बा, यस पटकको दसैंमा हामी आउँदैनौं है !

 लिलाबल्लभ घिमिरे

पुज्य पिताश्री, साष्टाङ्ग दण्डवत,

यहाँ हामी आराम छौं । त्यहाँ आमासहित सबै जना आराम हुनुुहुन्छ भन्ने आशा गरेका छौं । आज फुलपातिको दिन घर आउन नपाउँदाको पीडा यो पत्र मार्फत पोख्दैछु । धेरै वर्षदेखि आजकै दिन दसैंका लागि भन्दै तपाईको छोरा बुहारी र नातिनी रमाइलो दसैं लिएर आउने गर्थ्यौं ।

तर, आज तपाईको छोरा हैन कागजको टुक्रा मात्र आइरहेको छ । यो समयपनि बडा अनौंठो हुँदो रहेछ । बा, के गर्नु घर जन्म घर आउने इच्छा कसलाई हुदैन र तर कोरोनाका कारण इच्छा हुदाहुँदै आउन सकिएन । यहाँ तपाईकी नातिनीले कहिले हाम्रो घर जाने भनेर मार्न लागेकी छन् । मेरो बुबा आमालाई भेट गराइदेउ भन्दै रुन्छे । त्यती मात्र हैन दसैं आइसक्यो राम्रो नाना किनिदेउ भन्छे । अनि पोहोरकै जस्तो खसी काट्नु पर्यो अरे । यो किन्दिन्छु त्यो किन्दीन्छु भन्दै फकाइरहेको छु ।

बा, हामी घर नआएको पनि ७ महिना बितेछ । आउने धेरै मन छ । तर कसरी आउनु । त्यो तपाईहरुको ढल्कँदो उमेर, यहाँबाट आउँदा कोरोनासहित आयौं भने ? धेरै डर लाग्छ । यहाँ हामी अहिलेसम्म सुरक्षीत छौं । छोरीले खक्क खोकि भने कोरोना घर भित्र छिरेजस्तो लाग्छ । ऋणका बोझले टाउको चरक्क दुख्यो भने कोरोना नै हो कि जस्तै लाग्छ । सायद राम्रोसँग खान नपाएर होला तपाईंकी बुहारीले लखतरान भएर गले भन्दापनि कोरोना नै हो कि जस्तो लाग्छ ।

यहाँ हामी पलपल मरेर बाँचेका छौं, बा । कोठाभित्र ढोका थुनेर बसौं भने पेट खाली हुन्छ । पेटका लागि केही गर्न बाहिर निस्कदा कोरोना आँ.. गरेर बसिरहेको छ । कस्ता दिन आए । यस्तै हो भने बा कि त मरिने रहेछ कि बहुलाइने रहेछ । छिमेकीलाई कोरोनाले ढपक्कै ढाकेको छ । अस्पताल वेड छैन । आइसीयू र भेन्टीलेटर यति बेला अमेरीकाको भिसा भन्दा चर्को परेको छ । घर छिमेकमा एक जना आन्टी आइसीयू नपाएर बित्नु भयो । छरछिमेकीहरु रमीते समेत बनेनन् । मृत्यूको खबर आएपछि सबैका ढोका बन्द भए । टोलमा मुर्दा शान्ती छायो । न त कोही मलामी नै भए न त १३ दिने काममा कोही गए ।

तपाईले म सानो छँदा भनेको सम्झें छोरा ठूलो मान्छे हैन असल मान्छे बन्नुपर्छ । अनि जिउँदोमा जन्ती र मर्दा मलामी धेरै पाइन्छ । तर त्यो तपाईको भनाई पनि तपाईको उमेरसँगै बुढो भएजस्तो लाग्यो । अब यो हाम्रो सहरमा मर्दाका मलामी र जिउँदा जन्ती समेत कोही बन्न तयार छैनन् । यता हामी मानवता हराएको बस्तीमा बसिरहेका छौं । कसैका घरमा दसैं आएको छैन । धेरैको घरमा जमराका ठाउँमा कोरोना छ । नभएका घरको मुल ढोकासम्म कोरोना नै आइसकेको छ । तपाईंको नातिनीलाई कसरी बचाउने भन्ने चिन्ताले सताइरहन्छ । त्यहाँपनि कोरोनाको कहर सुरु भएका समाचार सुन्दा आङनै सिरिङ्ग हुन्छ ।

बा, तपाईको चोकमा निस्कने र गफ गर्ने पुरानो बानी छ । त्यसलाई छोड्नु होला । यो साल कोरोना बाट बाँचियो भने बरु चैते दसैं नै भएपनि मज्जाले मनाउँला । आमालाई सम्झाउनु होला । कान्छो, बुहारी र नातिनी आएनन् भनेर धेरै चित्त दुखाउनु हुन्छ होला । के गर्नु, कस्ता दिनपनि आउँदा रहेछन् । आमा बाले छोराछोरी सँग डराउनु पर्ने । मान्छे मान्छेसँग भाग्नु पर्ने ।
यता अरु खबर बताइसक्नु छैन । बा, अस्ती अफिसमा काम गर्दागर्दै २ पटक हाछ्यूँ आएको थियो । साहुले भोलिदेखि १५ दिन नआउनु भनेर त्यसै बेला विदा दिए । दसैं खर्चपनि छैन । नातिनीको खुत्रुके फुटाएर दसैं मान्ने योजनामा छौं । घर आउने धेरै इच्छा थियो । पिसिआर परीक्षण गर्न दिएको त्यसको रिर्पोट तिहारतिर मात्र आउँछ होला जस्तो छ ।

यहाँ कोरोनाले महामारीको रुप लिएर पिसिआर परीक्षणको रिपोर्टका लागि हप्ता दिनसम्म कुर्नुपर्छ । आउने सवारी साधनपनि छैन । सार्वजनिक बसको भाडा मात्र बढेको छैन । जोखीम पनि उतिकै छ । ट्राफिकले देख्दामात्र एक सिट एक जना हो । त्यसपछि गाडी फेरी भरिन्छ । हुन् त बा मेरो मात्र दोष हैन । तपाईंको पनि दोष छ । यदि तपार्इं मन्त्री वा ठूलो नेता भएको भए आज हाम्रो यो हालत हुने थिएन होला ।

मेरा बा मन्त्री भएका भए आज म अरुलाई जागिर खुवाउने हैसियतको हुने थिएँ । पीसीआरको रिर्पोट बिहान दिएर बेलुका पाउने थिएँ । सरकारी गाडीमा सररर नातिनातीना सहित दसैंमा आउने थिएँ । अनि खसीकै हैन मृगको मासु खाएर दसैं मनाइन्थ्यो होला । बा, एकपकट सम्झनुहोस् त ? तर, के गर्नु आफ्ना बा मन्त्री भएनन् । छोरीको खत्रुके फुटाएको पैसाले ब्रोइलर कुखरा र चिउराले दसैं टार्दैछु । के गर्नु बाको मात्र हैन मेरो भाग्यपनि उस्तै रहेछ । कहिलेकाँही त लाग्छ, यो देशमा जन्मनु प¥यो भने मन्त्री वा नेताकै छोराछोरी भएर जन्म होस् नत्र…. ।

बा, सरकारले अब कोरोनाको उपचारमा पनि पैसा लिने अरे । अव पीसीआर जाँच गर्दापनि पैसा लाग्ने अरे । हामीले तिरेको करले मन्त्रीहरु पाल्ने अरे । बा, सबै कुरा नराम्रा मात्र कति गर्नु अन्त्यमा खुसीको खबरपनि सुनाउँछु । यहाँ हाम्रा मन्त्री ज्यूको दसैंमा डेढ करोडजतिको नयाँ गाडी आयो । मैलेपनि नातिनीलाई त्यही गाडी देखाउँदै तेरो हजुर बा मन्त्री भएका भए तँ पनि त्यस्तै गाडीमा चड्न पाउँथीस् भने । उ मख्ख परी । अनी डेराको छेउमा वडाअध्यक्ष ज्यूको घर छ । दसैं पेस्की मनग्गे आयो रे । पल्लो घरमा घोर्ले खसी कराइरहेको छ । वडा अध्यक्ष ज्यूको घरमा कसैलाई कोरोना छैन अरे । हिजो पीसीआर दिएको आज बिहान रिर्पोट आएछ । सबै खुसी छन् ।

बा, गन्थन धेरै भयो । हामी नआएपनि दसैं राम्रोसँग मनाउनु होला । हामीलाई पनि सम्झेर अलिकती रातो टीका र जमरा देउताको थानमा राखिदिनु होला । बाचिएछ भने अर्को साल निधारमा लगाउँला ।

शुक्रबार, ०७ कार्तिक, २०७७

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर