विक्रम लुईंटेल
धेरैलाई लागेको छ, प्रदेशको काम छैन । हुनपनि हेर्दाखेरी त्यस्तै त्यस्तै देखिन्छ । हरेक कुराहरु शुरुवाती चरणमा देखिने त्यस्तै हो । हरेक मान्छेले ब्यापार व्यवसाय सुरु गर्दाखेरी पनि सुरुवाती चरण पिडादायी नै हुन्छ । जब त्यसको नतिजा छोरा वा नातीको पालामा आइपुग्दा देख्न थालिन्छ । अनि त्यो परिवारलाई गर्व महशुष हुन्छ । अहिले हामीकहाँ प्रदेश सरकार गठन भएको पुग–नपुग ३ वर्ष भएको छ । हाम्रो अपेक्षा बैंकमा चेक साटेर खनखनी पैसा गनेजस्तै होस् भन्ने छ । कर्मचारी विहिन शुन्यताबाट यहाँसम्म आएको प्रदेश संरचनाको यो पाटो तारिफयोग्य छ ।
संस्थागत संरचनाको स्थापना र त्यसले शुरु गरेको कामहरुको नतिजा विस्तारै देखिने हो । हामीकहाँ कुनैपनि कुरामा धैर्य गर्ने क्षमता छैन । हुनत कहिँलेकाँही जीन्दगीमा जनप्रतिनिधि नभईकन प्याट्टै मन्त्री भएकाहरुले ढङ्ग नपु¥याइदिँदा सरकारको आलोचना हुन्छ नै । एक त केन्द्रिकृत मानसिकता छदैछ । त्यसलाई तोड्नको लागि प्रयत्नहरु भइरहेकै देखिन्छ । यसले गर्दा पनि प्रदेश सरकारले अपेक्षाकृत काम गर्न सकिरहेको छैन । यी परिप्रेक्षहरुलाई केहि वर्ष नहेरिकन प्रदेश सरकारको संस्थागत संरचनाको विषय र काम गराईलाई लिएर टिप्पणी गर्नु हतारो पनि हुन्छ ।
यो भयो, प्रदेश सरकारका विषयमा उठेका जिज्ञासाहरु । यी जिज्ञासाका पेरिफेरीमा फेरि एउटा केन्द्रिकृत र फोहोरी खेल प्रदेशतिर सर्दैछ । केन्द्रबाट सर्ने यस्ता खेललाई जोडेर फेरि पनि यो व्यवस्थामाथिको प्रहार हुने खतरा छ । कर्णाली प्रदेशबाट शुरु भएको अहिलेको यो खेल प्रदेश १ मा पनि सर्ने त होइन भन्ने विभिन्न आशंकाहरु पनि छन् । अहिलेको सन्दर्भमा हाम्रो प्रदेशमा यो सर्नुपर्ने अवस्था छदैछैन । तर, राजनीतिमा नहुने केहि हुदैन । एकपटक निर्वाचन हारेपछि त्यसको निश्चित समयावधिभित्र त्यहि व्यक्ति पुनः त्यहि पदमा आउने प्रयत्न पनि लोकतान्त्रिक अभ्यासभित्र पर्दैन ।
अनावश्यक रुपमा यस्ता खालका गतिविधिले प्रदेश संरचनालाई बलियो पनि बनाउदैन । र, अहिलेको हकमा पार्टीभित्रको सबैभन्दा ठूलो पदमा प्रदेश सांसदभित्र रहेका व्यक्तिहरुमा अहिलेका मुख्यमन्त्री शेरधन राई र पार्टी इञ्चार्ज भीम आचार्य मात्र हुन् । यस हिसाबले हेर्दा दुईबीचको प्रतिष्पर्धा एकपटक टुङ्गिसकेको छ । आनिबानी र व्यक्तित्वका हिसाबले दुईबीचको तुलना एक आपसमा फरक छन् । फेरि त्यहि विषयलाई कोट्याएर हल्ला गर्नु प्रदेशको हितको लागि राम्रो छैन नै । स्वयं नेकपाका लागि पनि यो राम्रो विषय हुँदै होइन । रित्तिदै गएको ढिकुटीमा अर्को ब्यक्ति चेन्ज भएरपनि केहि हुनेवाला छैन । कम्तिमा शालिन व्यक्तित्व र यसप्रदेशको पहिचान दिने र आर्थिक विवादमा नमुछिकन प्रदेशलाई अहिलेका मुख्यमन्त्रीले सिमित स्रोतसाधनलाई ध्यानमा राखेर अघि बढाइराखेकै छन् ।
हामीकहाँ एकपटकम मन्त्री र सांसद भइसकेका ब्यक्तिहरुको आर्थिक अवस्था हेर्न हो भने कहालीलाग्दो छ । अहिलेपनि पहाडमा नै घर भएका मुख्यमन्त्री कम्तिमा यी मामिलामा चोखा छन् । हाम्रो प्रदेशको गति कति हुनुपथ्र्यो, त्यो समिक्षा हुदैजाला । हिजो प्रकाशित मध्यावधि प्रगति समिक्षाले भने सकारात्मक संकेत गरेको छ । यद्यपी कमिकमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने र काम गर्न नसक्ने मन्त्रीहरु परिवर्तन गर्नुपर्ने अवस्था हाम्रो प्रदेशमा विद्यमान छ । अहिलेको अवस्थामा स्थिर सरकार जनताले खोजेका छन् । त्यसतर्फ उन्मुख हुनुपर्ने देखिन्छ ।