डा. राजेन्द्र उप्रेती
खुल्यो रातको कालो पर्दा छुइदिँदा प्रभातले
उडाइदियो कालो बादल प्यारो चिसो बतासले
उठ हौ …… सुतेका मान्छे उठ……..
पारीपाखा घामले च्यायो हो हो नयाँ दिन ल्यायो
उषाको यो लालीसँगै ए नि हौ धर्ति मुस्कुरायो ।।
उठ हौ…….सुतेका मान्छे उठ……….
यो उत्साहले भरिएको सुमधुर गीतले हामी सुतेको शुभद्रा मदन फाउन्डेसनको (HTTPS://WWW.YOUTUBE.COM/WATCH?V=MZ5EZVHJSRA) वातावरणमा एउटा अनौठो सनसनाहट फैलाईदियो । बिउँझेर मोबाइलमा समय हेरे बिहानको ५.१५ भएको रहेछ । पूर्वि आकासमा हल्का लालि फैलँदै थियो । गीत बजिरहेको थियो । शरीरमा एउटा नयाँ जोस जागेर आयो । लुगा लगाएर कोठा बाहिर निस्किएँ । फाउन्डेसनमा जीवन सिकिरहेका विभिन्न उमेरका बालबालिकाहरु बाटैभरी कल्याङल्याङ् गर्दै माथि उक्लिदै थिए । फाउन्डेसन भित्रको जीवन चलायमान भइसकेको थियो । आफ्नो मोबाईल टिपेर उनिहरुलाई पछ्याउँदै गएँ । सबै स्कुलको चौरमा भेलाहुँदै रहेछन् । देशका ४२ जिल्लाहरुबाट आएका साना आठ वर्षका बालकालिका देखि ७० वर्ष कटेका मदन दाई समेत त्यो ठाँउमा भेला भइसकेका थिए । विद्यार्थीहरू आ–आफ्ना लाइनमा लाम लागे अनि सुरुभयो सिठ्ठीको तालमा बिहानीको पिटी र ब्यायमसँगै दिनको सुरुवात ।
अघिल्लो दिन साँझ झमक्कै हुँदासम्म हामी त्यो स्कुलको फार्म र विभिन्न कृयाकलाप अवलोकन गर्दैथियौं । फाउन्डेसनमा भइरहेका गतिविधिहरु र त्यहाँको सक्नेसिकाउने तरिकाको बारेमा संस्थापक मदन राईले हामीलाई जानकारी गराउनु भएको थियो । त्यो जानकारी पछि हाम्रो टोलीमा रहनुभएका राज्यमन्त्री, प्रदेश सचिवलगाएत सबैले सामूहिक मेसमा विद्यार्थीहरुसँगै बेलुकाको खाना खायौं । खाना पछिको आफूले खाएका थालबटुका सबैले अरू सरह नै धोईपखाली गरी राखियो । यो कुराले हामी सबै समान हौं र सबैले आफनो काम आफैं गर्नुपर्छ भन्ने सन्देश व्यवहारिक रुपमै सबैलाई महसुस भयो र सबैले सहजताका साथ यो सिकाईमा सहभागिता जनाइयो । खानापछिको समय पाहुनाहरुका लागि फाउन्डेसनका विद्यार्थीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम थियो । पूर्वदेखि पश्चिम नेपालका विभिन्न नाचहरू र मिठा गीतहरूले माहौल जागृत बनाएको थियो । बालबालिकाहरुको छुवाछुत र भेदभावमुक्त मैत्रिभाव र आत्मविश्वास जुनसुकै क्रियाकलापमा झल्किरहेको थियो ।
बिहानीको पिटी व्यायम पछि दैनिक जीवन उपयोगी प्रवचन र राष्ट्रिय गानबाट त्यो सामेलीको अन्त्य हुनेरहेछ । मेरो उपस्थिति धेरैका लागि कौतुहल पनि बनेको थियो । त्यो मौकाको सदुपयोग गर्दै मदन दाईको आग्रहमा मैले मेरो बालापन र भोगाईहरू बालबालीकाहरु र फाउन्डेसनको अन्य सदस्यहरुसँग साट्न पाए । धेरैलाई मेरा कुराहरुले उत्साहित बनाएको पाउँदा मलाई त्यो क्षण रोमान्चक लाग्यो र शुभद्रा मदन फाउन्डेसनको त्यो बसाई र उनीहरूसँगको सामिप्य मेरा लागि अविष्मरणीय बन्यो । मलाई झन्डै १० वर्ष पहिला यो अभियानको सूरुवाती दिनहरुमा त्यो बेलाका बालबालिकाहरुसँग बिताएको एक रातको याद ताजा भयो । त्यो बेलाका कतिपय बालबालिकाहरु अहिले यही विद्यालयमा मेन्टर (गुरु) बनिसकेका रहेछन् । यो जानकारी र उनीहरुसँगको भेटले त्यो बेलाको कुराहरु ताजा बनायो ।
शुभद्रा मदन फाउन्डेसनका सबै जसो भवन तथा संरचनाहरु यहिका विद्यार्थी तथा सदस्यहरु मिलेर बनाएका छन् । सबै कुराहरू सफा, चिटिक्क छन अनि व्यवस्थित छन् र कम लगानीमा बनेका छन् । महँगो लगानीमा बनेका हाम्रा हजारौं विद्यालय भवनहरू त्यहाँ जीवन उपयोगी शिक्षा र सिप सिक्ने सिकाउने कुराको कमीले गर्दा अप्रासङ्गिक बनिरहेका बेला यो फाउन्डेसन निरन्तररुपमा एउटा उत्कृष्ट सिकाई केन्द्रको रुपमा विकास भैरहेको छ । यहाँ जीवनोपयोगी ज्ञान, सिप, भाषा, जीवन जीउने कला र आफ्नो सुरक्षा आफैं गर्ने क्षमताको व्यवहारिक रुपमा सिकाईने रहेछ (HTTPS://WWW.YOUTUBE.COM/WATCH?V=DRA67ULDMMI)। यो सँगसँगै राज्यले निर्धारण गरेका पाठ्यक्रममा दक्षता दिने काम पनि शुभद्रा मदन फाउन्डेसनले गर्नेरहेछ ।
शुभद्रा मदन फाउन्डेसनमा सिक्ने सिकाउने कुराहरु
यो फाउन्डेसनमा बालबालिकाहरुले ब्यक्तिगत जीवनमा चाहिने र समाजोपयोगी विभिन्न ज्ञान सिपहरु सिक्नेह रहेछन् । यसका तीनवटा तह रहेछन् । व्यक्तिका लागि योग्यता शिक्षा (ज्ञान¸ बुद्धि¸ बिवेक र सिप) । राष्ट्रका लागि अर्थतन्त्र शिक्षा (कृषि¸ उद्योग¸ व्यापार र सेवा) र संसारका लागि वातावरण शिक्षा (गुहु¸ मुत र पसिना) । यहाँ १२ विद्या र ४ प्रकारले सिकाई हुनेरहेछ । चार प्रकारको सिकाईमध्ये साथीहरूबाट सिक्ने कुरा सबैभन्दा प्रभावकारी रहेको जानकारी हामीले पायौ ।

यहाँ कृषि उत्पादनका कुराहरु¸ पशुपन्छिपालनका कुराहरु¸ कृषि तथा अन्य यन्त्रउपकरणको परिचालन र मर्मतसंभार¸ कृषि र अन्य उद्योगको परिचालन¸ कुकिङ्ग र बेकिङ्ग¸ सिलाई कटाइ आदि विभिन्न सिपहरु सरल तथा ब्यवहारिक तरिकाले सिकाइने रहेछ । आफैं गरेर सिकेका त्यस्ता सिपहरुले बालबालिकामा दक्षता र आत्मविश्वास भर्नेरहेछ । कक्षा कोठामा सिमित हाम्रो परम्परागत शिक्षा पद्धति (जसले हाम्रा बालबालिकाहरुलाई घोक्ने घोकाउने कुरामा सिमित पारेर प्रमाणपत्रको ब्यापारमात्र गरिरहेका छन्) भन्दा विल्कुलै भिन्न तरिकाले चलिरहेको शुभद्रा मदन फाउन्डेसनको सिकाउने तरिका र प्रशिक्षण हाम्रो जस्तो देशहरुको लागि बरदान हुनसक्छ । अहिले हाम्रा अधिकांश विद्यार्थीहरु सिप र आत्मविश्वास बिहीन प्रमाणपत्र बोकेर शिक्षण संस्थाहरुबाट बाहिरि रहेका छन् । अझ प्राविधिक शिक्षण संस्थाहरु त जसोतसो निर्धारित समय कटाएर प्रमाणपत्रको ब्यापार गरिरहेका छन् । अनि हाम्रा विद्यार्थीहरु उच्चशिक्षा हासिल गरेर पनि के गर्ने कसरी गर्ने भन्ने कुरामा कुहिराको काग बनिरहेका छन् ।
अगाडीको बाटो
एक समय पूर्वान्चलको कर्णाली भनेर चिनिने खोटाङ जिल्लालाई आफ्नो कर्मथलो बनाएर बिगत एक दशक भन्दा धेरै समयदेखि निरन्तर शिक्षा पद्धतिको रुपान्तरणमा समर्पित मदन राई अनि उहाँको पदचिन्ह पछ्याउँदै त्यहि अभियानमा अबिचलित लागिरहने सुर्य राई र उहाँहरुको टिमले शुभद्रा मदन फाउन्डेसनलाई एउटा उत्कृष्ट सिकाइ केन्द्रको रुपमा विकसित गरेको छ र त्यहाँको विकासक्रम निरन्तर अगाडि बढीरहेको छ । यो केन्द्रबाट देशको कृषि प्रविधि विकास र विस्तारमा क्रियाशिल धेरै शिक्षण संस्थाहरुले सिक्न सक्छन र यँहाको सिकाई पद्धतिको अनुसरण गर्नसक्छन । शिक्षा र प्रविधिको विकास र विस्तारमा नेतृत्व गरिरहेका शिक्षासँग सम्बन्धित मन्त्रालयहरु र कृषि प्रविधि प्रसारमा संलग्न कृषिसँग सम्बन्धित मन्त्रालयहरुले आफना शिक्षकहरु नितिनिर्माताहरु र प्राविधिकहरुलाई यो केन्द्रको सामिप्यमा लगेर धेरै कुरामा दक्ष बनाउन सक्छन् । हामी रुपान्तरणका कुराहरु गर्छौ तर काम गर्दैनौ । हामी केहि जान्दैनौ तर सिमित ज्ञानको आधारमा आफै मपाइँ बनि टोपल्छौ र सिक्ने चाहनालाई बलजफ्ति आफूभित्रै कोमामा पुर्याउँछौं ।
शुभद्रा मदन फाउन्डेसन आफनो सिकाइलाई देशव्यापी बनाउन लालायित छ । मदन दाई उहाँले दशकौंमा आर्जन गरेको ज्ञान सिप र अनुभवबाट सिर्जित यो केन्द्रको सिकाई हस्तान्तरण गर्दै यो सिकाइलाई पुस्तान्तरण गर्न चाहनुहुन्छ । उहाँको सम्पूर्ण टिम त्यसको लागि लालायित छ । यो चाहनामा हामीले हाम्रो चाहना किन नमिसाउने ? हामीले सहकार्य किन नथाल्ने ? वा हाम्रो आआफनो ठाँउमा यो सिकाईको सिको किन नगर्ने ? मलाइ त लाग्छ यो अवसर हो । त्यसैले अगाडि बढौं र सिक्ने सिकाउने पद्धतिको रुपान्तरण गर्दै हाम्रा बालबालिकाहरुलाई ज्ञान सिप र आत्मविश्वासयुक्त योग्य नागरिक बनाउ । शुभद्रा मदन फाउन्डेसनमा त्यहाँको परिवारसँग बिताएको एक रात र बिहान मेरोलागि सधै यादगार रहनेछ ।