अनन्तराज न्यौपाने
उनलाई देख्नेबित्तिकै उनीहरूमध्ये कोही धर्धरी रोए, कसैले डाँको नै छाडे र कोही भक्कानिए । कसैका गहमा भरिएका आँसु सजिलै देख्न सकिन्थ्यो । उनीहरूका अनुहारमा वेदनाका धर्साहरू किरिङमिरिङ थिए । आँखामा पीडाका अक्षरहरू, चालढालमा निरासाका भङ्गिमा र स्वरमा घातप्रतिघातका लय सहजै पढ्न सकिन्थ्यो ।
उनीहरू अर्थात् कोरोना सङ्क्रमितका आफन्त र उनी अर्थात् प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई ।
तर, मुख्यमन्त्रीको भावभङ्गिमा र मुखमण्डलमा कुनै परिवर्तन थिएन । उनी जुन शैलीमा आए, त्यही शैलीमा गए । उनले त्यसदिन विराटनगरका ३ वटा कोभिड अस्पतालको अनुगमन गर्न भ्याए । विराट, न्यूरो र नोबेलको कोभिड अस्पतालमा गए । अनुगमनका लागि टेलिभिजन पत्रकारहरूलाई फोन गरेर बोलाइयो ।
बिरामीका आफन्तका रोदन र वेदना सुन्दा लाग्थ्यो, उनीहरू प्रदेश सरकार र मुख्यमन्त्रीको भर गरिरहेका छन् । मुख्यमन्त्री राईबाट उनीहरूले आशा, विश्वास र आडभरोसा गरेका छन् । तर, मुख्यमन्त्रीको शैली हेर्दा पूर्वराजा ज्ञानेन्द्रले कुनैबेला दुःखी नेपाली भेटेको सम्झना आउँथ्यो ।
कुनै समय थियो, तत्कालीन राजा ज्ञानेन्द्र पनि शेरधनकै शैलीमा जनतासमक्ष आइपुग्थे ।
दुःखी जनतामध्ये कसैको भनाइ हुन्थ्यो, ‘सरकार मेरी श्रीमती धेरै रोगी छे, उपचार गर्ने रकम छैन, हामी गरीब छौँ ।’
‘सरकार मेरा छोराछोरीले पढ्न पाएनन्, शिक्षा महँगो भयो’, टालेको कछाड र भोटो लगाएको कुनै गरिब नेपाली बोल्यो, ‘अक्षरसम्म चिनेका छोराछोरीलाई विद्यालय पठाउन पाए हुन्थ्यो ।’
करुण स्वरमा अर्को बोल्यो, ‘पहिराले घरखेत बगायो सरकार । बेघरबार भएको छु ।’
पीडा, वेदना, दुःख र घातप्रतिघातका दारुण स्वरहरू सुने पनि ज्ञानेन्द्रका अनुहारमा करुणा र प्रेमको झझल्को पाइँदैनथ्यो । उनको एउटै रेडिमेड उत्तर हुने गथ्र्याे, ‘ठिक छ, ठिक छ । बुझेँ–बुझेँ । सबै ठिक हुन्छ ।’ दुःखी–गरिब जनता राजाको आश्वासन सुनेर निरास भएर फर्कन्थे ।
प्रदेशको मुख्यमन्त्री भएपछि शेरधनलाई लागेको होला, प्रदेशकै भए पनि म राजै हुँ । त्यही चालढाल र ठाँटबाँटलाई किन अनुकरण नगर्ने ?
खासमा आजका जनताले सरकारसित डेलिभरी खोजेका छन् । सरकारले के ग¥यो, आफ्ना घरआँगनमा सरकार कसरी आइपुग्यो, के लिएर आयो अनि के दिएर गयो ? जनतालाई यी प्रश्नको स्पष्ट उत्तर चाहिएको छ । मुलुकमा सङ्घीयतासँगै प्रदेश सरकार र स्थानीय सरकार पनि गठन गरिएपछि जनताले ठूलो आशा गरेका थिए । दैनिक जीवनमा केही राहत पाउने विश्वास गरेका थिए । गाउँगाउँमा सिंहदरबार पुगेको नाराले जनता सुख र शान्तिको सास फेर्न पाउने कुरामा ढुक्क थिए ।
तर, प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले यही हप्ता तीन वटा अस्पतालमा प्रदर्शन गरेको पाखण्ड र आडम्बरले जनताको सबै आशा धूलिसात् भएको छ । उनको ध्यान जनताको वेदना र रोदनमा थिएन, बरु अस्पतालका सञ्चालकसित गफिनमा थियो ।
खासमा कुरा बुझ्दै जाँदा के पत्ता लाग्यो भने मुख्यमन्त्री राई, जनताका कुरा बुझ्न गएकै थिएनन् । सरकारी र केही निजी क्षेत्रका टेलिभिजन कम्पनीमा प्रदेश सरकारले आफ्नो अनुहार देखाउन राम्रै लगानी गरेको रहेछ । त्यसलाई ‘जनतासित मुख्यमन्त्री’ भन्ने नाम दिइएको रहेछ । मुख्यमन्त्रीले ३ वटा कोभिड अस्पतालमा गरेको अनुगमन नामको अभिनय यही कार्यक्रमका लागि गरिएको सुटिङ रहेछ । छिः कति बुझ्नु ? बुझ्दै जाँदा आक्रोश उत्पन्न हुन्छ, घृणा लागेर आउँछ ।
कोभिडको कुनै खास उपचार र ओखती छैन । तर, यहाँका कोभिड अस्पतालहरू खै के उपचार दिन्छन्, कोभिडको एउटा बिरामी मरेर मसानघाट जानु परे पनि वा बाँचेर घर फर्कनु परे पनि कम्तीमा ७ लाख नतिरी निजी अस्पतालको शय्याबाट उम्कन पाउँदैन । भर्ना गरिएका कोभिडका बिरामीबाट निजी अस्पतालका सञ्चालकहरू कसाईंका शैलीमा निर्ममतापूर्वक लुटिरहेका छन् । चाहिँदै नचाहिने प्याथोलोजी टेस्ट गराउँछन्, दिँदै नदिएको ओखती र सूईको बिल बनाउँछन् र मूल्यमा पनि कालोबजारी गर्छन् । खोई, यसको अनुगमन ? शेरधन यसमा किन मौन ?
अर्कातिर कोशी अस्पतालको कोभिड अस्पतालको परिसरमा नागरिक स्तरमा निर्माण गर्ने भनिएको १ सय शय्याको कोभिड केयर सेन्टरको काम प्रदेश सरकारकै असहोगका कारण ढिलो भइहरेको छ । चलिरहेको कोशी कोभिड अस्पतालको अवस्था पनि लथालिङ्ग र भताभुङ्ग छ । न शौचालय गतिलो छ, न अक्सिजनको व्यवस्था भरपर्दो । यसरी कोभिड लागेका निर्धन नेपालीहरू सङ्क्रमणको असहनीय पीडासँगै, दरिद्रताको कहालीलाग्दो पीडामा छट्पटिएर मरिरहेका छन् ।
शेरधनहरूलाई त के छ ? कहिले नपाएको ऐसआराम पाएका छन् । ख्वाक्क खोकी लाग्यो वा नाकै चिलायो भने पनि सरकारी स्वास्थ्यकर्मीहरू दौडँदै आइपुग्छन् । न जाँचपड्तालको पैसा लाग्छ, न ओखती र अस्पतालको डिलक्स क्याबिनको दस्तुर । कथं कदाचित् बिरामी भइहाले भने चन्दाको दस–पाँच लाख उल्टै जोगाएर फर्कन्छन् । यस्तो छ, ओली र शेरधनको समाजवाद ।
यही प्रसङ्गमा शेरधनको त्यो भाषणको सम्झना हुन्छ, जुन वक्तव्यमा उनले एक महिनाभित्र प्रदेश सरकारले एक हजार शय्याको कोभिड अस्पतालको निर्माण गर्नेछ भन्ने घोषणा गरेका थिए । यो साउनको महिना थियो र प्रदेशमा कोभिडका बिरामीहरू धमाधम देखिन थालेका थिए । शेरधनको घोषणापछि प्रदेशवासीलाई पक्कै पनि आसा पलाएको थियो । तर, घोषणा गरेको ५ महिना बित्न लागेको छ, एक हजार शय्याको कोभिड अस्पतालको योजनाले हावा खाइसकेको छ ।
किन यसो भयो त ? बुझ्दै जाँदा के भएछ भने मुख्यमन्त्रीको कार्यालयले १ हजार शय्याको कोभिड अस्पताल निर्माणका लागि सामाजिक विकास मन्त्रालयलाई जिम्मा दिएछ । सामाजिक विकास मन्त्रालयले प्रदेशका होटललाई टेन्डर हाल्न सूचना निकालेछ । तर, कुनै होटलले पनि टेन्डर हालेनछन् । किनभने होटलले भुक्तानी पाएपछि ३० प्रतिशत कमिसन बुझाउनुपर्ने शर्त मन्त्रालयका अधिकारीले तेस्र्याएछन् । एक त, घटेर रेट हाल्नु । त्यसमा पनि भुक्तानीको ३० प्रतिशत उल्टै कमिसन बुझाउनु ? होटल सञ्चालकहरूले सम्भव देखेनछन् । यसरी कसैको टेन्डर परेनछ ।
यस्तो भ्रष्ट र कमिसनखोर सरकारका प्रमुख अर्थात् मुख्यमन्त्री शेरधन राई अनुगमनको पाखण्ड र आडम्बर किन रचना गरिरहेका छन् ? बुझिनसक्नु छ ।