शहरले खोसेको लक्ष्मीका खुसीहरू

 सुनिता कटुवाल

मेरो नाम लक्ष्मी हो । जब चार्डपर्वहरु नजकिदै गर्छन्, मेरा ती बालापनका खुसीहरु एकपछि अर्काे गर्दै मानसपटमा ताजा बन्दै जान्छन् । प्रत्येक दसैंमा म आफ्नो बालपन सम्झने गर्दछु । विगतका वर्ष झै २०७७ सालको दसैमा पनि बालापनको खुसीहरु सम्झिरहेको छु ।

२०५४ सालमा म एउटा घुम्ती भन्ने गाउँमा जन्मिए । गाँउ भएपनि असाध्यै रमाइलो वातावरण थियो । वातावरण मात्र रमाइलो होइन, त्यहाँका हरेक मानिसहरु पनि उत्तिकै रमाइला थिए । दसैंको बेला त झन् संसारका सारा रमाइलोहरु मेरो यहिँ गाउँमा आएर बस्छन् जस्तो लाग्थ्यो । पारी घुमेको बाटोबाट शहरतिर गएका मानिसहरु बिस्तारै गाउँ फर्किन्थे । गाउँमा भएका मानिसहरु भ्याईनभ्याई गर्दै घरलाई रंगिन बनाउन सेतो माटो (कमेरो) र रातो माटो लिन टाढा जान्थे । दशैमा काट्ने खसिलाई बलियो बनाउन मकै, भटमास र घाँसहरु धेरै खुवाउथे । दसैंको लागि गाईवस्तुलाई घाँस भनेर पारिपट्टीको खेत र गैरिखेतको घाँस साँचेर राख्ने गरिन्थ्यो । दशै आयो भन्दै घरको पर–परसम्मका बाटोका घाँसहरु उखालेर बाटो सफा बनाउने गरिन्थ्यो । त्यहि गाउँको भिडमा म पनि थिए ।

दसैंको खुशी मेरो लागि भिन्न थियो । मेरो बुवा, दिदी, दादाहरु मेरो लागि नयाँ– नयाँ कपडा र मिठा–मिठा खानेकुरा लिएर टाढाको शहरबाट धेरै दिन लगाएर आउनुहुन्थ्यो । ६÷७ जना लाइन लागेर लहरै घरभित्र पस्दा सेतो र रातो माटो लगाएर सिँगारिएको मेरो घरले मुसुक्क हाँस्दै स्वागत गर्दथ्यो । घरमा पालेको भोटे कुकुर पनि खुसी हुँदै भुकेर स्वागत गर्दथ्यो । सबैको खुसीमा सामेल हुँदै म पनि दादादिदीहरुको काखमा लुटुपुटु गर्दै खुसी साट्ने काम गर्दथे । सबैलाई खुसी देखेर मेरी आमाको पनि खुसीले सीमा नाग्थ्यो र छोराछोरी र श्रीमानलाई भनेर साँचेर राखेको खाने कुरा हतारहतार गरेर निस्वार्थ मायाले सबैलाई खान दिनुहुन्थ्यो ।

दसैंको अष्टमीको दिन गाउँमा धेरै चहलपहल हुन्थ्यो । छोरा मान्छेहरु जम्मा भएर गाउँमा पिंग हालेर एकअर्काको घरमा खसी काट्ने गर्दथे । गाउँभरिको घरहरुमध्ये सबैभन्दा ठूलो खसी मेरो घरमा काटिन्थ्यो । शहरबाट ल्याएको नयाँ–नयाँ पैसा मेरो घरमा साट्न आउनुहुन्थ्यो । म पनि नयाँ कपडा र नयाँ पैसा लिएर गाउँमा मेरो साथीहरुलाई देखाउन जान्थे । सम्झिन्छु ती मेरा बालापनको दशै, नयाँ कपडा, नयाँ पैसा, सबैको माया, खुसीका लहर । तर, आज म विरानो सहरमा हराईरहेकी छु ।

त्यो मेरो गाउँ ती मेरा खुशीहरु, यहि विरानो सहरले लुटिरहेको छ । यो सहरमा ठुला–ठुला भवनहरु त छन् । अनि मान्छेको भिड पनि छ । तर, ती मेरा बालापनका सम्पूर्ण खुशीहरु यहि विरानो सहरमा समर्पण गरेर देखावटी खुसी लिएर बाँचिरहेकी छु । लस्करै लागेर सहरबाट गाउँको घर आउने मेरा दादादिदीको खुसी विदेशको सहरले लुटिरहेको छ । अनि मेरा बुवा र आमाको आँसु मोबाईलमा सीमित छ । दसैं आउनु मेरा बुवा आमाको लागि आँशुको खोली आउनु हो । छोराछोरी आउने पर्खाईमा पीडा, सम्झना र यादहरूलाई लिएर हरेक दसैंमा भन्नुहुन्छ– छिटै नेपाल फर्किआऊ ।

अतितलाई सम्झेर भन्न मन लाग्छ, जिन्दगी भनेको बुनिएका झिलिमिली रंगिन सुइटर जस्तै हो । जब सुइटरलाई बुन्दै लाग्यो खुल्दै जान्छ र खुल्दै लग्यो, बन्दै जान्छ । बन्दै जानु खुल्दै जानु र खुल्दै जानु बन्दै जानु पर्यावाची शब्द जस्तै मेरो जीवन यहि विरानो शहरमा वितिरहेको छ । गाउँघरको भन्दा यो सहरमा पैसामा सबै चिज किन्न सकेँ । तर, खुसी र रमाईलो कहिल्यै किन्न सकिन । बुवाआमालाई महंगो समान किनिदिन सके । तर, उहाँहरूको अगाडि बसेर दसैंको आशिर्वाद दिनु भन्न सकिन । बुवाआमालाई खुसी दिने आसामा यहि बिरानो सहरमा बाँचिरहेकी छु ।

सोमबार, ०३ कार्तिक, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर