २०४६ को आन्दोलनमा देउवाको खासै योगदान पनि थिएन ।
अर्कातिर तत्कालीन राजा ज्ञानेन्द्रसित पछाडिबाट हात मिलाएका ओलीले २०६२–६३ को आन्दोलनलाई साथ दिएको देखिएन । उनलाई आन्दोलनले राजाको सत्ता पल्टाउने कुरामा विश्वास थिएन । त्यसैले नेपालमा गणतन्त्र ल्याउनु भनेको वयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो भनेर भाषण गर्थे । उनले आन्दोलनको विरोधमा वक्तव्य दिएको पनि घामजत्तिकै छर्लङ्ग छ । र नै, आज ओली र देउवाको बोलीमा लोली गाँसिएको हो ।
कथं कदाचित् प्रतिनिधिसभाको पुनःस्थापना भयो भने देउवाको दल नेपाली काङ्ग्रेस तेस्रो स्थानमा पर्ने निश्चित छ । पहिलो र दोस्रो त फुटेका वामपन्थी नै हुनेछन् । त्यसैले देउवालाई लोकतन्त्रको मेरुदण्ड प्रतिनिधिसभा चाहिएको छैन । बरु चुनाव चाहिएको छ, जुन वैशाखमा हुनसक्तैन । वैशाखमा नभएपछि कहिले हुन्छ टुङ्गो छैन । तर, देउवालाई आशा छ, राजनीतिको पानी धमिलो भयो भने माछा मार्न पाइन्छ । त्यो माछाले प्रधानमन्त्रीको कुर्सीमा पु¥याउन सक्छ । आखिर ज्योतिषीले भविष्यवाणी त गरेकै छन्, ‘देउवाजी तपाईं ७ पटक प्रधानमन्त्री बन्नु हुनेछ ।’