लीलावल्लभ घिमिरे
म विचित्रको महानगर अनि राजधानीमा बसो बास गर्ने मध्येको एक हुँ । हुनत म यो शहरको न त रैथाने नै परे, न त जमिनदार । यसो फिरन्तेका रुपमा २/४ धुरको झुपडीमा बास बसेका नाताले आफूलाई महानगरवासीको दर्जामा राखेको हुँ ।
बेला–बेला काठमाण्डौं खाल्डोदेखि बडो रिस उठेर आउने गर्छ । मेरो रिसले के नै पो हुने हो । दुई चार अक्षर लेख्यो, छाप्यो र त्यसैमा रमायो । यो राजधानी भन्ने कुरा निकै अनौठो हुँदो रहेछ । अहिले आएर प्रदेशको राजधानी जहाँ मेरो पनि बसोबास छ, त्यसैका बारेमा लेख्न लागिरहेको छु । मेरो यो लेखाइले आफूलाई रेथाने जमिन्दार ठान्नेहरुको चित्त दुख्नसक्छ । तर, यथार्थ जहिले पनि तितो हुन्छ । त्यसलाई नस्वीकार्नु आफ्नो कम्जोरी हो भन्ने बुझ्न सक्नुपर्छ ।
म यो शहरमा आएको धेरै भएको छैन् । जति बेला आएँ, त्यसबेला विराटनगर नगरपालिका मात्र थियो । यहाँको अव्यवस्था अनि विकासको गति हेर्दा लाग्थ्यो, म कुनै कछुवाको वस्तिमा आएको छु । मेरो सोचाई सहि सावित भयो । कछुवाकै गतिमा यहाँको विकास भईरहेको छ । अब बजार क्षेत्रका अधिकांश सडकहरु काला बनेका छन् । उपमहानगर हुँदै सय काटेको यो शहर महानगरपालिका मात्र बनेन्, प्रदेश १ को राजधानीसमेत बन्थ्यो । तर, यहाँको विकास जुन गतिमा भईरहेको छ, महानगरवासीको सोचले कछुवाको गतिलाई पनि समात्न नसकेको जस्तो लाग्छ ।
महानगर अनि प्रदेशको राजधानी आज जता हे¥यो, उतै शुन्दर र सफा देखिनुपर्ने हो । तर, आज यो सहर त्यसतर्फ लागे जस्तो लाग्दैन । बजारका धेरै सडकहरु काला र चिल्ला त भएका छन् । तर सडकमा हिड्ने मान्छेहरु हिजोकै जस्तो धुलोले सेताम्मे हुने गर्छन् । आफ्नो घर अगाडिको सडक सफा गर्न नगरपालिका कहिले आउला भन्ने सोच हामीमा छ । त्यही घरभित्र बस्नेहरु दैनिक करोडौंको ब्यापार गर्छन्, तर सय रुपैयाँ खर्च गरेर आफ्नो घर अगाडि सफा राख्न सक्दैनन् । यहाँ देशकै प्रतिष्ठित उद्योगी, राजनीतिज्ञ र एलिटहरुको बसोबास छ । तर, घर अगाडिका सडकहरुमा कहिल्यै फुल फुल्दैन । घरभित्र लाखौं खर्च गरेर बगौंचा बनाउनेको प्रवेश गर्ने गेट धुलाम्मे छ । त्यसलाई सफा गर्ने पैसा छैन । किनभने महानगरले कर लिएको छ । त्यो सफा गर्ने काम उसैको हो । यहाँसम्मकी घर अगाडिको सडकमा मारिएको कुकुर महानगर नआउँदासम्म उठ्दैन । आएन भने त्यहि सडेर जान्छ ।
हुन त हिजो प्रदेशको अस्थायी राजधानी घोषणा होस् या स्थायी हामीहरुलाई कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तै भएकै हो । आज पनि मेरो विचारमा विराटनगरबासीलाई प्रदेशको राजधानी र महानगर घोषणाले छुन सकेको छैन । यो सहर मेरो हो, म यो सहरको रैथाने आदिवासी हुँ, यसलाई नमुना बनाउनुपर्छ भन्ने सोच अहिलेसम्म आउनुपर्नेहरुमा आएजस्तो लाग्दैन । यदी आएको हुन्थ्यो त आज सडक कालोपत्रे भएपछि त्यसको दाँयाबायाँ फुलले सजाउने हो कि अरु कुनै तरिकाले नमुना बनाउने हो । त्यसतर्फ एउटा टोलले भएपनि काम थाल्थ्यो हो ।
