नारायण निरौला
शरदपछिको हेमन्त ऋतुको मुटु काम्ने जाडो थियो । चारैतिर हिमपात भइरहेको थियो । यस्तो जाडोबाट बचाउनको लागि पार्टीले नेताहरुलाई न्यानो लङकोट बाँड्यो । चाओएनलाईले त्यो कोट स्वीकार गरेनन् ।
कोट ल्याउने कमरेडलाई भने– बरु यो कोट जापानी साम्राज्यवदीहरुको विरूद्ध मोर्चामा लडिरहेको योद्धालाई देऊ ।
कमरेडले छक्क परी प्रतिप्रश्न गरे, ‘यो कोट पार्टीले तपाईं कै लागि पठाएको हो, यहाँले किन यसो भन्नु भो कमरेड ?’
जाडो निक्कै थियो । तर, चाओले उनलाई सम्झाउँदै भने, ‘म त पालभित्र भए पनि सिरेटो छेलिएर बसेको छु, मलाई यो कोटको आवश्यकता छैन । तर, त्यो खुला मैदानको ट्रेञ्चमा भएको लालसेनाको सिपाही सिरेटोले कत्ति कामिरहेको होला, उसलाई यो कोट दियो भने ऊ चीनलाई जापानी साम्राज्यवादीहरुबाट बचाउन सक्रिय भई लड्नसक्छ ।’
त्यसैगरि पार्टीले नेताहरुलाई पहाडमा हिँड्न गाह्रो होला भनेर घोडा दियो । चाओले त्यो पनि अस्वीकार गर्दै भने, ‘यो घोडा मेरो लागि आवश्यक छैन, बरु घाइते योद्धाहरु ओसार्न युद्धभूमितिरै लैजाऊ ।’
यद्यपि चाओ धनाढ्य परिवारमा शोखले हुर्केका थिए । उनलाई दुःख भन्ने कुरो थाहै थिएन । देशको दुरावस्थाले गर्दा उनी चिनिया क्रान्तिमा सामेल भएका थिए । क्रान्तिपछि उनी प्रधानमन्त्री भए । २०२४÷२५ सालतिर उनी नेपाल पनि आएका थिए । नेपालमा त्यसबेला महेन्द्र शाह राजा थिए । चिनियाँ दुतावासमा चाओलाई स्वागत गर्न भनेर अनेरास्ववियुका विद्यार्थीहरु फूलको गुच्छा लिएर गएका थिए ।
पुलिसले विद्यार्थीलाई गेटमै रोक्यो । पुलिससँग विद्यार्थीको झडप नै भयो । फूलका गुच्छा भुइँमा चारैतिर छरिए । चाओकी छोरीले दुतावासको माथिल्लो तलाबाट यो दृश्य हेररहेकी थिइन् । उनी तल ओर्लेर ती छरिएका फूलहरु सबै बटुलेर लगिन् ।
कस्ता थिए माओ ?
चिनियाँ नयाँ जनवादी क्रान्ति कालमा जापानी साम्राज्यवादी बिरुद्ध पार्टीले महान् दिर्घकालिन जनयुद्धको कार्यनीति लिएको थियो । १३ वर्षीय किशोर छन् छङ फङलाई पार्टीले माओत्सेतुङको अर्दली (सहयोगी) बनाई पठायो । किशोर अत्यन्त गरिब परिवारको छोरो थियो । उसको घरमा अन्नको दानो बिरलै पाइन्थ्यो । कत्ति दिन त उस्का परिवारले जंगली खोर्सानी उसिनेर खाएर छाक टार्ने गर्थे । उसले गरिबीले गर्दा पढ्नलेख्न पनि पाएको थिएन ।
माओले छन्लाई जाने बित्तिकै प्रेमपूर्वक उसको पारिवारिक पृष्ठभूमिका सम्बन्धमा सोधपुछ गरे र उसको दैनिक कामको बारेमा बताउँदै भने, ‘तिम्रो काम प्रथमतः पढ्ने, तिमी र म मिलेर खाना बनाउने र दिउसोतिर मेरो लागि दैनिक पत्रिका लिन जाने हो है ।’
हस् ! भन्दै छङले आफ्नो दिनचर्या माओसँग आरम्भ गर्छ । माओले प्रेमपूर्वक उसलाई पढाए लेखाए, खाना बनाउन सिकाए । चिनको इतिहास, राजनीति र क्रान्तिका विषयमा पनि पढाए ।
छङले एकपटक जुठेल्नामा बासीभात फ्याकेको देखेपछि सोधे, ‘यो किन फ्याकेको छङ ?’
‘बासी भएर फ्याकेको’ छङले सजिलै उत्तर दियो ।
माओले सम्झाउदै भने, ‘हेर ! यसरी अन्न अब नफ्याक्नु है । यहि अन्नका लागि चिनियाँ जनता लडिरहेका छन् । यदि तिमीलाई खान अप्ठ्यारो लागेमा मलाई दिनु ।’ यसरी राखिएको बासीभात माओले सात दिनसम्म खान्थे ।
माओ पार्टी काम र पढ्नमै ब्यस्त रहन्थे र नुहाइधुवाइ गर्न पनि भ्याउदैनथे । एक पटक माओका लुगा धेरै मैला देखेर छङले सबै लुगा धोयो । तर, माओले अलिक रिसाउँदै भने, ‘तिमीले लुगा धुने होइन, मेरा लुगा म आफै धुन्छु । बरु फुर्सदमा मेरो नजिक आएर पढ्ने गर ।’
छङले माओसँग बसेर पढ्नलेख्न सिक्छ, पछि ठूलो भएर उसले आफ्नै हातले ‘लामो अभियानमा अध्यक्ष माओको साथमा’ भनेर एक आत्म वृतान्त लेख्यो । जो विश्व प्रसिद्ध पुस्तक भयो । जसमा छङले माथिका कुरा उल्लेख गरेको छ । उसले यो पनि लेखेको छ कि ‘माओ मेरो निम्ति बाउ नै हुन् ।’
मलाई इतिहासका पाना पढेर मनमा लाग्यो, ‘क्रान्ति पनि एक संस्कार रहेछ, नेतामा पनि क्रान्तिकारी संस्कारी गुण हुनुपर्दाे रहेछ ।’ तर, नेपालका नेताहरुले सहयोगीमाथि दासको जस्तो व्यवहार गर्थे । जनमुक्ति सेना र कार्यकर्तालाई सहयोगको त कुरै छोडौं उनीहरुको भरणपोषण र उपचारका लागि राज्यले दिएको रकम समेत हिनामिना भएको चर्चा सेलाएको छैन । त्यसैगरि २०३९ सालतिर तत्कालीन मालेका केन्द्रीय नेताले (भूमिगत) एउटा भरपर्दाे डेरा चाहियो नारायण जी भने ।
उनले भरखरै भूमिगत रुपमा विवाह गरेका थिए । उनलाई मैले डेरा खोजिदिएँ । तर, उनको घरधनीसँग भनाभैरी भएछ । घरपटीले मलाई सबै कुरो भने । कुरो के रहेछ भने उनी बसेको कोठा र वरण्डा धेरै दिनसम्म नबडारेको रहेछ । घरबेटीले यस्तो फोहोर राख्नु राम्रो होइन भनेर सम्झाएछन् । तर, उल्टै घरबेटीलाई नेताले ‘घर बडार्ने नोकर होइनौं हामी, तपाइँको घर तपाईं नै बडार्नुस्’ भनेछन् । त्यसैगरी कति नेताले त भित्री लुगासमेत आफ्नो अर्दलीलाई धुन लगाएका दृष्टान्तहरु छन् । त्यसैले क्रान्ति ओठमा होइन दिल, दिमाग र ब्यवहारमा खोजौं । सबैमा चेतना भया ।