‘थु’क्क पासवर्ड जिन्दगी ?

 अर्जुन आचार्य

बिहानै उठ्दा मोबाइलको पासवर्ड बिर्सियो । ए बाबा ! पासवर्ड बिर्सिएर हैरान बनेको मान्छे मोबाइल मर्मतमा जाने तरखर गर्दा पर्समा रकम थिएन । रकम लिन बैंकमा पुगेको एटिएमको पासवर्ड बिर्सियो । ८ बजे मोबाइल मर्मतका लागि बसेको म १० बजे बैंक खुलेको समयमा पुग्नुपर्ने भयो । एटिएमको पासवर्डको व्यवस्था मिलाएर रकम लिएर मोबाइल बनाएर अफिस पुगेको फेरि कम्प्युटरको पासवर्ड बिर्सियो । प्राविधिकलाई बोलाएर कम्प्युटर खुल्यो । अब काम होला भनेको इमेलको म्यासेज हेर्न खोजेको त्यही पासवर्ड बिर्सिएर हैरान । अर्को इमेल खोलियो । अब सामाजिक सञ्जालमा के आयो भनेर फेसबुक लगइन गर्न खोजेको त्यही अर्को पासवर्ड । फेरि बिर्सियो । हे भगवान् ! मेरो दिमाग हिजोसम्म ठिकै थियो के भयो ?

पासवर्डको चक्करमा बिहानदेखि १२ बजेसम्म गुज्रिसक्यो । त्यही बेला थाहा भयो कि एउटा माइक्रोफाइनान्सले सर्वसाधरणका लागि शेयर खुलाएको छ । त्यसमा शेयर भर्न खोजेको फेरि मेरो शेयरको पासवर्ड बिर्सियो । मेरो शेयरको पासवर्ड पुनः लिन बैंक पुगियो । बैंकबाट काम सकेर २ बजे अफिस आइपुग्दा आधा दिन सकियो ।
संसार डिजिटल युगमा छ । विश्वका कतिपय ठूला–ठूला कारोबार गर्ने संघ संस्थाहरुको कार्यालय नै डिजिटल छ । म्यानुअल अर्थात् कागजी खातापाताको काम अब विस्थापित हुँदैछ । नेपालमा पनि कतिपय कार्यालयहरू म्यानुअलसँगसँगै डिजिटल बनिरहेका छन् । यहाँ बिर्सन नहुने कुरा के हो भने जति जति हामी डिजिटल बन्दै जान्छौं, त्यति–त्यति पासवर्ड महत्वपूर्ण बन्दै गएको छ । मेरै कुरा गर्ने हो भने आजभन्दा १५ वर्ष अगाडि याहु मेल खोलियो । त्यहि इमेल आइडी निर्माण गर्दादेखि हालसम्म मैले धेरै आइडी र पासवर्ड छनौट गरँे र बिर्सिएँ पनि । तर, अहिले लाग्न थालेको छ । यो पासवर्ड कस्तो बनाउने र कसरी सम्झने ? यसको ह्याङओभरले मलाई मात्रै होइन, सबैलाई पिरोलिरहेको देखिन्छ ।

के–के मा पासवर्ड ?
याहु मेलमा पासवर्ड, हटमेलमा पासवर्ड, जिमेलमा पासवर्ड, फेसबुकमा पासवर्ड, टुइटरमा पासवर्ड, इन्स्टाग्राममा पासवर्ड, विच्याटमा पासवर्ड, टिकटकमा पासवर्ड, वेभसाइटमा पासवर्ड, ब्लगमा पासवर्ड, कम्प्युटरमा पासवर्ड र मोबाइलमा पासवर्ड, ह्वाटसपमा पासवर्ड । हे भगवान् ! कतिको पासवर्ड सम्झनु ? डिजिटल दुनियामा रमाउनेहरुले झनै यस्ता दर्जनौं पासवर्ड कति ख्याल गर्नुपर्छ होला ? मोबाइल बैंकिङ सेवा लिनेका लागि त्यही पिन नम्बर र ट्रान्जेक्सन नम्बर याद हुनुपर्छ । मेरो शेयरको पासवर्ड, आइपिएसको पासवर्ड, वाइफाइमा पासवर्ड र एटिएमकार्डको पासवर्ड । अब त पासवर्डबिना जिन्दगी चल्ला जस्तो छैन । पैसा पठाउन पासवर्ड, पैसा झिक्नै पासवर्ड । अब डिजिटल सुविधासम्पन्न घर बनाउने हो भने त झन् गेटैदेखि ढोका, ढोकादेखि बेडरुमसम्म पासवर्ड हुँदै त्यही सिरानीमा राखेको ड्रोयरमा पनि पासवर्ड ? सायद यस्तो लाग्दैछ कि पासवर्डकै चक्करमा जिन्दगी हैरान बनिरहेको छ ।

होस गर्नुहोस्, क्षति होला ?
एकछिनको लागि पासवर्ड बिर्सियो के होला ? केही चल्दैन । पासवर्ड पनि बेलाबेलामा विगत सम्झाउँदै ‘फेसबुकमा तपाईका सम्झनाहरु’ भनेर टाइम लाइनमा देखाएजस्तै डिजिटल पासवर्ड सम्बन्धीत मानिसको मोवाइल नम्बर वा इमेल ठेगानामा फ्याट्ट आउने पनि बनाउनु नि ? त्यसो हो भने धेरैको उद्धार हुनेथियो होला । कतिपयका विगतका तस्बिर पासवर्ड बिर्सिएरै हेर्न नपाएका होलान्, कतिपयको गर्लफ्रेन्डसँगका रसिला, जोसिला गफका म्यासेज यतिकै बसेका होलान्, कतिपयको फेक आइडीबाट हुने अवैध धन्दा चौपट भएका होलान् । कतिपयको यस्तै–यस्तै पासवर्ड बिर्सिएकै कारणले वैध आम्दानी पनि गुमेको होला ।

अहिले युटुबरहरुले पनि धेरै दर्शक कमाइसकेकका कतिपय च्यानलहरु पनि पासवर्डकै लफडाका कारण बन्द हुँदा रोजगारी गुमेको होला । कतिपयले गर्लफ्रेन्डको पासवर्ड राख्दा घरझगडा पनि भएको होला । कतिपयले सजिलो पासवर्ड राख्दा ह्याक भएर विभिन्न क्षति पनि पुगेको होला । आजको दुनियामा पासवर्डलाई अझै स्ट्रोङ बनाउनको लागि त्यस्ता एपहरुले पटकपटक आग्रह गरेका छन् । पासवर्ड स्ट्रोङ बनाउँदा धेरैले आजको भोलि पासवर्ड बिर्सिएका पनि होलान् । म स्वयंले पनि धेरै पटक पासवर्ड बिर्सिएको छु ।

यस्ता पासवर्ड जोखिमयुक्त
पासवर्डलाई कतै लेखेर राख्नु पनि असुरक्षित हुन्छ । कसैले तत्कालै थाहा पाउने खालको पनि पासवर्ड बनाउनु भएन । प्रख्यात नाम, फिल्म वा उपन्यास वा कमिक्सका फिक्सनल क्यारेक्टर, १ देखि ९ सम्मको नम्बर, फोन नम्बर जस्ता कुरालाई पासवर्डको रुपमा राख्दा धेरै ह्याक हुने गरेको जानकारहरू बताउँछन् । अत्यन्त जोखिमपूर्ण काम भनेको नै एउटै पासवर्ड धेरै पटक अथवा धेरै प्रयोग गर्ने हो । किनकि यदि कसैले एउटा वेबसाइट ह्याक गरे अन्य वेबसाइट पनि सजिलै ह्याक हुने अवस्था आउँछ । यसका साथै आफ्नो नाम, श्रीमतीको नाम, बुबा, आमा वा छोराछोरीको नाम, ठाउँको नामबाट पासवर्ड प्रयोग गरेपनि जोखिम हुनसक्छ । अब त यस्तो लाग्दैछ पासवर्ड विरुद्धको आन्दोलन पो सुरु गरौं कि ?

बुधबार, १० मंसिर, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर