डा.बालकृष्ण साह
सुनसरीको इनरुवा अस्पताल अन्य जिल्ला अस्पतालभन्दा अलिक फरक अस्पताल हो भन्दा फरक नपर्ला । यस क्षेत्रको पुरानो अस्पताल अनि प्रदेशको राजधानीको सबैभन्दा नजिकको प्रदेश अन्तर्गतका अस्पताल हो, इनरुवा अस्पताल । बि.स. १९९१ अर्थात ८५ वर्ष अगाडि तत्कालिन अवस्थामा झोडा फडानी गरेर सानो उपचार गर्ने स्थान बनाईयो । सोहि उपचार केन्द्रलाई १९९८ भदौ २७ गते सुनसरी जिल्ला अस्पताल इनरुवाको रुपमा स्थापित गरिएको थियो । यो अस्पतालसँग मेरो गहिरो सम्बन्ध रहेको छ । मेरो घरबाट करिब ७ किलोमिटर दुरीमा रहेको यस अस्पतालमा म सानो हुँदा उपचारका लागि हजुरबुबासँग हिँड्दै पटक–पटक पुगेको मैले अझै बिर्सेको छैन । ८ जना बिशेषज्ञ अनि ४ जना मेडिकल अधिकृत र १ जना मेडिकल सुपरिटेन्डेन्टको दरबन्दी रहेको ५० शय्याको अस्पताल हो, इनरुवा अस्पताल । नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मी र प्रसाशनिक कर्मचारी स्थायी भए पनि स्थायी चिकित्सकहरु अस्पतालले पाउने गरेको छैन भन्दा फरक नपर्ला । बिशेषज्ञ तथा मेडिकल अधिकृतहरुको दरबन्दी भएपनि अधिकांश समय ९० प्रतितशत भन्दा बढि दरबन्दीका चिकित्सकहरु नपुगेको सम्भवतः एक मात्र अस्पताल होला, इनरुवा अस्पताल ।
हुनत इनरुवा अस्पतालमा सेवा दिन म पुगेको यो पहिलो पटक होइन । २०७१ फाल्गुन ४ गते नै प्रथम पटक हाजिर भएको थिएँ । त्यस अवस्थामा पनि अस्पतालमा शल्यक्रिया (सिजरियन) शुरु गर्ने प्रयास नगरिएको होइन । तर, करिब १ वर्षको बसाईमा सम्भव गराउन सकिएन । दोस्रो पटक २०७६ जेष्ठ १५ मा मलाई प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश १, धनकुटाले करारमा नियुक्त गरी विशेष जिम्मेवारीका साथ ठूलो विश्वासका साथ इनरुवा अस्पताल पठायो । इनरुवा अस्पतालमा सिजरिन शुरु गर्न आएको भन्दा धेरैले खिल्ली उडाए । मेरो फेसवुक वालमा ‘मिसन सिजरियन एट इनरुवा अस्पताल’ भन्ने स्टाटस राख्दा शुभकामना दिनेहरु भन्दा पनि सम्भव नहुने भाव देखाउनेको संख्या बढि देखियो । अस्पतालमा बिमारी कम आउने वा भवन तथा पूर्वाधार नभएको होइन । वार्षिक २५ हजारभन्दा बढि बिमारीले बहिरङ्ग बिभागबाट सेवा लिने गरेको अनि हरेक वर्ष १ हजार ७ सय भन्दा बढिले यस अस्पतालमा प्रसव गराएको अस्पतालको तथ्याङ्क छ ।
राज्यको भौतिक सुबिधाहरुको पहुँचमा रहेको, पूर्वपश्चिम राजमार्गमा रहेको आफ्नै भौतिक पुर्वाधार भएको आधुनिक भवन रहेको अस्पतालमा शल्यकक्ष तयारी अवस्थामा थियो । यद्यपि सुगम र सुबिधासम्पन्न शहरको जस्तो यस अस्पतालमा पनि ब्लडबैंक, आईसियु, एनआईसियु, सुबिधा सम्पन्न पोष्ट अपरेटिभ कक्ष तथा अन्य विज्ञहरुको अभाव रहेको छ । तर, यी अभावहरु भन्दा पनि कर्मचारीहरुको कार्यगत एकता र जनविश्वासको कमी प्रमुख समस्या रहेको मैले पाएँ ।
अस्पतालका कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, व्यवस्थापन समितिका सदस्यहरु तथा अस्पतालसँग जोडिएका सबैले अस्पतालका बारेमा औघि चिन्ता गर्ने गरेको मैले पाएको थिएँ । आफ्नो ड्युटी समयपछि पनि अस्पतालसँग जोडिएका कुरा नै अधिंकाशको दिमागमा रहने गरेको भएपनि कार्यगत एकता र अस्पतालको सेवा अनि सुचांकहरुमा प्रगति नहुनुको पछाडि व्यक्तिगत महत्वकांक्षा र कुशल नेतृत्वको कमीले भएको स्पष्ट भान हुन्छ । ‘चेन अफ कमान्ड’ नहुनु, एकअर्काप्रति विश्वासको कमी हुनु र आफू नै सबैभन्दा बढि पावरफुल बन्ने होडले समस्त अस्पतालका कर्मचारीहरुलाई गुटबन्दी र अन्तरद्वन्द्वमा जकडेको देखिन्छ । अनुशासनमा बसेर आफ्नो जिम्मेवारी पुरा गर्ने भन्दा पनि शक्तिको नजिक पुग्न खोज्ने र रवाफ देखाउन चाहने संस्कारले नयाँ सरुवा भएर आउने कर्मचारीहरुलाई पनि केहि दिनमा नै पण्डित बनाई दिने गरेकोले गर्दा नै अस्पतालका सुधार, सेवा प्रवाह तथा प्रगतीलाई कार्य एकता हुन दिएका छैनन् । यस्तो वातावरणको अन्त गर्दै कुशल नेतृत्व दिन सहयोगी भुमिकामा रहनुपर्ने अस्पताल विकास समितिसमेत आफ्नो कुशल व्यवस्थापकीय भुमिकामा सधै कमजोर साबित भएको छ ।
यस्तो अवस्थामा पनि सुनसरीको बिशेषतः दक्षिण भेगलाई यस अस्तपतालले ८६ वर्षदेखि सेवा दिँदै आएको छ । पछिल्लो समयमा शल्यक्रिया (सिजरियन) समेत शुरु भएपछि अस्पतालले दिने बिशेषत प्रसुति सेवामा नयाँ आयाम थपिएको छ । तर, पनि यस अस्पतालले स्थानीयको माया र विश्वास पाएको देखिदैन । इनरुवा अस्पताल भन्दा धेरैले नाक खुम्च्याउने गर्छन् । आफ्नै सेवाग्राहीहरुबाट पनि उपेक्षित छ, अस्पताल । हुनत् जनगुनासो नभएको कुनै अस्पताल हुदैन । तर, इनरुवा अस्पतालको सवालमा अलिक बढि नै छ । विमारीले आशा गरेको अनुसार सेवा नपाउनु नै यसको प्रमुख कारण हो । स्थानीयले अस्पतालमा डाक्टरलाई चिन्ने अवसर नै पाउदैनन् । अधिकांश अवस्थामा पारामेडिक्स तथा नर्सिङ्गसँग नै परिक्षण गराएर विमारी फर्किनुपर्ने बाध्यता छ । इनरुवा अस्पतालमा डाक्टर नखटिएका होइन । तर, करारका मात्रै । शैक्षिक करारमा खटिएका चिकित्सकहरुलाई राज्य व्यवस्थाले जिम्मेवारी कम दिनु पनि एउटा कारण हुनसक्छ । करारका डाक्टरलाई कसले गन्ने ? अनि अनुशासन र पदीय व्यवहार नपाउँदा काम गर्ने मनोबल वा जिम्मेवारी कसरी बहन गर्ने ? सुन्दा सामान्य लागे पनि इनरुवामा ठूलो समस्याको रुपमा आएको मैले महशुष गरेको छु । सबै ठुलाबडा हुने भएपछि अध्ययन करारमा २ वर्ष काम गर्नेपर्ने बाध्यतामा रहेको डाक्टरले के गरोस् ? नयाँ जोश अनि काम गर्ने चाहना लिएर जिल्ला अस्पताल गएका मेडिकल अधिकृतहरुले नयाँ राम्रो सिक्ने अवसर नपाउनुले आफुलाई चिनाउने भन्दा पनि कहिले २ वर्ष सकिन्छ भन्नेमा नै अल्झिएको पाईन्छ ।
अस्पताल सबैको सम्पति हो । स्थानीय अस्पताल स्थानीयका लागि महत्वपूर्ण हुन्छ र आकस्मिक अवस्थामा अझ बढि महत्व राख्दछ भन्ने कुरा स्थानीय र अस्पताल विकास समितिले बुझ्नैपर्छ । स्थानीयले अस्पतालका सेवा, सुविधा अनि त्यहाँ रहेका समस्याहरुबारेमा चासो राख्दै सकारात्मक पहल गर्नु आवश्यक छ । अस्पताल विकास समितले अस्पतालका सेवा बृद्धि गर्ने, दरबन्दी पुरा गराउने अनि अस्पतालका कर्मचारीहरुको मनोवल उच्च बनाउँदै सेवा प्रवाहलाई तीब्रता दिन अग्रसर हुनुपर्ने हुन्छ । अनुशासन, जिम्मेवारी र एकता कायम गराउने अभिभावकबिना जनशक्तिको अभाव झेलिरहेको इनरुवा अस्पतालले फड्को मार्न नसक्ने पो हो कि ? सबैले बुझ्न आवश्यक छ ।
(इनरुवा अस्पतालमा सिजरियन सुरु गरेर १३ महिना १५ दिन काम गर्दा संगालेको अनुभव)
सही विश्लेषण हो। र यो विश्लेषण त्यहाँका जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई समेत थाहा छ । तर व्यक्तिको स्वार्थ पुरा गरी आफ्नो दादागिरी कायम राख्न भइराखेको निरन्तर प्रयासका कारण यो अस्पतालको सेवा सुधार हुन नसकेको हो ।