श्रीमन्त भट्टराई
स्वार्थ र अहम् बोकेका केही निश्चित नेताहरुको संरक्षण पाएका कारण विगतमा नमुना बन्न सफल विराटनगरको जनता मावि बन्द हुने अवस्थामा पुग्दा निम्न सरोकारवाला पक्षलाई मेरो प्रश्न छः
१) एउटा राजनीतिक दलका केही निश्चित नेता कार्यकर्ताले आफ्नो स्वार्थका लागि विद्यालयलाई खेलाउनाको रुपमा प्रयोग गर्दैगर्दा अन्य राजनीतिक दल र नेतृत्वले विरोधमा बोल्न अनि विद्यालय सुधारको लागि आवाज उठाउन सक्ने कि नसक्ने ?
२) जनता माविले आज देशका प्रतिष्ठित विद्यार्थी उत्पादन गरेको छ । त्यहाँबाट हजारौंको संख्यामा दक्ष र क्षमतावान विद्यार्थीहरु उत्पादन भएका छन् । आफू पढेको विद्यालय बन्द हुने अवस्थामा पुग्दैगर्दा त्यसको संरक्षण र विकासका लागि पूर्वविद्यार्थीहरुले पहल गर्ने कि नगर्ने ?
३) जनता मावि विराटनगरको मुटुमा अवस्थित विद्यालय हो । अहिले पनि हजार बढी संख्यामा विद्यार्थी उपस्थित हुन सक्छन् । यस्तो विद्यालय आसपासमा भएको नागरिक समाज, अभिभावक संघ, सामाजिक संघसंस्था, उद्योगी व्यवसायी, समाजसेवीले जनता माविको संरक्षण र विकासमा पहल गर्ने कि नगर्ने ?
४) महानगरले जानाजान एउटा मावि तहको विद्यालय बन्द गराउन गरेको प्रयासका विरुद्ध त्यहाँका विद्यार्थी संगठन बोल्ने कि नबोल्ने ? कि विद्यार्थी संगठनहरु निजी विद्यालयहरुमा चन्दा माग्नका लागि मात्र खोलिएका हुन् ?
५) विराटनगर आफैंमा देशको प्रतिष्ठित शहर हो । औद्यागिक, व्यापारिक, राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणमा विराटनगर अहिले पनि अब्बल मानिन्छ । यस्तो अवस्थामा त्यहाँको शैक्षिक, सामाजिक अनि सांस्कृतिक पक्ष खस्कँदो अवस्थामा गइरहँदा नगरको नेतृत्व गरिरहेका राजनीतिक दलका प्रतिनिधिहरु २–४ लाखमा बिकेर बस्ने कि रुपान्तरणको एजेण्डामा बहस गर्ने ?
६) विद्यालय सुधार, विकास र रुपान्तरणका लागि नेतृत्वले दलगत र स्वार्थगत एजेण्डा बनाउने कि समग्र समाजको हित हुने एजेण्डा बनाउने ? अब पनि मेरा कार्यकर्ता भन्दै काम नगर्ने शिक्षक, कर्मचारी, प्रधानाध्यापकलाई बोकेर हिँड्ने कि उनीहरुलाई आफ्नो जिम्मेवारी पुरा गराउन सक्रिय भूमिका खेल्ने ?
७) नेतृत्वले लिडर बन्ने कि बोस बन्ने ? नेतृत्वले सबैको हितमा काम गरेर, सबैको भावना बुझेर, न्याय अन्याय छुट्याएर, रुपान्तरणको परिकल्पना गरेर सुधारमा काम गर्ने कि कसैको बहकाब र उक्साहटमा अनि स्वार्थमा निर्णय गर्ने ?
८) जनता मावि विगतको प्रतिष्ठित विद्यालय हो । २००९ सालमा स्थापना भएको उक्त विद्यालय विगतमा पूर्वकै पहिलो नमुना विद्यालयको रुपमा आफूलाई विकास गराउन सफल विद्यालय थियो । विगत ७ वर्ष अघिसम्म ८ सय बढी विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा यतिबेला शून्य विद्यार्थी छन् । गलत नेतृत्व र राजनीतिक संरक्षण भएकै कारण आज विद्यालय बन्द हुने अवस्थासम्म पुग्यो । महानगर आफैंले पहल गर्दा पनि सुधार गराउन सकेन । विद्यालय जीर्ण बनाएको, लाखौं भ्रष्टाचार गरेको लगायत आरोपमा अहिले पनि अदालत र अख्तियारमा दर्जनौं मुद्दा नेतृत्व विरुद्ध छन् । यस्तो अवस्थामा अभियानले विद्यालयको सुधारको लागि पहल गर्नु, प्रअलाई तपाईं जिम्मेवार बन्नुभएन भन्नु, जिम्मेवार बन्नुस् भनेर दवाव दिनु अपराध थियो ?
९) विद्यालय सुधारको सपना देख्नु गलत थियो ? सामुदायिक विद्यालयलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्छ भनेर आवाज उठाउनु गलत हो ? देशभरमा राम्रो काम गरिरहेका अनि विभिन्न अवरोधकाबीच सफल बनेर देखाएका विद्यालय र नेतृत्वलाई हामीले कहिल्यै खराब गर्नुभयो भनेका छौं र ? खराब काम गर्नेलाई प्रश्न उठाउन नपाउने ? लाखौं बालबालिकाको भविष्यको सवालमा जनस्तरबाट सोच्नु अपराध थियो÷हो ?
१०) पालिकाको काम विद्यालय सुधार गर्ने कि विद्यालय बन्द गर्ने ? विद्यालयमा रुपान्तरण ल्याउने कि रुपान्तरण गर्न खोज्नेलाई रोक्ने ? सामुदायिक विद्यालय जीर्ण अवस्थामा छन् भन्दैमा तिनीहरुलाई बन्द गर्ने कि मेघा योजना बनाएर सुधारको काम अघि बढाउने ? कमजोर विद्यालय सबै बन्द गराउँदै हिँड्ने हो भने देशभरका ८५ प्रतिशत विद्यालय तुरुन्तै बन्द गर्नुपर्छ । जिम्मेवारी पाएको निकायले सुधार गर्ने कि जिम्मेवारी पुरा गर्न नसकेर बन्द गराउने ?
यो एउटा उदाहरण हो । प्रतिनिधि विद्यालय बनाएर एजेण्डा उठाइएको हो । कसैलाई लक्षित गर्न खोजिएको होइन । यी र यस्तै समस्या हाम्रा अधिकांश विद्यालयमा छन् । हामी कस्तो समाजको परिकल्पना गर्दैछौं भन्ने विषय हामीले शिक्षा सुधारमा कस्तो तत्परता देखाइरहेका छौं भन्नेले स्पष्ट पार्छ । कुनै देशको अवस्था बुझ्न त्यो देशको शिक्षाको स्तर हेर्नुस् भन्ने उखान नै छ । हाम्रो शिक्षाको स्तर, त्यहाँबाट अहिले उत्पादन भइरहेको जनशक्ति र उनीहरुको गुणस्तरले के हामीले परिकल्पना गरेको समृद्धि सम्भव छ त ?
आज विराटनगर महानगरका ९० प्रतिशत सामुदायिक विद्यालयहरु ध्वस्त छन् । ध्वस्त कुन अर्थमा ? हाम्रा सामुदायिक विद्यालयमा शौचालय छैन, खानेपानीको स्रोत छैन, भवन छैन, डेस्क बेन्च छैन, बोर्ड मार्कर छैनन्, ल्याब, खेलकुद सामग्री, अतिरिक्त क्रियाकलाप, खेलमैदान, बगैंचा फुलबारी, घेराबेरा केही छैन । विद्यार्थी छन्, शिक्षक छैनन् । शिक्षक छन्, विद्यार्थी छैनन् । भएकाले पढाउँदैनन् । राजनीति घुसेको छ । पहुँचवालाका मान्छे मात्रै नियुक्त भएर आउने ठाउँ बनेको छ । यो समस्या विराटनगरको लागि मात्र होइन । देशैभरको हो । देशैभरका ९५ प्रतिशत विद्यालयहरु ध्वस्त छन् । जीर्ण छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अघिल्लो वर्षको तथ्याङ्कले ८५ प्रतिशत विद्यालयहरु विद्यार्थी जानकै लागि अनुपयुक्त छन् भनेको छ ।
अब, ती ध्वस्त, जीर्ण, कमजोर र बन्द हुन लागेका विद्यालय सुधारौं भन्ने उत्साह बोकेको समूहलाई निरुत्साहित गर्ने विराटनगर महानगर, त्यहाँको शिक्षा शाखा, निश्चित स्वार्थ बोकेका राजनीतिक दलका नेता कार्यकताको झुण्ड हात धोएर पछि लागेको छ । यो झुण्ड देशैभर हुनसक्छ । किनभने, वर्षौदेखि काम नगरी जागीर खाइरहेका शिक्षक, कर्मचारी, जनप्रतिनिधि र हाकिम भनाउँदा कामचोरहरुको जमातले आज सामुदायिक विद्यालयलाई ध्वस्त बनाएको हो । रुपान्तरण हुन नसक्ने र रुपान्तरणको परिकल्पना गर्न नसक्ने गैरजिम्मेवार अनि नकचरा प्रधानाध्यापकहरुको जमातले हाम्रा विद्यालयहरुको यो हाल बनाएको हो । समृद्धिको खोक्रा भाषण गर्ने तर योजना, दुरदर्शिता नभएका नेताहरुको गलत नीति र गलत शैलीले हाम्रा सामुदायिक विद्यालयको यो हाल बनाएको हो । ती सबैलाई हाम्रो रुपान्तरणको एजेण्डा मन पर्छ होला त ? किमार्थ पर्दैन ।
आज विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई आउँदै गर्दा, विद्यालय सुधार र विकासको जिम्मा स्थानीय तहले पाइरहँदा सिन्को भाँचेर काम गर्न नसकेका तपाईं जनप्रतिनिधिहरुसँग औकात छ र धर्म छ भने हाम्रा ९० प्रतिशत विद्यालयहरु ध्वस्त छैनन् भन्ने प्रमाणित गर्नुस् ! विराटनगरमा पोखरिया, आदर्श, सत्यनारायण, राधाकृष्णलगायतका निश्चित २–४ बाहेकका राम्रा विद्यालय देखाइदिनुस् । विविध कारणले बन्द हुने अवस्थामा पुगेको जनता मावि अहिले पनि उत्कृष्ट विद्यालय हो भन्ने प्रमाणित गर्नुस् । त्यहाँभित्रको भ्रष्टाचारको संरक्षण गरेका छैनौं भनेर बोल्नुस् । जनता जस्ता दर्जनौं विद्यालयमा महानगर र त्यहाँको नेतृत्वले स्वार्थको राजनीति खेलेको छैन भनेर प्रमाणित गर्नुस् ! सुधारेर देखाउनुस् न यार विद्यालय, हेरौं । यो चेतावनी हामीले हाम्रो लागि दिएको हो र ? सामुदायिक विद्यालय सुध्रँदा हामीलाई फाइदा हुन्छ र ?
विद्यालय शिक्षा स्थानीय तहमा आउँदै गर्दा स्थानीय तहका नेतृत्वले नै विद्यालयको सुधार, विकास र रुपान्तरणमा अवरोध खडा गर्ने समस्या एउटा पालिकाको होइन, अधिकांशको हो । जनप्रतिनिधिका चिप्ला गफले अनि शिक्षा मेरो पहिलो प्राथमिकता भन्दै गरिएका भाषणहरुले विद्यालयमा सुधार आउँछ ? दुईचार विद्यालयमा छाना, पंखा फेर्दैमा विद्यालय रुपान्तरण हुन्छ ? पढ्ने गर्नुस्, छिमेकी देशले शिक्षामा ल्याएको रुपान्तरणका कथाहरु । दिल्लीले दुई वर्षमा ३६ हजार कक्षाकोठालाई अत्यन्तै उत्कृष्ट र प्रविधिमैत्री बनाउन सक्यो भने तपाईंहरुले चार वर्षमा किन सक्नुभएन ? बोल्नुस् जनताको अगाडि । छातीमा हात राखेर बोल्नुस् । आफ्नो नेतृत्वमा आ–आफ्ना पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा अकल्पनीय सुधार गरेको छु भन्ने हिम्मत छ तपाईंहरुमा ? तपाईंले मान्ने भगवानको कसम खाएर भन्नुस् त ! छ हिम्मत ? छैन भने एउटा उर्जा, जोस र योजना लिएर सामुदायिक विद्यालय सुधारको अभियानमा हिँडेको समूहलाई रोक्ने मुर्खता नगर्नुस् । तपाईंको स्वार्थका लागि अनि तपाईंको भरुवाचरुवाको स्वार्थका लागि विद्यलाय ध्वस्त बनाउने काम किन गर्दैहुनुहुन्छ ? यो काम जानेर बुझेर गर्दैहुनुहुन्छ कि अन्जानमा गर्दैहुनुहुन्छ ? हजारौं जनतालाई मैदानमा ल्याएर जवाफ दिने हिम्मत छ, तपाईंमा ? तपाईंहरु जनताको काम गर्न अनि स्थानीय ठाउँको विकास गर्न जनताले अपेक्षा गरेर चुनिएको एउटा जनप्रतिनिधि मात्र हो । सबैले शीर झकाउनुपर्ने राजा होइन ।
हुन त, समग्र शिक्षाको सुधार साथै सामुदायिक विद्यालय सुधारको एजेण्डा लिएर देशव्यापी अभियान चलाउँदैगर्दा बिभिन्न अवरोधहरु आउनु स्वभाविक थियो । हिजोको पुरातन शैलीमा काम गर्नेको जमात ठूलो छ । त्यो शैलीलाई परिवर्तन गरौं भन्दा सम्बन्धित पक्षलाई दवाव पर्नु स्वभाविक हो । काम नगरी खाने, खोज तथा अनुसन्धान नगर्ने शिक्षक शिक्षक होइन । त्यस्ता शिक्षकहरुलाई, त्यस्ता नेतृत्वलाई जिम्मेवार बन्नुस् भन्दा धेरै मानिसलाई धक्का लाग्नु स्वभाविक हो । तर, पनि हामीलाई रुपान्तरण चाहिएको छ । त्यो रुपान्तरण व्यक्तिलाई होइन, संस्थालाई होइन, अभियानलाई होइन । समाजलाई चाहिएको हो । राष्ट्रलाई चाहिएको हो ।
अब हामीले समग्र शिक्षा, शिक्षण प्रणाली, विधि र शैलीमा रुपान्तरणको परिकल्पना गरौं । साँच्चिकै हाम्रा सामुदायिक विद्यालयहरु अत्यन्तै कमजोर अवस्थामा छन् । कक्षा १० मा पुगिसकेका ७० प्रतिशतभन्दा बढी बालबालिकालाई अझै पनि पढ्न आउँदैन । सामुदायिक विद्यालयमा पढेर कक्षा ५ सम्म पुगिसक्दा पनि क, ख नजान्ने बालबालिकाको संख्या करिब ३५ प्रतिशत छ । पत्यार लाग्दैन ? विद्यालयमा गएर बुझ्नुस् । अझ तराई क्षेत्रका विद्यालयहरु अत्यन्तै कमजोर छन् । अवस्था अत्यन्तै विकराल छ । जिम्मेवार पक्ष जिम्मेवार छैन । त्यसकारण, सामुदायिक विद्यालय सुधारको अभियानमा हातेमालो गरौं, समाज । तपाईं मकै पोल्नुहुन्छ, ठेला चलाउनुहुन्छ, जागिर खानुहुन्छ, व्यवसाय गर्नुहुन्छ, राजनीति गर्नुहुन्छ, समाजसेवा गर्नुहुन्छ, तपाईंका बालबालिका छन्, बालबालिका छैनन्, विद्यालय पढ्छन्, पढ्दैनन्, निजीमा पढ्छन् वा सरकारीमा पढ्छन् । यी कुनै पनि विषयले केही फरक पार्दैन । तपाईं सबै सामुदायिक विद्यालय सुधारको अभियानता बन्नुपर्छ । हामीले हाम्रो सोचेर होइन, समाजको हित सोचेर सामुदायिक विद्यालय सुधार्न आवश्यक छ । तपाईंका सन्तान असल भए अनि छिमेकीका सन्तान खराब भए भने समाजमा सन्तुलन मिल्छ त ? किमार्थ मिल्दैन । त्यसकारण, फेरि पनि भन्छु– आउनुस् सामुदायिक विद्यालय सुधार अभियानको यात्रामा हातेमालो गरौं । दम्भले भरिएका, स्वार्थमा केन्द्रित भएका जनप्रतिनिधिलाई जनस्तरबाट दवाव दिऔं ।
त्यो दवाव आफ्नो लागि होइन । हामीले दिएको दवाव पनि आफ्नो लागि थिएन र हुँदैन । एउटा जिम्मेवार नागरिक बन्नुपर्छ भन्ने धारणा मात्र थियो । त्यो जिम्मेवारी बोध गर्ने क्षमतालाई हलुका नसम्झौं । १४ वर्षीया मलालालाई किन छोरीहरुले पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउनु परेको थियो ? किन तालिवानीहरुको गोली खानुपरेको थियो ? तीन महिना अचेत अवस्थामा बसेर फेरि पनि बालिकाहरुले पढ्न पाउनुपर्ने विषयको उठान किन गर्नुपरेको थियो ? जेलमा रहेका व्यक्तिका बालबालिका जेलमा बस्ने होइन, बाहिर रहेर आधारभूत अधिकारसहित पढ्न पाउनुपर्छ भन्दै पुष्पा बस्नेतले आवाज उठाउन किन आवश्यक थियो ? देश र नेताभन्दा माथि उठेर विकास र सुधारको एजेण्डामा काम गरेर देखाउनुपर्छ भन्ने जिम्मेवारी धुर्मुस सुन्तलिले किन लिनुपरेको थियो ? किन बनाउनुपरेको थियो नमुना बस्ति ? किन रंगशालाको परिकल्पना गर्नुपरेको थियो ? सरकार थिएन र काम गर्ने ? किन लिनुपरेको थियो व्यक्ति व्यक्तिले जिम्मेवारी ? अंग्रेजहरुको शासनमा भारतीयहरु रमाएकै थिए होला त, किन त्यो लुखुरे गान्धीलाई अंग्रेज विरोधी अभियान चलाउनुपरेको थियो । त्यो जिम्मेवारी लिने संस्कार हो । त्यो संस्कार तपाईं जनप्रतिनिधिमा छैन भने त्याग्नुस्, कुर्सी ! आफू जिम्मेवारी लिन, काम गर्न नसक्ने अनि अरुलाई पनि गर्न नदिने ? लाज हुँदैन है तपाईंहरुलाई ? छ्या !
१००% सहमत छु ।बालबालिकाका शिक्षा,संस्कार खत्तम छ,अरबौको बजेट,परिणाम शुन्य।राजनीति ले सबै डुबायो ।अब समाजले कसरी हुन्छ दायित्व लिनुपर्छ।