एउटा सानो उदारण, पुरानो डिएसपी कार्यालयको उत्तरमा गोल्छाचोक छ । त्यसबाट पूर्वतर्फ जिल्ला प्रशासन कार्यालयसम्मको दुरी त्यति लामो पनि छैन् । गोल्छा परिवारको कुरै नगरौं, अलि अगाडि बढेपछि देशकै पुरानो औद्यागी व्यवासायीहरुको संस्था मोरङ व्यापार संघको विसाल भवन छ । अघिल्तिर महेश जाजु बस्छन् । नेपालको औद्योगिक धरानामा हातका औंलाभित्र उनको नाम अटाउँछ । त्यसपछि मुन्दडा गुप्रको निवास आउँछ । स्वयम् प्रकाश मुन्दडा त्यही पुरानो संस्थाको अध्यक्ष छन् । त्यति मात्र हैन त्यही छोटो सडकमा मुरारका समुहको निवास छ । मलाई लाग्थ्यो, यो सडक कालोपत्रे बनेपछि नमुना बन्छ । विराटनगर आउनेहरुको यात्रा यो सडकमा नपुग्दा अपुरो रहन्छ । तर, त्यसो हुन सकेन । हुन त यो एउटा उदारण मात्र हो । विराटनगरका धेरै वटा सडक यस्तै हैसियतका उद्योगी व्यापारीहरुको आँगन अगाडि पर्छ । ती सडकहरुको रुप फेरिएको छैन् । सडक कालोपत्रे हुनु मात्र विकास हैन । त्यसपछि त्यसलाई गरिने सिंगारले रुप दिने हो । हेर्नलाई टाढा जानु पर्दैन् । आज धरानका अधिकांश घर अगाडि कुनै न कुनै विरुवा हुर्केको छ भने फुलवारी सडकबाटै देख्न सकिन्छ । धरानवासीले आफ्नो आँगन र सडकलाई उतिकै सफा राख्छन् । ठूलो गेट लगाएर भित्र मात्र सिंहमरमर लगाउदा सभ्य नागरिक बनिन्छ जस्तो लाग्दैन ।
यदि विराटनगरलाई साच्चिकै महानगर र प्रदेशको राजधानी बनाउने हो भने नगरबासीको सोचमा परिवर्तन आउनु जरुरी छ । यदि अब पनि गरिएन भने ढिलो हुनेछ । महानगरले अब हाम्रो महानगर राम्रो महानगर बनाउने महान् अभियानको सुरुवात गर्नुपर्छ । विजुलीका पोलमा २ वटा गमला झुण्डियार महानगरको रुप फेरिन्छ भन्ने भ्रमबाट मुक्त हुनु आवश्यक छ । जसरी एउटी महिला सिंगार गर्दा जति सुन्दर देखिन्छिन् । हाम्रो महानगरलाई पनि अब सिंगारको आवश्यकता छ । त्यसतर्फ महानगर पिताको पनि ध्यान जानु आवश्यक छ । मेयर साव महानगरको जे जति विकास गर्नुभयो । त्यसका लागि धन्यवाद ! अब बस्ने दिनभन्दा जाने दिन कम भईसकेका छन् । त्यसैले जाने बेलामा फुल मेकप गरेकी एउटी सुन्दरी जस्तै यो सहरलाई बनाएर जानुभयो भने सबैलाई सधै तपाईलाई सम्झने छन् । आगे मेयर सावको मर्जी ।
लेख राम्राे भए पनि त्रुटिका कारण अर्थ बुझ् गह्राे छ है । मैले त जसाे तसाे अनुमान लगाएँ । अध्यवाद भनेकाे धन्यवाद हाेला । गरेरी भनेकाे गरेकी हाेला भन्ने अनुमान लगाएँ । यसाे भन्दा लेखककाे मन पाे दुख्ने पाे हाे कि अनि भक्कु गाली पाे खाइने भाे कि । त्यतापट्टि पाे चिन्ता छ त मेराे ।