पुण्य पि अधिकारी
०७७ असोज १९ गते गरिएको निर्णय नेपाल सरकारले कात्तिक २ गते सार्वजनिक ग¥यो । निर्णयको सार थियो, कोरोना भाइरस सङ्क्रमित आम सर्वसाधारणको उपचार सरकारले नगर्ने । त्यो निर्णयको सर्वत्र विरोध भयो, विरोध सर्वोच्च अदालतसहित राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकारको क्षेत्रमा क्रियाशील इन्सेकजस्ता संस्था विज्ञप्तिमार्फत् संविधानप्रदत्त अधिकार रक्षा गर्न सरकारसमक्ष माग गरे । त्यो माग कोही व्यक्ति विशेष र समुदायका लागि नभई आम सर्वसाधारणको हितका लागि थियो ।
कोरोना भाइरस संक्रमण पछिल्लो समय विराटनगर, दमक, धरान, विर्तामोडजस्ता शहरहरूमा बढेर गएको छ । कोरोना भाइरसको उपचार पाउनु एकदमै कठिन भएको छ । जो कोही नागरिकले कोरोना भाइरस संक्रमणका कारण अस्पताल जानुपर्ने अवस्था आएमा उपचार पाउन सम्भव छैन । अझ भनौं सामान्य आार्थिक हैसियत भएका नागरिकहरूका लागि प्रदेशमा भएका स्वास्थ्य संस्थाहरूको ढोका करिब–करिब बन्द जस्तै छ । आर्थिक हैसियत मजबुत भएकाहरूले समेत उपचारका लागि स्वास्थ्य संस्थामा विन्तीभाउ र खुसामद गर्नुपर्छ, जो कोहीलाई त्यो अधिकारसमेत छैन ।
दशैँपछि कोरोना भाइरस संक्रमणको दर बढेर जाने विज्ञहरूको भनाई सत्य सावित हुँदै गएको छ । यसको खास कारण भनेको लापरवाही नै हो । हामी राज्यले यो गरेन, त्यो गरेन भनेर भन्न सक्छौं । तर, आफूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि आफूसँग भएको मास्कसमेत लगाउँदैनौं । यसको कारण व्यक्तिपिच्छे फरक होला, यो व्याख्या र चर्चा गर्ने विषय नै भएन ।
राज्यले नागरिकलाई राज्य हुनुको प्रत्याभूति दिलाउन सकेन, त्यो हामी सबैले मानेकै हो । अब राज्यले केही गरेन भन्दैमा हामी आफू सचेत र सर्तक हुने कुरामा मनलाग्दी निर्णय लिने त ? पक्कै पनि लिदैनौँ र लिनु पनि हुन्न । अबको साता दीपावली र छठजस्तो आस्थाको पर्व निजिकिँदै छ । वर्ष दिनमा आउने पर्व मनाउँनु हिन्दुजनको जन्मजात विशेषता नै हो । तर, अब हामीसँग पहिलेको जस्तो सुरक्षित समय भने छैन । महामारीले छोपेको आधा वर्ष बढी भएको छ । यहीबीचमा आस्थामा निर्भर रहने पर्व हामी मनाउनपूर्व तयारी गरिरहेका छौँ । जुन ढङ्गले हामी पर्वको तयारी गर्दैछौं, त्यही ढङ्गमा हामी कोरोना संक्रमणबाट सुरक्षित हुने र अरूलाई पनि सुरक्षित राख्ने तयारी गर्दछौँ त ? अहँ छैन ।
हामीले केवल बर्बादीको तयारी मात्र गर्दैछौँ । हामी सबैलाई थाहा छ, महामारीका समयमा पर्वलाई सोहीअनुसार मनाउनुपर्छ । तर, हामी जानाजान त्यो ज्ञानलाई छुपाएर धुमधामका साथ पर्व मनाउन पाउनुपर्छ भनेर विरोध गर्दछौं । प्रदेश राजधानी विराटनगरमा आस्थाको पर्व छठको विशेष महत्व छ । यो पर्वलाई विराटनगरमा सोहीअनुसार नै धुमधामसँग मनाउने पम्परा छ । पर्व मान्न पाउनु, आफ्नो रीतिरिवाज अनुसार पर्वलाई स्वागत गर्न पाउनु मानवअधिकारभित्र पर्ने विषय पनि हो । तर, अधिकारको उपयोग कति गर्ने र कुन बेला गर्ने भन्नेमा चाँहि हामी सबै सचेत हुनैपर्छ । विराटनगरमा छठ पर्व विशेष रूपमा नमाउन यसपटक प्रशासनले अनुरोध गरेपछि आस्थामाथि प्रहार भन्दै केही अभिव्यक्तिहरू सार्वजनिक भएका छन् । हो, यदि महामारीको समय नभएको भए र त्यसरी प्रशासनले पर्वलाई विशेष रूपमा मनाउन वर्जित गरेको भए आस्थामाथिको प्रहार भन्न मिल्थ्यो । तर, यो समय हाम्रो समय होइन, महामारीको समय हो । यसर्थ हामी सबैले सचेत भएर आस्थाको पर्व सामाजिक दूरी, स्वास्थ्य सर्तकताका साथ मनाउन आवश्यक छ । डिजे, पडाण्ल, ठूलो भीडभाडमा मात्र छठी मैयाँको आरधाना पूर्ण हुने होइन । आस्थाको पर्व निष्ठाका साथ घरभित्रै मनाउदा छठीमैयाँको आशीर्वाद हामीलाई प्राप्त हुनेछ । हामी स्वस्थ र सुरक्षित रहनेछौं ।