अनन्तराज न्यौपाने
संसारका घोर अलोकतान्त्रिक, जनविरोधी र तानाशाही सरकारले पनि ओली सरकारले अस्ति गरेजस्तो निर्णय गर्न सक्तैनन् । ओली सरकारको कोभिडसम्बन्धी निर्णय संसारकै सबैभन्दा क्रूर र नरभक्षी तानाशाह राजाको जस्तो लाग्छ । मान्छेको मासु खानेलाई नरभक्षी भनिन्छ । नरभक्षी हुन प्रत्यक्ष मासु नै खानुपर्छ भन्ने छैन । जनताका रगत–पसिना खानु र बदलामा फगत भ्रष्टाचारबाहेक केही नदिनु पनि जनताको मासु खानु बराबर हो । यस्तो लाग्छ, नेपालमा ठूलो नरमेध यज्ञ भइरहेछ । कोभिडको उपचारको नपाएको, अस्पतालको शय्या र अक्सिजन नभेट्टाएको प्रत्येक निरीह र ख्याउटे जनता यज्ञशालाका अगाडि आएर आफ्नो मासु काटेर यज्ञशालामा होम गरिरहेछ । अनि ओली र उनका मन्त्रिपरिषद्का सदस्यहरू यज्ञशालाका कर्ता र उपकर्ताहरू हुन् । उनीहरू सिंहदरबाररूपी यज्ञशालामा झिल्सिएको नरमांस स्वाद मानिमानी चपाइरहेका छन् । मानौँ, उनीहरू जनताको रक्ती थापिरहेका छन् । जनताका आन्द्रा, भुँडी, फिला र ह्याकुला छुट्याइरहेका छन् । हरेक अङ्गको छुट्टाछुट्टै परिकार बनाएर भक्षण गरिरहेका छन् ।
पूर्वमालेमा ३० को दशकको अन्त्यतिर सक्रियतापूर्वका लागेका कमरेडहरूलाई त्यस बेलाका राल्फालीहरूले गाएको एउटा क्रान्तिकारी गीत अझै याद हुनुपर्छ । ‘पहाडमा छँदा हाम्रो सानो घर थियो, एउटा सानो कोठेबारी हाम्रो ज्यान थियो । गाउँको एउटा साहुले घरबार खोसिलियो ।…..’
किशोर वयको एउटा क्रान्तिकारीले गाएकोजस्तो लाग्ने कुनै बेला चर्चित यस गीतको अन्तमा भनिएको छ, ‘मैले पनि चिनेको छु हाम्रा बाबा मार्नेलाई, हाम्रो घर भत्काएर हाम्लाई धपाउनेलाई, मान्छेको मासु खानेलाई ।’ यो गीत सम्झँदा आज लाग्छ, गीतले इङ्गित गरेका साहु, महाजन र शोषकसामन्तीहरू स्वयं आजका प्रधानमन्त्री ओली हुन् अनि उनका मतियारहरू हुन् । गीतमा कहिएका मान्छेका मासु खाने पात्र पनि ओली र उनका मन्त्रिपरिषदका सदस्य हुन् ।
नेपालको संविधानको धारा १६ मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरिएको छ । त्यस्तै अर्को धारा ३५ मा भनिएको छ, ‘१. प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन । २. प्रत्येक नागरिकलाई आफ्नो स्वास्थ्य उपचारका सम्बन्धमा जानकारी पाउने हक हुनेछ । ३. प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।’
यो संविधान निर्माण गर्न अहिले नेकपामा मिसिएको पूर्व माओवादीको भूमिका अहम् छ । पूर्वएमालेका नेता र अहिलेका प्रधानमन्त्री केपी ओलीले त यस्तो संविधान आउने कल्पना पनि गरेका थिएनन् । उनी प्रकारान्तरले तत्कालीन राजा ज्ञानेन्द्रको शरणमा परिसकेका थिए र उनको आन्दोलनविरोधी अँध्यारो छवि त्यतिबेलै स्पष्ट भइसकेको थियो । उनले त्यसैबखत भनेका थिए, ‘नेपालमा गणतन्त्र आउँदैन । नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडामा चढेर अमेरिकामा पुग्नुजस्तै हो ।’
तर, जनताको शक्तिका अगाडि के सम्भव छैन र ? ओलीले नचाहेको गणतन्त्र आएरै छाड्यो र त्यही गणतान्त्रिक मुलुकमा आज उनी शक्तिशाली प्रधानमन्त्री छन् । अर्कातिर, गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लड्नेहरू पनि उनीसित एकै ठाउँ छन् । तर, ओलीको दानवीय शैलीका अगाडि लाचार छाँयाजस्ता भएर बसेका छन् । प्रचण्ड, वर्षमान र जनार्दनहरूको त्यसबेलाको उर्वर क्रान्तिकारिता आज कहाँ बेपत्ता छ ?
नेपालको संविधानका विपरित अब पीसीआर टेस्ट, अस्पतालको बन्दोबस्त, अस्पतालको खर्चदेखि लाशको व्यवस्थापनसमेत बिरामी स्वयंले गर्नुपर्ने भएको छ । निर्लज्ज सरकारका तर्फबाट यस्तो उर्दी आइसकेको छ । सरकार जनताले तिरेको करबाट ओम्नीलाई पोस्छ, यति समूहलाई उकास्छ । सरकार र संसदमा बसेका सुरसाहरू दशैँखर्च हसुर्छन् । उनीहरूलाई यतिले पनि पुगेको छैन यही बेला स्वास्थ्योपचार खर्च पनि बुझिरहेका छन् । जनविरोधी शासनको योभन्दा फोहरी र घृणित उदाहरण अर्को हुन सक्तैन ।
संयोगले यतिबेलै प्रधानमन्त्री ओलीसित यस लेखकको भेट भयो भने लेखकले नम्र शैलीमा सोध्नेछ, ‘आदरणीय प्रधानमन्त्रीज्यू, मान्छेको मासुको स्वाद कस्तो हुँदो रहेछ ? त्यसमा पनि आफैँले शासन गरेका जनताको मासुको स्वाद ? अनि जनताको कर्जीमर्जी, भुँडी, रक्ती, गिदी, ह्याकुला, पिँडौला र तिघ्राको स्वाद कस्तो लाग्यो ?’
यस नरभक्षी सरकारका विरूद्ध सडक सङ्घर्ष सुरु हुनुपर्ने हो । यसको नेतृत्व नेपाली काङ्ग्रेसले लिनुपर्ने हो । तर, काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आफैँ ओलीका एक मतियारमध्येका हुन् । ओम्नी र यतीमा देउवाको पनि हिस्सा रहेको बुझिन्छ । कुनैबेला सशस्त्र विद्रोह गर्ने तत्कालीन माओवादी ओलीको शरणागत भइसकेको छ । अरू कुनै पार्टीमा आन्दोलनका लागि पर्याप्त जनता र कार्यकर्ता छैनन् । यो भयावह रिक्ततामा नरभक्षी ओली सरकार मुर्दावाद ! भन्दै सडकमा कुनै इज्जतदार, इमानी, नैतिकवान् र प्रतिष्ठित व्यक्ति निस्कियो भने उसका पछाडि लाखौँ जनताको लर्को लाग्ने कुरामा शङ्का छैन ।
यस्तो लाग्छ, देशको अर्को विद्रोह पर्खिरहेको छ ।
‘आमा, त्यो आउँछ र ?
हो बा, त्यो आउँछ ।’
–गोपालप्रसाद रिमाल
यस्तो लाग्छ, देशको अर्को विद्रोह पर्खिरहेको छ ।
‘आमा, त्यो आउँछ र ?
हो बा, त्यो आउँछ ।’
घत लाग्दाे