निम्न–मध्यम परिवार । बुबा भारतीय सेना । आमा बिरामी । बुबाआमाको स्नेहबाट बञ्चितप्रायः । दाजुको स्नेह र अभिभावकत्व । यो बाल्यकालीन अवस्थामा हो, जनयुद्धकी विरांगना झापा कनकाई नगरपालिका–७, दुर्गापुरकी सुशीला कन्दङ्वा (वर्षा) को ।
किताब, कलम र कापी च्यापेर विद्यालय जानुपर्ने बेला उनले आफ्नो नभई सम्पूर्ण नेपालीको सुनौलो बिहानका लागि क्रान्तिपथ तय गरिन् । व्यक्तिगत आकांक्षामा रमाउने र आफ्नो मात्र स्वार्थ हेर्नेहरुको भीड छ, हाम्रो समाज । तर, सुशीला उनीहरुका लागि थप्पड हुन् । एउटा सबक हुन् । उदाहरण हुन् । प्रेरणा हुन् ।
सुशीलालाई गणतन्त्रकी सेनानी भन्दा फरक पर्दैन । किनकि, उनी जनयुद्धमा होमिएकी अथक योद्धा हुन् । एउटा महिलाले शिशुलाई जन्म दिन जति धेरै प्रसव वेदना सहनु पर्छ, त्योभन्दा बढी दुःख सहेर उनले गणतन्त्र स्थापनामा योगदान दिएकी छन् ।
विसं. २०३८ माघ १० गते तेह्रथुम आठराई–५, छातेढुंगा (तत्कालीन छातेढुंगा गाविस–६)मा आमा धनमाया लिम्बू र बुबा जयबहादुर लिम्बूको माइली छोरीको रुपमा सुशीलाको जन्म भएको हो । बुबा जयबहादुर भारतीय सेना हुन् भने आमा धनमाया गृहणी ।
बुबा जयबहादुर सेना भएकाले भारतमै रहने र आमा पनि बिरामी भएकाले भारतमै उपचारका लागि लामो समय बस्नु परेको थियो । सुशीलाले बाबुको न्यायो त पाइनन् नै कक्षा–१ मा पढ्दादेखि नै मातृ स्नेहबाट समेत विमुख हुनुप¥यो । आफ्ना दाजुको स्नेह र अभिभावकत्वमा सुशीलाको बाल्यकाल बित्यो ।
सानैदेखि हक्की र निडर स्वाभावकी थिइन्, सुशीला । थिचोमिचो नसहने र गर्न नदिने क्रान्तिकारी स्वभाव उनको विशेषता नै हो । त्यसमा पनि तेह्रथुमको आठराई कम्युनिष्टहरुको जग भएको ठाउँ । ‘गाउँमा साना–ठूला कार्यक्रम भइरहन्थे’, सुशीलाले विगत सम्झिन्, ‘आठराईमा कम्युनिष्टहरुको प्रभाव धेरै थियो, कम्युनिष्टहरुको गतिविधि धेरै हुन्थ्यो ।’
जनवादी गीतहरुमा नाच्ने, गाउने उनीसँग पहिलो पटक आठ वर्षको हुँदा २०४६ सालको आन्दोलन सफल भएपछि ¥यालीमा सहभागी भएको स्मरण ताजै छ । ‘मलाई दाजु–दिदीहरुले ¥यालीमा लानु भएको थियो’, उनले भनिन्, ‘त्यतिबेला एक घण्टाको बाटो सकिनसकी हिँडेकी थिएँ, त्यसपछि हरेक गतिविधिमा सहभागी भएर अनेरास्ववियुमा संलग्न हुँदै राजनीतिक गतिविधिलाई अघि बढाएँ ।’
कम्युनिष्ट हुनुको कारण
सुशीलाका बुबा कट्टर कम्युनिष्ट हुन् । भारतीय सेना भए पनि निर्वाचनताका जसरी भए पनि भोट हाल्न घर आइपुग्ने गर्थे । पारिवारिक पृष्ठभूमि कम्युनिष्ट भएकाले पनि उनलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्रेरणा मिल्यो । ‘बुबाले ठूलो भएरपछि यिनीहरु (छोराछोरी)लाई पनि एमालेको नेता बनाउनुपर्छ भन्नुहुन्थ्यो’, उनले कम्युनिष्ट पारिवारिक पृष्ठभूमि खुलाइन्, ‘त्यतिबेला हाम्रो परिवारको झुकाव एमालेप्रति निक्कै थियो ।’
सानै भए पनि कम्युनिष्ट राजनीति बुझेकाले उनको मन त्यता तानियो । पत्रपत्रिका पढ्न रुची राख्ने सुशीलाले विद्यालयको पुस्तकालमा ‘नारी बन्धन र मुक्ति’ भन्ने पुस्तक पढिन् । त्यसपछि उनलाई महिला मुक्तिका लागि क्रान्तिमा होमिन थप मलजल ग¥यो ।
‘हाम्रो परिवारमा महिलालाई त्यस्तो छेकबार थिएन, प्रायः जनजातिमा महिलालाई त्यस्तो बन्धनमा राखिँदैन’, उनले भनिन्, ‘तर, हाम्रो समाज त्यस्तो थिएन, धेरै महिला दिदीबहिनीहरु शोषण र दमनमा पर्नुभएको थियो, महिला मुक्तिका लागि पनि म विद्रोहमा सहमाहित भएकी हुँ ।’ त्यसपछि उनको एउटै सपना थियो, महिला मुक्ति ।
माओवादी धनीलाई लुट्ने, ठग्ने, मार्ने, महिला केटाकेटीलाई देख्ने बित्तिकै लाने पार्टी हो भनेर उनले सुनेकी थिइन् । दाजु र दिदीसँग बुझ्दै जाँदा गरीबको पार्टी भन्ने थाहा पाएपछि माओवादीमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ । ‘दाजु–दिदी पार्टीको सम्पर्कमा आइसक्नु भएको रहेछ’, उनले भनिन्, ‘त्यसपछि उहाँहरुबाटै सबै कुरा बुझियो ।’
महिलामुक्तिका लागि उठेको मुठ्ठी
लडाइँ नगरी परिवर्तन नआउने, आम महिलाको समस्या समाधान नहुने उनको बुझाइ थियो । ‘महिला दिदीबहिनी राजनीतिमा कहिले समेटिएनन्, गाउँमा पनि सबै पुरुष मात्र थिए’, उनले त्यतिबेलाको असमानता सम्झँदै भनिन्, ‘कहीँकतै महिला नभएको अवस्था थियो, संकुचित पारिएको थियो ।’ महिलाको साँघुरो घेरा हटाउन, नारी मुक्ति र गरीब धनीको विभेदको खाडल अन्त्य गर्न मूल जरो नै राज्य सत्ता परिवर्तन नगरी नहुने बुझेपछि १७ वर्षको किशोरवयमै उनी नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन् ।
विसं. २०५६ मा माओवादी आबद्ध उनी २०५७ साल जेठदेखि हतियारबद्ध भएर हिँड्ने थालेकी हुन् । युद्धमा होमिँदा उनी कक्षा–९ मा पढ्दै थिइन् । वि.सं. २०६२/०६३ को खुला राजनीतिक परिवेसपछि उनले एसएलसी पास गरिन् ।
उनी युद्धमा होमिदा भोजपुर, संखुवासभा र तेह्रथुम र धनकुटा चार जिल्लाको एउटा जिल्ला थियो । जसमा १२÷१३ जना कार्यकर्ता थिए । त्यसको सेक्रेटरी दोलखाका गंगा कार्की (विश्व) रहेकाले उनले बताइन् ।
पार्टीमा लागेपछि २०५६ माघ, फागुन, चैत करिब तीन महिनासम्म खुल्लामा रुपमा हिँडेको उनले बताइन् । ‘प्रचारप्रसार गर्ने, जनतासँग कोअर्डिनेशन गर्ने, जनतालाई प्रशिक्षत गराउने त्यही मात्र काम भयो’, उनले भनिन्, ‘त्यसपछि २०५७ सालदेखि पूर्ण रुपमा भूमिगत भइयो ।’
भूमिगत भएपछि चार जिल्लाले एउटा ‘स्क्वायर्ड’ (फोर्स सेना) बनाएको उनले बताइन् । ‘त्यतिबेला कतिपयसँग भएका हतियार आग्रह गरेर मागियो, कतिसँग खोसियो’, उनले भनिन्, ‘त्यतिबेला स्क्वायर्डको मेम्बर म पनि थिएँ ।’ त्यसपछि धनकुटामा जाँदा माओवादीमा लाग्ने पार्टी कार्यकर्ता र शुभचिन्तक धेरै भएको उनले बताइन् ।
धनकुटामा आएपछि सुशीलाले फौजी टोलीको नेतृत्व गरिन् । त्यसपछि संखुवासभा गइन् र पार्टीले मेची–कोशी शैन्य टोली बनायो । त्यसमा एउटा टोलीको कमाण्डर बनिन् । उनको कार्यक्षेत्र विशेष गरेर चार जिल्लामै रहेको थियो ।
हात गुम्दाको क्षण
२०५८ सालमा युद्ध बिराम भएपछि उनी पार्टीको तेह्रथुम जिल्ला कमिटी सदस्य बनिन् । ‘पार्टीको जिल्ला कमिटीको बैठक राख्न हामीलाई बोलायो, म छथर एरियामा थिएँ । जिल्लाको बैठक इवा गाविसमा थियो । त्यतिबेला (विसं. २०५८ मंसिर १० गते) फौजी कारबाही गोपेटार हान्ने कुरा थियो । युद्ध मोर्चामा सहभागी भएर भिडेर आएका नौ जना घाइते कमरेडहरुलाई हाम्रो जिल्ला पार्टीलाई जिम्मा लगायो । बाटोमा उपचार गर्दै लैजाँदा मुभ गर्ने बेलामा मंसिर १४ गते सेनाले चौतफी घेरा हालेर आक्रमण ग¥यो । घाइते भएका नौ जनामध्ये एक जना कमरेड रोशन सहित सबैजना बित्नुभयो । हामी बसेको सेल्टरमा जम्मा ३१ जना थियौँ ।
घाइतेसहित १७ जना बित्नुभयो । र, चार जना सर्वसाधारणसहित जम्मा २१ जनाको मृत्यु भयो । म घाइते भए । दुवै हात र एउटा खुट्टामा गोली लाग्यो । देब्रे हात छियाछिया भयो । त्यहाँबाट भागेर ओडारमा गएर लुकियो । हातमा नशा थियो तर उम्किने अवस्था थिएन । चारै तिरबाट सेनाले घेरा हालेको थियो । खाना त के पानी खाने अवस्था पनि थिएन । दुष्मनले कहीकतैबाट निस्किन दिएको थिएन । सबै नजर बन्द जस्तै भएका थियौं । जनता पनि नजरबन्द जस्तै थिए । हेल्थ पोस्ट पनि जान सक्ने अवस्था थिएन । जनतालाई पनि कतै जान दिएनन् । स्थानीय भाउजुहरुले सेनाबाट बचाएर लगे पनि पानी खाने पनि अवस्था थिएन । जसोतसो गरेर आफ्नो घर आइपुगियो । त्यहाँबाट उपचारका लागि पाँचथर पु¥याइयो । ५÷६ दिन भइसकेकाले हात कुहिसकेको थियो । हड्डी पूरै फुटेको थियो । तर, नशा चाहिँ थियो । पाँचथरमा प्राथमिक उपचारपछि बल्ल तीन महिनापछि सुनसरीको धरानमा आएर अपरेशन गरियो । त्यसपछि छ महिना जति रेष्ट गरियो ।’
सेनाको गोली लागेर घाइते हुँदा पानी पनि खान नपाएको त्यो समय उनको जीनवको सबैभन्दा कठिन समय थियो । ‘भोक–प्यास र शारीरिक पीडा ! सोच्दा पनि आङ सिरिङ हुन्छ’, उनले भनिन्, ‘यो मेरो युद्धकालीन समयको सबैभन्दा पीडादायी समय थियो ।’
कष्टपूर्ण यात्राः कुनै पछुतो छैन
उनको नजरमा जनयुद्धलाई धेरै नै कष्टपूर्ण र पीडादायी छ । भूमिगत वा जुनसुकै अवस्थामा धेरै पीडा र हण्डरहरु खेप्नु परेको उनले बताइन् । ‘धेरै दिन त भोकभोकै बस्नुप¥यो, भुटेको मकै पनि खान पाउने अवस्था थिएन’, उनले भनिन्, ‘जनयुद्धका दिनहरु धेरै नै कष्टपूर्ण थियो ।’ पार्टीको सम्पर्कमा रहेका जनताहरुमध्ये अधिकांश गरीब र निमुखा भएकाले उनीहरुको घरमा गएर बस्दा खाना खान सकिने अवस्था नरहेको उनले सुनाइन् । उनीहरुहरुले अन्यत्रबाटै खोजेर ल्याएर भुटेर दिएको मकै एक÷एक मुठ्ठी पनि खान सकिने अवस्था थिएन । ‘एक त धेरै हिँड्नुपर्ने त्यसमा पनि भोकका कारण हिँड्न सक्ने अवस्थै थिएन’, उनले सम्झिन् ।
जीवनलाई पातमा राखेर हिँड्नु पर्ने अवस्था रहेको सुनाउँदै उनले भनिन्, ‘दुस्मनले देखे हामीले उनीहरुलाई मार्ने र उनीहरुले देखे उनीहरुले मार्ने अवस्था थियो ।’ घरमा धेरै दुःख र समस्या नव्यहोरेको बताउँदै उनले जनयुद्धताका धेरै कष्टपूर्ण यात्रा पार गरेको बताइन् । तर पनि उनलाई जनयुद्धमा लाग्दा कुनै पछुतो छैन । देशमा गणतन्त्र ल्याउन सफल भएकोमा उनीलाई खुसी लागेको छ ।
पार्टीमा पाएको जिम्मेवारी
विसं. २०५४ सालमा अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा उनले पहिलो पाइला चालेकी हुन् । २०५५ सालमा नेकपा माओवादी गाउँ कमिटी सदस्य बनिन् । नेकपा माओवादीको पूर्णकालीन सदस्यको रुपमा २०५६ सालमा उनको राजनीतिक यात्रा अघि बढ्यो भने २०५७ सालमा माओवादीको जनमुक्ति सेना स्क्वायर्ड सदस्य बनिन् ।
२०५७ सालमै उनलाई जनयुक्ति सेनोका स्क्वायर्ड कमाण्डर बनाइयो भने सोही वर्ष मेची–कोशी प्लाटुनेका सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालिन् । ०५८ सालमा उनको जनमुक्ति सेनाबाट पार्टी राजनीतिमा प्रवेश भयो र तेह्रथुम जिल्ला कमिटी सदस्य बनिन् । ०५९ सालमा संखुवासभाको संयुक्त एरिया इञ्चार्ज र संखुवासभा, तेह्रथुम, धनकुटाको संयुक्त जनसांस्कृतिक संगठनको अध्यक्षको जिम्मेवारी सम्हालिन् । ०६० सालमा संखुवासभाको जनसरकार सदस्य, ०६१ सालमा ब्युरो सदस्य, सिलिचोङ आधार जिल्ला सेक्रेटरी, ०६२ मा संखुवासभा सेक्रेटरी, ०६३ मा तेह्रथुम सह–इञ्चार्ज बनिन् ।
२०६४ सालमा संविधानसभा सदस्य तथा संविधानसभाको अर्थ समिति सभापति बनेकी उनी ०६८ मा लिम्बूवानको सेक्रेटरी र सह–इञ्चार्जको जिम्मेवारी सम्हालिन् । ०७१ मा महिला फ्याक्सन इञ्चार्ज र पाटीको पोलिटब्यूरो सदस्यको जिम्मेवारी सम्हालेकी छन् ।
जनयुद्ध एउटा सुखद् उपलब्धि
परिवर्तनको यात्रामा समाहित भएका योद्धा साथीहरुले धेरै कष्ट व्यहोरेपछि ‘अब हामी छोड्नुपर्छ, यसरी सकिँदैन’ भन्दा ढाडस दिने काम पनि उनले गरिन् । आफूहरु परिवर्तका लागि, गरीब, निमुखा, आमसर्वहारा, महिलाका लागि संघर्षमा उत्रिएकाले यात्रा टुंग्याउन नहुने भन्दै सम्झाएको विगत सम्झिइन् । ‘हामी एक जनाले जीवन बलिदानी गर्दा करोडौं जनताको मुक्ति हुन्छ भने पछि हट्नु हुँदैन भनेर सम्झाए बुझाइ पनि गरियो’, उनले भनिन्, ‘यति धेरै दुःख हुँदा पनि म कहिल्यै हतोत्साहित भइँन ।’ आफूले कष्ट सहे पनि आज करिब तीन करोड जनताले पाएको गणतन्त्रले आफूलाई खुसी तुल्याएको उनको भनाइ छ ।
‘अढाइसय वर्षदेखि जरो गाडेर बसेको राजतन्त्र उखेल्न सफल भयौं’, उनले भनिन्, ‘आज गणतन्त्र स्थापना भएको छ, दिवस मनाउन पाइएको छ, मुलुकमा आमूल परिवर्तन आएको छ ।’ जनयुद्धको बलमा नै महिला, दलित, अल्पसंख्यक, विभिन्न निमुखा, पिछडा वर्गले अधिकार प्राप्त गर्न सकेको उनले बताइन् । तर, जनयुद्धबाट प्राप्त भएको उपलब्धिलाई कपितयले नपत्याए पनि त्यो घामझैं छर्लङ्ग रहेको उनले बताइन् ।
अहिले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाले पहुँच स्थापित भएकोमा उनलाई खुसी लागेको छ, आफ्नो संघर्ष सफल भएको आभाष भएको छ । सोही कारण उनले जनयुद्धबाट प्राप्त भएको उपलब्धिलाई एउटा सुखद पाटोका रुपमा लिएकी छन् ।
संविधानसभामा पाइला टेकेको दिन
जनयुद्धको कष्टपूर्ण यात्रा शान्ति प्रक्रियामा आएर टुंगिए पनि उनको माग पूरा भएको थिएन । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा महिलाको अधिकार सुरक्षित भएसम्म त्यो पूरा हुने कुरा पनि भएन ।
महिला अधिकार स्थापित गर्न चालेको कदम संविधानसभाको दलानमा पुग्दा अनुभव उनको स्मरणमा ताजै छ । २०६४ मा संविधानसभा सदस्य बनेकी उनको पहिलो मुद्दा नै महिला समानता थियो । त्यसपछि अरु कुरा । एउटा हात गुमाए पनि संविधान लेख्न सफल भइन् उनी । संविधानमा उनको माग ५०÷५० प्रतिशत भए पनि ३३ प्रतिशत भए पनि महिला सहभागिता सुनिश्चित भयो, सबै जातजातिले समान अधिकार स्थापित भयो । जसलाई उनी ‘महान् जनयुद्ध’ सफलता ठान्छिन् ।
राजनीतिज्ञलाई सुझाव
हिजो जे कारणले जनयुद्धमा लागिएको त्यसको मुख्य ध्येय नै सबै जातजाति, भाषाभाषि, महिला, अल्पसंख्यक, दलित लगायतको अधिकार प्राप्त रहेको उनको भनाइ छ । तर, भनेजस्तो र सोचे अनुरुप अहिले हुन नसकेको उनले बताइन् ।
‘महिलालाई नीति निर्माण र राजनीतिक नेतृत्व गर्ने तहमा पु¥याउनु पर्छ भन्ने उद्देश्यले नै हामीले संघर्ष गरेको हो’, उनले भनिन्, ‘तर, त्यो अहिले पनि हुन सकेको छैन ।’ आधा आकाश ढाकेका महिलाहरु ३३ प्रतिशतमा संकुचित हुनु परेको उनले बताइन् । महिला समानताका लागि बराबरमा हुने भए पनि भएको ३३ प्रतिशतमा पनि पहुँचवाला मात्र पुग्न सकेको उनको ठम्याइ छ । संविधानमा ५० प्रतिशत महिला सहभागिता उल्लेख गर्न कन्जुस्याइँ गरिनुले पनि महिला समानता र सहभागिता अझै नारामै रहेजस्तो लाग्छ उनलाई ।
महिलाले असवर पाए जे पनि गर्न सक्ने कुरा जनयुद्धदेखि नै पुष्टि भइसकेको उनले बताइन् । ‘संविधान प्रदत्त ३३ प्रतिशत महिला सहभागिता चुनाव, संसद् वा कुनै पनि क्षेत्रमा पु¥याउन सकिएको देखिँदैन’, उनले भनिन्, ‘राजनीतिक नेतृत्वका पुरुषहरुले त्यो मान्न चाहेको जस्तो देखिँदैन ।’
अब महिलालाई संविधानले दिएको अधिकार प्राप्त गर्न सक्ने बनाउन राजनीतिक नेतृत्वले अग्रसरता देखाउनु पर्ने उनले बताइन् । राजनीतिक नेतृत्वले सदन र सरकारमा महिला सहभागिता बढाउन छुट्टै किसिमको नीति बनाउनुपर्नेको सुझाव छ । ‘पार्टीमा पनि ३३ प्रतिशत महिला देखिँदैन, हाम्रो पितृ सत्तात्मक सोच अन्त्य गर्न जरुरी छ’, उनले भनिन्, ‘नेतृत्वले संकुचित मानसिकता हटाउन जरुरी छ ।’
पार्टीले संरक्षण नगरे पनि अवसर दिने कुरामा आफूहरुलाई वञ्चित गरिएको उनको गुनासो छ । पार्टी नै सबै थोक ठानेर युद्धमा आफूहरु लागेकाले चाकडी र चाप्लुसी गर्ने भन्दा योगदानमा आधारित अवसर प्रदान गर्नुपर्ने उनको सुझाव छ ।
अबको चाहना
अहिले उनको घाइते जीवन सहज छैन । न आम्दानीको दह्रो स्रोत छ न त आफैँले गरीखान सक्ने शरीर । एउटा हात नभएपछि काम सक्ने अवस्था छैन । उमेर पनि ढल्किँदै गएकाले अब जीवन जिउने सहारा उनलाई चाहिएको छ ।
युद्धमा जीवन समर्पण गरेकी सुशीलाले सरकारले जीवनयापनमा सहजता ल्याउने वातावरण बनाइ दिन्छ कि भन्ने आश छ । पढ्दा पढ्दै वर्गमुक्तिका लागि कलम छाडेर र बन्दुक समाएकी उनले फेरि न बन्दुक समाउने अवस्था छ न कलम नै । नेपाली जनताको जीवन दैनिक फेर्न सफल भएकी उनको आफ्नै दैनिकी कहालीलाग्दो बन्दै गएको छ । उनको एउटै माग छ, ‘सरकार घाइतेलाई उपचार गर, ससम्मान बच्ने वातावरण बनाइदेउ, जीवने आधार देउ ।’
हालको आर्थिक र पारिवारिक अवस्था
सुशीलाको जनयुद्धकै सहयोद्धा मणिकुमार साम्पाङ (विजय) सँग २०६० साउन जनवादी विवाह भएको हो । पार्टीमै आबद्ध भएको बेला दुवै जना एउटै जिल्ला कमिटीमा थिए ।
मुलुक परिवर्तनको एउटै सपना बोकेर हिँडेका उनीहरुको विचार त मिलेकै थियो, मन पनि मिल्यो । विवाह गरे । उनको वैवाहिक जीवनले १५ वर्षको यात्रा तय गरिसकेको छ । उनको हाल एउटा ८ वर्षीय छोरा जोयल छन् । जो दुई कक्षामा पढ्छन् ।
हाल मणिकुमार पूर्व एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटी सचिव छन् । उनीहरुको आर्थिक अवस्थामा खासै राम्रो छैन । जसोतसो जीवन निर्वाह गरिरहेका छन् ।
– सन्तोष शर्माद्वारा लिखित उक्त फिचर घाइते योद्धा प्रतिष्ठानद्वारा प्रकाशित ‘नमेटिने घाउहरु’ पुस्तकबाट साभार गरिएको