अनन्तराज न्यौपाने
सामाजिक सञ्जाल भनिएको फेसबुक खोलिसक्नु छैन । हरेक दिन चिनेजानेका र सुनेका बुझेका २÷४ जनाको मृत्युको खबर आउन थालेको छ । श्रद्धाञ्जली र समवेदनाका सन्देशले फेसबुकका भित्ता रङ्गिन थालेका छन् । विजयादशमीपछि कोरोना सङ्क्रमणले नेपालमा भयावह स्वरूप धारण गरेको छ । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्कीले दशैँपूर्व पटक–पटक भनेका थिए, ‘दशैँपछाडि कोरोना सङ्क्रमण पाँच गुणाले वृद्धि हुनेछ, सरकारले उपचारको क्षमता ६ गुणाले बढाउनु पर्छ ।’
डाक्टर कार्कीकै भविष्यवाणीअनुरूप कोरोना सङ्क्रमणले विकराल स्वरूप धारण गरिसकेको छ । तर, दशैँको उपहारस्वरूप ओली सरकारले उपचारबाट हात झिक्यो । उपचार अब सःशुल्क मात्रै हुने भयो । मुलुकका निर्वाहमुखी जनता कोरोनाको सङ्क्रमणको उपचार गराउनै नसक्ने अवस्थामा पुगे । बिरामीहरू घरघरै छट्पटाउने र छट्पटाएर मर्ने अवस्था आइलाग्यो ।
यसैबीच सरकारी अस्पतालमा कोभिडको उपचार निःशुल्क गर्नु भन्ने आदेश सर्वोच्च अदालतले दिएको छ । यसपछि बाध्य भएर सरकारले फेरि निःशुल्क उपचारको निर्णय गरेर वाहवाही लिन खोजेको छ । सरकारको काम हेर्दा उसले आफ्ना जनतालाई आँखा पनि नदेख्ने, कान पनि नसुन्ने, बोल्न पनि नजान्ने र केही सोच्न पनि नसक्ने सोचिरहेको देखिन्छ । तर, वास्तविकता अर्कै छ । अहिलेको जनता सबै बुझिरहेको छ र जनता आन्दोलित मनस्थितिमा पनि छ । फगत एउटा नैतिकवान्, चरित्रवान् र दृढ इच्छाशक्ति भएको नेताको खाँचो छ । यस्तो कुनै नेताले आन्दोलन आह्वान गर्ने हो भने देशका अधिकांश युवा आफ्नो जीवन उत्सर्ग गर्न अग्रिम मोर्चामा आउने छन् । आजको जनताले कसको अपिल, आह्वान र दृष्टिकोण पत्याउने ? सबै कान चिरेका जोगीजस्ता छन् ।
मूलतः सरकारलाई जनता मरून् कि बाँचून्, यसको मतलब छैन । मुलुकको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै अहङ्कारको रथमा सवार छन् । लुई चौधौँले ‘म नै राज्य हुँ’ भनेजस्तो ओलीले आफूलाई नै सिङ्गो नेकपा र नेपाल राष्ट्र सोचेका छन् । यो उनको अहङ्कारको झुत्रो पर्दा मात्र हो । तर, यही पर्दालाई उनले बहुमूल्य पोशाक ठानेका छन् । त्यसैले उनी पार्टीको र पार्टीको बहुमतको निर्णयलाई स्वीकार र कार्यान्वयन गर्न तयार छैनन् । बरु पार्टी फोड्ने धम्की दिएर हिँडिँरहेका छन् ।
एउटा मन्दिरमा भक्तजनहरू धेरै सङ्ख्यामा आउन थालेछन् । मन्दिरमा जे भाकल गरे पनि पूरा हुन थालेपछि त्यहाँ भक्तहरूको घुइँचो लाग्न थालेको थियो रे । तर, मन्दिरको पुजारीले के सोचेछन् भने म पुजारी छु र पो यतिका भक्तजनको भिडभाड छ । यो अरूको मन्दिरमा कति पुजारी भइराख्ने ? त्यसैले आफैँ एउटा मन्दिर खोल्छु र त्यसको सर्बेसर्बा बन्छु । त्यसपछि त जति दक्षिणा पनि मेरै । चढाइएका फलफूलादी सामग्री पनि मेरै । अन्ततः पुजारीले दशतिर हात जोरेर, चन्दा उठाएर नयाँ मन्दिर बनाएरै छाडे । तर, दुर्भाग्य, भक्तजन पुरानै मन्दिरमा ओइरिरहे । साबिककै मन्दिरमा दर्शनार्थीको भीड लागिरह्यो ।
नेपालमा यसरी कुनैबेला वामदेव गौतम र शेरबहादुर देउवाले पनि नयाँ मन्दिर खोलेका थिए । वामदेवले माले नाममा र देउवाले प्रजातान्त्रिक नाममा मन्दिर खोले । तर, दुबै मन्दिर अन्ततः उजाड भए । ओली अहिले यही मार्गमा छन् । उनले नयाँ मन्दिर खोल्ने कुरा फगत घुर्की हो कि साँच्चै त्यो निकट भविष्यले नै बताउनेछ ।
यहीबेला राष्ट्रपति विद्या भण्डारीले नेकपाका नेता वामदेव गौतमलाई बोलाएर पार्टीभित्रको विवाद सुल्झाइदिन आग्रह गरेकी छन् । यसो गरेर राष्ट्रपतिले आफ्नो कद, गरिमा र प्रतिष्ठामाथि आँच पु¥याएकी छन् । विवाद आखिर कुन पार्टीमा छैन ? अर्को समानान्तर पार्टी नेपाली काङ्ग्रेस पनि विवादको भुमरीमा जाकिएको छ । तर, राष्ट्रपति भण्डारी कुनै काङ्ग्रेसी नेतालाई बोलाएर पार्टीको विवाद साम्य पार्न अनुरोध गर्न पक्कै पनि सक्तिनन् होली । यसरी राष्ट्रपतिले आफूलाई राष्ट्रप्रमुख भन्दा पनि नेकपाको चौवन्नी सदस्यको हैसियतमा प्रस्तुत गरेकी छन् ।
राष्ट्रपतिलाई लाग्दो हो, कथंकदाचित् पार्टी फुटिहाल्यो भने फुटेको कम्युनिस्ट पार्टी र काङ्ग्रेसको मिलिजुली सरकार बन्छ । त्यस अवस्थामा राष्ट्रपतिको पद धरापमा पर्नसक्छ । किनकि दुबै पार्टीको बार्गेनिङ चल्दा राष्ट्रपतिको पदको पनि मोलमोलाइ हुनसक्छ । त्यसैले उनी आफ्नो स्वार्थका लागि सिङ्गो नेकपा चाहन्छिन् । अर्कातिर ओली नयाँ मन्दिर बनाएरै भए पनि पुजारी नै भइरहने दाउमा छन् । हेरौँ कहिले खुल्ने हो, उनको मन्दिर ?