कतै घरमै त कतै जलाशयमा छठ (फोटो)

विराटनगर । श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व यस पटक कतिपयले घरमा त कतिपयले नहर, जलाशय तथा नदीमा मनाउने तयारी गरेका छन् ।

विगत वर्षहरुमा झकिझकाउ हुने नहर, नदी तथा जलाशयहरु यस वर्षमा भने त्यति उत्साहजनक छैन । कोरोना महामारीका कारण सरकारले संक्रमणको जोखिम हुने भन्दै घरघरमै पोखरी बनाएर व्यक्तिगत ढंगले छठ पर्व मनाउन आग्रह गरेको छ ।

जस अनुसार कतिपय सर्वसाधरणले आफ्नो घरआँगनमा कृत्रिम पोखरी बनाएर छठ मनाउने तयारी गरेका छन् । विगतमा नहर तथा नदीमा छठ मनाउँदै आएका विराटनगर–१२ का गणेश साहले यस पटक घरमै सानो पोखरी खनेका छन् । उनले कोरोना संक्रमणको जोखिम हुने भएको कारण कृत्रिम पोखरी निर्माण गरेको बताए । ‘सरकारले खोला तथा नहरबाट संक्रमण बढ्न सक्ने भएको कारण सुरक्षित हुन आव्हान गरेको कारण यस पटक घरमै छठ मनाउन लागिएको हो,’ उनले भने । एउटा कृत्रिम पोखरीमा ५ जनाको परिवार मिलेर छठ मनाउने तयारी गरेको उनले बताए ।

विराटनगरस्थित केशलिया खोला, सिंघीया खोला, सुनसरी मोरङ सिंचाई आयोजनाको नहर तथा विभिन्न पोखरीहरुमा विगत वर्षमा जस्तो छठ मनाउने तयारी गरिएको छैन । नहर तथा खोला छेउका केही सर्वसाधरणले फाट्ट फुट्ट घाट निर्माण गरेर छठ मनाउने तयारीमा जुटेको देख्न सकिन्छ ।

आज छठ पर्वको महत्वपूर्ण दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएर आरधना गरिन्छ । आफ्नो मनकामना पुरा गर्न भक्तजनहरुले निष्ठापूर्वक छठी माताको अनुष्ठान गर्ने गर्दछन् । छठपर्व अन्तर्गत ब्रतालुहरुले बिहीबार खरना सम्पन्न गरेका छन् । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना गर्ने प्रचलन छ ।

खरनाको दिन बिहानैदेखि ब्रतालुहरुले निराहार व्रत बसेर साँझ सख्खर भएको खिर, केरा, लड्डु, मुलासहितको प्रसाद चढाएपछि ब्रतालुले प्रसाद ग्रहण गरेका छन् । यस पर्वमा खरनाको प्रसाद खाँदा ब्रतालुले बीचमा बोल्न नहुने परम्परा रहेको छ ।

छठ पर्वको तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्य र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गर्दै समापन गरिन्छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न तथा आरोग्यका लागि यो पर्व मनाउने विश्वास गरिन्छ ।

सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायूसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यता र वैज्ञानिक तथ्यसमेत रहेको दावी गरिन्छ । पूर्णरूपमा साकाहारी हुने यो पर्वमा चामल र गहुँको पीठोबाट बनाइने ठेकुवा, भुसुवा, फलफूल र कसार आदि बनाइने गरिन्छ ।

शुक्रबार, ०५ मंसिर, २०७७, बिहानको ११:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर