प्रदेश १ सरकारलाई धन्यवाद !

 गणेश लम्साल

मर्नु न बाँच्नुको कष्टकर अवस्था झेलिरहेका भोजपुर षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिलाका ७५ वर्षीय रामबहादुर राई र उनका सुस्त मनस्थितिका २२ वर्षीय छोरासहित सोही नगरपालिकाको १२ नम्बर वडामा ठिंगुरो हालेर राखिएका ४४ वर्षीय जितबहादुर तामाङ र ४ वर्षदेखि बाँधेर खोरमा राखिएका १९ वर्षीय ज्ञानबहादुर श्रेष्ठको शनिबार उद्धार भएको छ । शनिबार घरघरमा पुगेर प्रदेश १ सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाय गजमेरले उनीहरुको उद्धार गरेकी हुन् । यसभन्दा अघि समाजिक विकासमन्त्री जीवन घिमिरले पनि उदयपुरको कटारी नगरपालिकाबाट १६ वर्षदेखि खोरमा थुनिएका ५० वर्षीय मनोरोगीको उद्धार गरेका थिए ।

यी केही उदाहरण मात्र हुन् । प्रदेश १ सरकारले सडकमा भौतारिन बाध्य मनोरोगी र असाहय, हिंसापीडितहरु धेरैको उद्धार गरिसकेको छ । र, यस्तो असल मानवीय कार्यमा सामाजिक विकास मन्त्री घिमिरे र राज्यमन्त्री गजमेर निरन्तर लागिरहेका छन् । सरकारको सडकलाई आश्रित मानवरहित बनाउने अभियानमा दिलोज्यान दिएर लागिरहेको मानव सेवा आश्रमले निरन्तर सहयोग गरिरहेहेको छ ।

असक्त, असहाय र सडकमा भौतारिन बाध्य कडाखाले मनोरोगीहरुको संरक्षणका लागि सरकारले मानव सेवा आश्रमको सहयोगमा अभियान सञ्चालन गरिरहेको छ । यो अभियानमा सडकमा भौतारिन बाध्य मनोरोगी र बेसहाराहरुको उद्धार गरेर संरक्षण गरिँदै आएको छ । विराटनगर स्थित आश्रममा हालसम्म प्रदेश १ सरकार स्थानीय पालिकाहरु र दयालु दाताहरुको सहयोगमा एक सय जति बेसहाराहरुको उद्धार भइसकेको छ । उनीहरु सबैलाई विराटनगरको तीनटोलिया र पोखरियामा रहेको सेवा आश्रममा राखेर निःशुल्क खानपान र उपचार सेवा प्रदान गरिँदै आएको छ । प्रदेश सरकारले बेसहारा मानवहरुको संरक्षणका लागि मोरङको ग्रामथानमा सुबिधासम्पन्न अस्पतालसहितको आश्रम पनि निर्माण गर्न सुरु गरेको छ ।

प्रदेश सरकारले गरेको यो मानवीय कामलाई धन्यवाद भन्नैपर्छ । र यस्तो परोपकारी अभियानले संस्थागत रुपमा निरन्तरता पाउनुपर्छ । मानवीय सुरक्षासहितको सेवा जवसम्म राज्यले प्रदान गर्न सक्दैन, तबसम्म राज्यको त्यो विकास पुरा हुन सक्दैन । एकपाखे र अपुरो हुन्छ । आर्थिक र भौतिकसँगै मानवीय विकासलाई पनि एकसाथ लानुपर्ने कारण पनि यहि हो । किनभने सदाचारी र सदगुणी समाजविनाको विकासको कुनै अर्थ हुदैन । समाज सभ्य र मानवीय बन्न सक्दैन ।

राज्य नागरिकहरुको संरक्षक मात्र हैन, असक्त र असहायहरुको अभिभावक पनि हो । आम उपेक्षित उत्पीडित र असहायहरुले चाहेको पनि सरकार भगवान बनेर घरघरमा आवोस् भन्नै हो । उनीहरुको सरकारबाट धेरै केही चाहनै हुदैन । दुःखमा साथ दिन भगवान् बनेर सरकार आइदियोस् भन्ने मात्र हुन्छ । यसैले भन्ने गरिएको छः ‘जसको कोही हुदैन, उसको समाजवादी सरकार हुन्छ ।’

प्रदेश १ सरकारले थालेको यो अभियान दया बाँडेर देखावटी समाजसेवा गर्नेहरुका लागि झापड पनि हो । यहाँ आपत परेको बेला खान दिन नसक्ने तर अरुबेला सस्तोमा भात बिक्री गरेको भनेर फोटो खिचाउँदै प्रचार गर्नेहरु पनि प्रशस्तै छन् । सामाजिक उत्तरदायित्वलाई भ्रामक प्रचार गराएर आफ्नो व्यापार व्यावसाय बढाउनेहरु पनि उत्तिनै छ । अझै गरेजस्तो देखाएर फोटो खिचेर समाजसेवाको ढोंग पिटेर आफनो भ्रष्टाचार, व्यभिचार, कालोबजारीलाई छवि सुधार्न खोज्नेहरु पनि अनेक छन् ।

समाजसेवा र परापरोकार न त दया हो न त व्यापार र देखावटी प्रचार । बरु समाजसेवा दिनदुःखीहरुको अधिकार हो । किनभने उनीहरु पनि राज्यको समान दर्जाका नागरिक भएकोले उनीहरुले अरुले झै स्वास्थ्य, शिक्षासहित खाना, नाना र छाना पाउने हक राख्दछन् । यसैले अब प्रदेश प्रदेश सरकारले परोकारलाई आफ्नो दायित्वभित्र ल्याएर दायरा फराकिलो बनाएर लान आवश्यक छ ।

सरकारले एउटा क्षेत्रमा मात्र अल्पकालिन अभियान चलाएर हुदैन । त्यसका लागि दिगो योजना, नीति र संरचनासहित संस्थागत रुपले दायित्व निर्वाह गर्नु उचित हुन्छ । असक्त र असहायहरुलाई उद्धार गरेर मात्र हैन, मनोरोगी र हिंसापीडितहरुको उचित उपचार र दिगो समाजिक पुनःस्र्थापनाबारे पनि चासो दिनुपर्दछ । सँगसँगै परोपकारका अन्य क्षेत्रहरु पनि पहिचान गरेर संस्थागत अभियानहरु सञ्चालन गरेर सबैखाले गरिबी, भोक र रोग अनि महामारी, आपत, कुरुती, कुशिक्षा र अन्धविश्वास हटाउने अभियानलाई अगाडि बढाउनुपर्छ ।

सरकारले सामाजिक सुरक्षा र सिमान्तकृत, असक्त, असहायहरुलाई गर्नुपर्ने परोपकार र सञ्चालन गर्नुपर्ने अभियानकाबारे गहन् छलफल गरेर नीति निर्माणसहित बजेट विनियोजन गरेर कार्यान्वयन गरोस् । असल कामको अभियान थालनी गरेकोमा प्रदेश १ सरकारलाई धन्यवाद !

सोमबार, २२ मंसिर, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर