लीलावल्लभ घिमिरे
पत्रकारहरु भनिरहेका छन्, हामीले आफ्नो ज्यानलाई बाजीमा राखेर पनि कोरोनाका बारेमा समाचार लेखिरहेका छौं । यी तीन तहका सरकारले केहि पनि माखो मारेका छैनन् । हामी पत्रकाहरुले यति न गरेका छौं हामीले लेखेका समाचारले समाजमा चेतनाका मुहान फुटेका छन् । मान्छेहरु सजग भएका छन् । त्यसैले कोरोनामा हामीले सबैभन्दा बढि योगदान गरेका छौं । स्वाथ्यकर्मीको त कुरौ नगरौं यो कोरोनामा सबैभन्दा बढि गरेकै उनीहरुले हो । अनि सुरक्षाकर्मी, उनीहरुले केसम्म गरेनन् । सिमा सिल गरे, बजार सिल गरे, लकडाउन गरे, कति ठाउँमा त कफ्र्यू नै लगाउनसम्म भ्याए । अर्कातर्फ सरकारको कुनै नगरौं भ्याक्सिन निस्कने कुरा भुईमा आइनपुगी नेपालीका पाखुरामा लगाईदिनेसम्मको ग्यारेन्टी गरिसकेको छ । युवा, उद्योगी, व्यवासयी, समाजसेवीदेखि सबैले कोरोनामा ठूलै योगदान गरेका छन् । सडकदेखि कोभिड बेडसम्म खाना वितरण भइरहेको छ । तर, कोरोनाले मर्नेको संख्या घट्नुको साटो बढिरहेको छ ।
यहाँ कोरोनामा काम गर्ने सवैको बारेमा ब्याख्या गर्नु भने लामो निवन्ध नै होला । तर, म आफू सञ्चारकर्मी भएकाले हामीले गरेका केहि बहादुरी सगौरब लेख्न मन लाग्यो । यो कोरोना जति डरलाग्दो छ । त्यसको हजुर बाउ डर हाम्रा समाचारले उत्पन्न गर्छ । आज यति मरे, यति जनालाई कोरोना देखियो, अस्पतालमा उपचार पाइदैन । भेन्टिलेटर छैन । अक्सिजनको अभाव । बाउछोरोको मृत्यु । दाजुभाई मरे । मलामी जानसमेत डराए । यस्तै–यस्तै । अहिले नेपाली मिडियामा जस्ता खालका समाचारहरु आईरहेका छन् । त्यसले कोरोना संक्रमितहरुलाई आत्माबल बढ्ने हैन हृदयघात चाँही हुनबेर छैन् । लामो समयसम्म मान्छेहरु त्रासमा रहे आज आफ्नै छिमेकीको मृत्यु भइरहेको छ । घरमा आफू नै कोरोना संक्रमित भइरहेका पठकका लागि हामीले दिने खुराक पक्कै पनि यस्ता खालका हैन होला ।
पुष्टि नै नभएका परीक्षणमा रहेका धेरै कुरालाई पत्रकारहरुले यसरी लेखिरहेका छौं लाग्छ हामी नै विज्ञ हौं । अहिले समाजलाई सकारात्मक सूचनाको आवश्यक छ । आज अस्पतालमा मान्छे मरिरहेका छन् । मर्ने सबै कोरोना पोजेटिभ त भनिएको छैन ? यसबारे ध्यान जान सकेको छैन । कोरोनाका नाममा सबै गरिरहेका छौं भन्छन् तर के के कसरी भईरहेको छ भन्नेबारे खोजी कम छ ।
आफूले लेखेका आफ्नै समाचार पढ्दा राति सपनामा यमराजसँंग भेट हुँदा बरु कम डरलाग्दो हो त्योभन्दा बढि डर आफैलाई लाग्छ । विचरा पठकहरुले झन् पढिरहेका होलान् । आफैलाई लाग्छ, यस्ता समाचार पढ्यो भने कोरोना चाँही लाग्छ लाग्दैन, दैव भरोसा । तर, प्रेसरको औषधि चाँही निकट भविष्यमा सेवन गर्न बाध्य हुने कुरामा दुईमत हुदैन् । अर्कोतर्फ मानसिक रोगका बारेमा त सोच्ने फुर्सदै छैन् कि भने दिमागले अहिले सोच्ने भनेको कोरोनाका बारेमा मात्र हो । यी सामान्य उदारण मात्र हुन् ।
अब कुरा गरौं, हाम्रा डाक्टर र स्वाथ्यकर्मीको । आज धेरैजनाले भन्न थालेका छन् । कोरोना लागिहालो भने चाँही झुक्किर पनि अस्पताल नजानु । बरु घरमा नै अक्सिजन ल्याएर लगाउनु । किन यस्तो कुरा आइरहेको छ ? वास्तवमा डाक्टरहरुले राम्रोसँग उपचार गरेका भए त कसैले पनि यस्तो भन्दैनथिए होला । तर, सबैभन्दा कोरोनामा गर्ने त डाक्टर र स्वास्थ्यकर्मी नै हौं भन्ने सडकमा आवाज सुनिन्छ । कोरोनाका विरामीलाई डाक्टरले भेट्ने, गफ गर्ने, स्वास्थ्कर्मीले अक्सिजन, प्रेसर, सुगर, ज्वारो नापिरहने भएका भए त आज विरामीहरु अस्पताल जान नै डराउने अवस्था आउँदैनथियो होला नि । कोभिड अस्पतालमा राम्रो उपचार मात्र हैन, राम्रो खाना समेत छैन । भनेको बेला अक्सिजनको के कुरा, तातो पानी समेत पाइदैन भन्ने विरामीहरुको संख्या धेरै छ । पक्कै पनि विरामीले असत्य त बोलेका हैनन् होला ।
अनि हाम्रा सरकारको त कुरै नगरौं । अहिले सबै बजेट कोरोनामा, सवै समय कोरोनामा, मिटिङ कोरोनाको, टिप्पणी कोरोनाको, सदर कोरोना । कोरोनाबाहेक यो दुनियाँमा केहि छ जस्तो लाग्दैन, प्रदेश सरकार र स्थानीय सरकारका काम हेरेर ।
के अहिले जे भइ रहेको छ ? त्यो ठिक भईरहेको छ त ? कोरोनाका संक्रमितहरुले सहि सूचना र सहि उपचार पाएका छन् त ? यसको उत्तर सहज छैन । यहाँ गर्ने सबैले आफ्नो ज्यान नै जोखिममा राखेर सबै कोरोनाका लागि गरिरहेको छु भनिरहँदा कोरोना संक्रमितको कुरा चाही मेल पटकै खाँदैन ।
एक हात बाहेक धेरै संक्रमितहरुले आफ्नो घरपरिवार, समाज, साथीभाईको त महसुस गर्न पाएन । सरकार र स्वास्थ्यकर्मी त उनीहरुलाई आकाशको फल आँखा तरमर जस्तै भयो । कोरोना मेरो देशमा प्रवेश गरेको एक वर्ष पुग्नलाग्यो । तर, अहिलेपनि यो देशका कुनैपनि नागरिकले मलाई कोरोनाले सतायो भने मैले भेन्टिलेटर हैन भनेको बेला अक्सिजनको बेड पाउँछु भन्ने विश्वास पनि छैन । यस्तो अवस्थामा हामी पत्रकारहरु, अनि डाक्टरदेखि स्वास्थ्यकर्मी हुँदै तीन तहका सरकारले कोरोना विरुद्ध जेहाद नै छेडेका छौं भन्नु लाजमर्दो कुरा हो । पत्रकारले कोरोनाको त्रास हैन, सरकारलाई सजग बनाउनुपर्ने हो । स्वास्थ्यकर्मीहरु आफैं त्रसित भएर बाख्राले पानी देख्दै उफ्रिए जसरी कोरोनाका विरामी देख्दा भाग्ने हैन, सँगै बसेर सेवा गर्नुपर्ने हो ।
अनि सरकारले एकपछि अर्को कुरा गर्दै भाग्ने हैन्, जनताको विश्वास जित्नेगरि उपचारको व्यवस्था मिलाउने हो । तर, यहाँ सबै आफ्नै दायीत्ववाट विमुख भएका छन् । माफियाहरुले स्वास्थ्य सामाग्री मात्र हैन, हर क्षेत्रमा ब्रम्हलुट मच्चाईरहेका छन् । देशको गोजी कोरोनाका नाममा रित्तिदै छ । विकास ठप्प छ । नेताहरु कमिसनमा मस्त छन् । पत्रकार कहाँ छन् ? यति बेला म आफु आफैलाई खोजिरहेको छु ।